No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीज्यू, तपाईंका निकायबीच समन्वय नभएर देशलाई आर्थिक हानि हुन्छ भने त्यसको जिम्मेवारी तपाईंको पर्दैन र ?

0

डा. गोविन्दशरण उपाध्याय ।

सम्माननीय प्रधानमन्त्रीज्यू,
मैले लेखेको पत्र तपाईंसँग पुग्छ र तपाईंले पढ्नु हुन्छ भन्ने विश्वास छैन तर पनि पत्र लेख्दैछु । यो लेख्नुको मुख्य कारणचाहिं आज विहान क्याम्पस जाँदै गर्दा देखेको घटना हो । गोल्फुटारबाट पिपल बोट हुँदै चक्रपथ निस्कने बाटो (मंडीखाटारबाट पिपलबोट जाने ओह्रालो र एकालोबाटो) जून केवल २ महिना अगाडीमात्र एसीसी भएको थियो, त्यो बाट आजभोलि क्रेन हालेर निर्ममतापूर्वक खनिंदै छ । त्यो खन्ने निकाय पनि तपाईंको माताहतमा रहेको कुनै सरकारी कार्यालय अन्तर्गत पर्छ ।
केवल तीन महिना अगाडी बनाएको बाटो आज अर्को सरकारी निकायलाई खन्न दिनुको सट्टा किन तीन महिना भन्दा अगाडी खनेर गर्नु पर्ने काम गरिएन ? एउटा सरकारी निकायले निर्माण गर्ने, दोश्रो सरकारी निकायले भत्काउने नियति जनताले कहिलेसम्म भोग्नु पर्ने हो ?

यो मैले आफैं भोगिरहेको एउटा सानो घटनामात्र हो । देशमा हजारौं लाखौँ यस्ता घटनाहरू छन् जुन तपाईंकै अन्तर्गत रहेका मन्त्रालय, निकाय तथा कार्यालयहरू विच समन्वय नहुँदा ‘बन्ने र भत्कने’ गर्छन् । ती निकायहरूलाई समन्वय गरेरमात्र काम गर्न निर्देशन दिन वा समन्वय गरेर काम गर्ने अनिवार्य कानुन तर्जुमा गर्न तपाईंहरूलाई कस्ले रोकेको हुन्छ ? तपाईंको प्रत्यक्ष कार्यक्षेत्र भित्र रहेका मन्त्रालय, संस्थाहरू तथा व्यक्तिहरूमा समन्वयको अभाव हुँदा देश र जनताले एकातिर ऋणको डरलाग्दो भारी बोक्न परिरहेको छ भने अर्कोतिर सर्वसाधारण जनताले हैरानी बेहोर्नु परिरेरहेको छ । तपाईंकै कार्यक्षेत्रभित्र रहेका कार्यालयहरूका विचमा समन्वय नभएर जनताले ऋण बोक्नु पर्ने हैरानी खेप्नु पर्ने कुराको उत्तरदायित्व तपाईंले लिनु पर्छ कि पर्दैन ? वा कसले लिनु पर्ने हो ?

म एउटा सर्वसाधारण जनता हो । मैले राज्यलाई कर तिरीरहेको छु । तपाईं चड्ने मोटर होस् वा तपाईंले हाक्ने कार्यालयहरू, सबैले मजस्ता सर्वसाधारणले तिरेको राजश्वबाट चलिरहेका छन् । सरकारका निकायहरू विच समन्वय स्थापित गर्ने, ती निकायहरूलाई क्रियाशील र उत्तरदायी बनाउने र समन्वय नगरेर “बनाउने र विगार्ने“ निकायहरूलाई दण्डित गर्न कसले रोकेको छ ?

तपाईं नेपालको प्रधानमन्त्री मन्त्री हुनुहुन्छ । संविधानले तपाईंलाई जनताप्रति उत्तरदायी बनाएको छ । यदि तपाईंको अन्तर्गतका निकायहरू बीच समन्वय नभएर देशलाई आर्थिक हानि नोक्सानी हुन्छ भने त्यसको जिम्मेवारी तपाईंको पर्छ । प्रधानमन्त्रीलाई ‘मैले सकिन’ भन्ने छूट छैन । नसक्नेले बाटो खाली गर्नुपर्छ । मैले एउटा नागरिकका रूपमा उठाएका ‘सरकारी निकाय बीच समन्वय र प्रधानमन्त्रीको जवाफदेहिता’ कहिले स्थापित हुन्छ ? मैले प्रधानमन्त्रीलाई पत्र लेखेको हो । त्यो पदमा आज प्रचण्डजी हुनुहुन्छ र भोलि अर्को व्यक्ति होला तर जवाफदेहिताबाट मुक्त कुनै पनि प्रधानमन्त्रीको औचित्य छैन ।

सरकारी निकायहरू विच समन्वय नभएर जनताले दुःख पाउनुपर्ने कुनै कारण छैन । उदाहरणका लागि यातायात कार्यालय तपाईंकै एउटा निकाय हो । उसले चारवर्षसम्म लाइसेन्स दिन सक्दैन तर जरिवाना भने ठटाएर लिन्छ । कर कार्यालय होस् वा मालपोत घूस नभई काम हुँदैन । शिक्षा, स्वास्थ्य, निर्माण, उद्योग सबैतिर एस्तै वेथिति छ । तपाईंले भने “हामी गर्दै छौं“ मात्र भन्नु हुन्छ । तपाईं अन्तर्गतको एउटा निकायले अर्को निकायको कुरा मान्दैन भने मान्ने बनाउनु तपाईंहरूको काम हो, जनताको होइन ।

कि समन्वयको अभाव सृजना गर्ने र त्यसलाई जीवन्त राखेर “राजनीतिज्ञहरूलाई “रोजगार“ दिने अघोषित नीति त होइन ? वा सरकारका विभिन्न निकायहरूलाई समन्वय गर्न नदिन सबै राजनैतिक दलहरू विच “समन्वय“ त भएको होइन ? प्रश्न धेरै छन् । समन्वय र जवाफ देहिता केवल जनताका लागि मात्र हो कि तपाईं प्रधानमन्त्रीहरू अन्तर्गत निकायहरूका लागि पनि हो ? जानकारी पाउने कुनै आशा छैन तर पनि…..

 

प्रकाशित: १० चैत्र २०८०, शनिबार ०६:४७

Leave a Reply