No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यातायातका हाकिम र मन्त्रीहरूलाई लाज लाग्नुपर्ने विषय

0

नारायण गाउँले ।
मैले गत वर्ष नेपाल आउँदा ड्राइभिङ लाइसेन्स नवीकरण गर्न झन्डै एक दिन लाइन लागेर निवेदन दिएको थिएँ । लाइसेन्स तत्काल नपाइने रहेछ । आफन्तलाई रसीद थमाएर म फर्किएँ । यसपालि रसिद काठमाडौं र म भरतपुर भएँ । बाइक चलाउन पनि पाइएन । एक वर्ष भयो, अब त लाइसेन्स पाइन्छ कि भनेर यातायात कार्यालयमा बुझ्न पठाएँ । केहीबेर लाइन लागेपछि थाहा भयो, लाइसेन्स अझै ‘प्रिन्ट’ भएको रहेनछ । कहिलेसम्म हुन्छ भन्ने जवाफ पनि नपाइने रहेछ । भएपछि मोबाइलमा खबर आउँछ रे । सामान्य वित्तीय संस्थादेखि सुपरमार्केटसम्मले एक दिनमा प्रिन्ट गरेर ‘स्मार्ट कार्ड’हरू बाँड्न सक्छन्, सिङ्गो राज्यलाई एउटा लाइसेन्स प्रिन्ट गर्न असीमित समय लाग्ने रहेछ । सम्बन्धित कर्मचारी र मन्त्रीले सफलताको किस्सा सुनाउँदै फूलमाला लगाएकै होलान् ।

कोभिड़ र लकडाउनका कारण नेपाल आउन र नवीकरण गर्न नपाएकाले लाइसेन्सको म्याद सकिएको दुई वर्षभन्दा बढ़ी भएको थियो । मैले दिन गनेर जरिवाना तिर्नुपर्यो । लाइसेन्सको शुल्क तिर्छु भनेर नपुग्ने रहेछ । पूरै तीन वर्षको पैसा जरिवाना तिर्नुपर्ने ।
रोचक त के छ भने जरिवाना तिरेपछि र लाइसेन्सको पूर्ण शुल्क बुझाएपछि त त्यही मितिदेखि पाँच वर्षको म्याद राखेर लाइसेन्स दिनु नि । त्यो तीन वर्ष कटाएर जम्मा दुई वर्ष बाँकी रहने गरी पाइने रहेछ । र, त्यही दुई वर्षमध्ये पनि एक वर्ष त लाइसेन्स हातमा परेन, अर्कोवर्ष पनि परेन भने फेरि नवीकरण गर्न पर्ने देखियो ।

नेपाल आउने समय तलमाथि भयो भने लाइसेन्स हात नपर्दै जरिवाना मात्रै तिरिरहने स्थिति बन्ने रहेछ । अघिल्लो पल्ट पनि यस्तै भएको थियो । यातायात कार्यालयले चाहिँ जति ढिला गरे पनि, कहिले लाइसेन्स पाइन्छ भनेर मितिसम्म नभने पनि मिल्ने रहेछ । मैले चाहिँ रसिद काठमाडौंमा छुटेको छ, लाइसेन्स बन्दै छ भनेर मोटरबाइक चलाउनु कानुनको गम्भीर उल्लङ्घन हुने रहेछ । प्रायः सबै देशमा लाइसेन्सको नवीकरण मोबाइल एप्सबाटै हुन्छ र त्यसको मान्य अवधि नवीकरण भएको मितिबाट लागू हुन्छ । यसो हुँदा पाँच वर्षको मान्य अवधि हुनुपर्ने हो । नवीकरण नभएको मितिमा लाइसेन्स अमान्य हुने हुनाले त्यसको शुल्क लिनुको के औचित्य होला ? यो मेरो मात्रै अनुभव हो कि तपाईंलाई पनि यस्तै समस्या भएको छ ? म कुनै दलको सदस्य या सोर्सवाला नभएकाले यति ढिलो भएको त पक्कै नहोला । यातायातसँग सम्बन्धित हाकिम र मन्त्रीहरूलाई अलिकति भए पनि लाज र जवाफदेहीताको अनुभूति होला नहोला ?

प्रकाशित: ८ चैत्र २०८०, बिहीबार ०४:२०

Leave a Reply