No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आइडब्लुएफ विश्व कपमा भारोत्तोलन खेलाडी सागरद्वारा कीर्तिमानमा सुधार

0

महेन्द्रनगर (कञ्चनपुर) ।थाइल्याण्डको फुकेटमा जारी अन्तर्राष्ट्रिय भारोत्तोलन महासङ्घ (आइडब्लुएफ) विश्व कप भारोत्तोलन प्रतियोगितामा नेपालका खेलाडी सागर भण्डारीले आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

उक्त प्रतियोगिताअन्तर्गत बिहीबार भएको प्रतिस्पर्धाका क्रममा कञ्चनपुरको महेन्द्रनगरका भण्डारीले प्लस् १०९ किलोग्राम तौल समूहमा स्नाचमा १३४, क्लिन एण्ड जर्कमा १७२ किलोग्राम र कूलतर्फ ३०६ किलोग्राम भार उचाल्दै आफ्नो राष्ट्रिय कीर्तिमानमा सुधार गरेको थाइल्याण्डमा रहेका भारोत्तोलनका प्रशिक्षक जीवन गौतमले जानकारी दिए ।

यसअघि चीनमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा भण्डारीले स्नाचमा १३३ किलो भार उचाल्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए ।

यसअघि उज्वेकिस्तानमा भएको एसियाली च्याम्पियनसिप, २०२४ मा भण्डारीले क्लिन एण्ड जर्कमा १७१ किलो भार उचालेका थिए । सोही प्रतियोगितामा उनले कूलतर्फ ३०३ किलो भार उचालेका थिए । यसअघि पनि क्लिन एण्ड जर्क र कूलतर्फ पनि भण्डारीकै नाममा राष्ट्रिय कीर्तिमान रहेको थियो । ती दुवैमा पनि भण्डारीले राष्ट्रिय कीर्तिमानमा सुधार गरेका छन् ।

“विसं २०३६ मा भारोत्तोलन सङ्घ बनेयता भण्डारी ३०६ किलोग्राम भार उचाल्ने पहिलो खेलाडी बनेका छन्”, प्रशिक्षक गौतमले भने–“भारोत्तोलन सङ्घले ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको रुपमा भण्डारीलाई अघि बढाएको छ ।” भारोत्तोलनमा वाइल्ड कार्ड पाएर ओलम्पिक खेल्न सक्ने सम्भावित खेलाडीको सूचीमा उनलाई राखेर नेपाल ओलम्पिक कमिटीले प्रशिक्षण तथा अन्य आवश्यक व्यवस्थान गरिरहेको प्रशिक्षक गौतमले जानकारी दिए ।

ओलम्पिक कमिटीले एक वर्षदेखि भण्डारीको प्रशिक्षकका रुपमा गौतमलाई खटाएको छ । महेन्द्रनगरबाट भारोत्तोलन खेल्न सुरुआत गरेका उनी हाल नेपाल पुलिस क्लबमा आवद्ध छन् । छोटो समयमा भण्डारी धेरै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भइसकेका छन् । सुदूरपश्चिमबाट कैलालीको धनगढीका भरत साउद सन् १९८८ मा दक्षिण कोरियामा आयोजना गरिएको ओलम्पिक प्रतियोगितामा पहिलो पटक भारोत्तोलन खेलमा सहभागी भएका थिए ।

प्रकाशित: २९ चैत्र २०८०, बिहीबार १६:१३

Leave a Reply