No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के इतिहासको गति रोकिन्छ त ?

0

डा. बाबुराम भट्टराई ।
नयाँ पुस्तालाई थाहा नहुन सक्छ । तर मलाई झलझली सम्झना छ– देशको अहिलेको राजनीतिक अवस्था करिब करिब २०३३/०३४ सालको निरंकुश पञ्चायती कालरात्री जस्तो छ । मण्डलेतन्त्रको बिगबिगी थियो । जनतामा चरम निराशा थियो प्रतिबन्धित पार्टीहरू टुटफुटबाट गुज्रिरहेका थिए । बिपी भित्रबाहिर सबैतिरबाट चेपिएर बरू राजासँग मिलेर बस्छु भन्दा पनि नसहेर जेलमा कोचिएका थिए । पुष्पलाल आफ्नै साथीहरूबाट “गद्दार” घोषित भएर एक्लिएका थिए । दिनदिनै रेडियोबाट समाचार आउँथ्यो– आज प्रनेका ( प्रतिबन्धित नेपाली कांग्रेस) का महामन्त्री पञ्चायत प्रवेश गरे । भोलि प्रनेकपा (प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी) का पोलिटब्युरो सदस्य पञ्चायत प्रवेश गरे । आदि इत्यादि । मान्छे जिब्रो टोकेर कानेखुशी गर्थे– राजाको निरंकुश ‘पञ्चायती प्रजातन्त्र’ सयवर्ष टिक्नेभयो ।

अर्कोवर्ष विद्यार्थी आन्दोलनको लहर जनआन्दोलनमा बदलियो, राजा जनमतसंग्रह गराउन बाध्य भए । राजनीति अलि खुकुलो भयो पार्टी छोडेर पञ्चायतमा आत्मसमर्पण गर्नेहरू फटाफट पार्टीमा फर्कन थाले । फेरि पनि जनमत संग्रहमा बहुदललाई धाँधली गरेर हराइयो । पुष्पलाल केही अगाडि २०३५ सालमा एक्लिएकै अवस्थामा “गद्दार” कै पगरी भिरेर संसारबाट बिदा भए । बिपीले केही वर्षपछि २०३९ सालमा हतास र निराश अवस्थामा इहलोक परित्याग गरे ।
दशवर्षभित्र अर्को जनआन्दोलन उठ्यो । बहुदल पुनर्स्थापना भयो । कांग्रेस र कम्युनिष्ट (मुख्यतः एमाले) सत्तामा आए । कांग्रेसका भित्तामा बिपी र कम्युनिष्टका भित्तामा पुष्पलाल सजिए ।

परिवर्तन अपूरो भयो भनेर हाम्रो नयाँ पुस्ताले अर्को सशस्त्र विद्रोह गर्यो । दशवर्षको सशस्त्र संघर्ष र त्यसको पूरक जनआन्दोलन/मधेसविद्रोह लगायतका संघर्षको बलमा देशमा संघीय लोकतान्त्रिक गणतन्त्र आयो । तर इतिहासको नियमै अनुसार हिजोका अधिकांश क्रान्तिकारीहरू नयाँ सत्ताको चास्नीमा क्रमशः डुब्दै गए । देशको आर्थिक/सामाजिक रूपान्तरणको काम अधूरै रह्यो । युवाहरूमा चरम निराशा छाएर विदेश पलायन भैरहेछन् । बाबुरामहरू जस्ता केही ‘मूर्ख’ हरू नयाँ ढंगले राजनीतिको अग्रगामी पुनर्संरचना गरौं र नयाँ आर्थिक क्रान्ति गरौं भनेर हारगुहार गरिरहेछन् । तर त्यो अरण्यरोदन बनिरहेछ । के इतिहासको गति रोकिन्छ त ? भनिन्छ– History repeats, because men repeat their mistakes  ! गल्ती सच्याउँ, इतिहास दोहोरिन नदिऊँ ।

प्रकाशित: १९ चैत्र २०८०, सोमबार ०२:४९

Leave a Reply