No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कसैले यस्तो सोचेको होला कि नहोला ?

0

नारायण गाउँले ।
देशैभरि हरियो जङ्गल छ, राम्रो गुणस्तरको मानिने साल र सिसौका रूखहरू छन् । तर आम जनताका लागि काठ सुनभन्दा महँगो छ । बरु मलेशिया या ब्राजिलबाट महँगो ढुवानी गरेर ल्याइएको काठ सस्तो होला, देशको काठ महँगो छ । फलतः कुनै बेला सिङ्गो संरचना नै काठको हुने हाम्रा घरहरूमा स्थानीय काठको अंश शून्यजस्तो बन्दै छ ।
उच्च पहाड़ी क्षेत्रमा एक दिन पैदल हिँड्नुहोस्, हामीसँग सिङ्गो देश छाउन पुग्ने ढुङ्गाखानी छ । न्यूनतम प्रशोधन र खर्च गरे पुग्ने चिल्ला स्लेटहरूको भण्डार छ । तर हाम्रा छानाहरू लाखौंको छड़ र सिमेन्टका भारीले थिचिएका छन् । त्यसमाथि नीला र राता जस्तापाताको साम्राज्य छ ।

दिनदिनै शहरमात्रै होइन, गाउँभरि सिमेन्टका अग्ला–अग्ला भवनहरू ठडिएका छन् । ३ आना, ४ आना या दश धुरमा बनेका ती घरहरूबीच न खाली ठाउँ छ, न हरियाली छ ।आवासीय प्रयोजनका घरबारे वैज्ञानिक राष्ट्रिय नीति पनि छैन । एक तले होस् या पाँच तले, उत्ति नै पिलर, उत्ति नै छड़ र उत्ति नै हात्तीपाइले फाउन्डेशन चाहिने रहेछ । एउटा घर बनाउन पुग्ने पैसा र साधन माटोमुनि गाडि़एको छ । हाल बनेका घरहरू भत्काउनु पर्दा पुनः प्रयोग हुन सक्ने वस्तुहरू नगण्य छन् । यो साधनस्रोत खर्बौं खर्ब रुपियाँको छ । अझ दुःखद त हिमालीदेखि तराईसम्मका शहरमा यति थोरै जग्गामा यति अग्ला र भद्दा संरचना बनेका छन् कि कतिपय ठाउँमा दुई–तीन तलासम्म त स्वस्थ हावा र सूर्यको प्रकाश पनि पुग्दैन ।

हाम्रो जस्तो चर्को घाम र पानी पर्ने क्षेत्रमा सिमेन्टको आयु सरदर ५० वर्ष जति मानिन्छ । २० वर्ष पुरानो घर अहिलेको पुस्तालाई नै अनुपयोगी देखिन्छ भने पचास वर्षपछि अहिलेका संरचना कसरी हटाउने होला ? यत्रो भयङ्कर कंक्रिटको जङ्गल कहाँ लगेर फाल्ने होला ? त्यो भीमकाय हात्तीपाइले फाउन्डेशनको के होला ? निर्माणको यही क्रम चल्ने हो भने अबको पचास वर्षपछि हामीले फेस गर्ने वातावरणीय सङ्कट कति गहिरो होला ?

युरोपमा प्रायः रेसिडेन्सियल घरहरू एक तले हुन्छन् । भुइँ तलामाथि एउटा तला । तिनको संरचना काठ र न्यूनतम फलाम प्रयोगबाट बन्छ । भित्ता इँटा र छानोचाहिँ ढुङ्गा, माटो र सिमेन्टका झिंगटी या टाइलको हुन्छ । भूकम्पको जोखिम कम हुने भएकाले तिनको फाउन्डेशन पनि ठूलो हुँदैन । प्रायः घरको अगाडि र पछाडि घरले ओगटेको भन्दा बढ़ी जग्गा हुन्छ । त्यो जग्गा बार्ने पर्खाल काठको हुन्छ । घर सय वर्ष बढ़ी टिक्छन् । भत्काएको दिन धेरै जसो सामग्री पुनर्प्रयोग गर्न मिल्छ । सार्वजनिक पार्क या उद्यानका बार र पर्खाल त काठकै हुन्छन् ।

युरोपमा घर हेरेर तपाईंले घरमूलीको वर्ग छुट्याउन असहज हुन्छ । आम्दानीको तुलनामा त नेपालभन्दा कैयौं गुना सस्ता छन् घरहरू, फेसमूल्यमैं पनि हामीले युरोपलाई उछिन्न लागिसक्यौं । अब जीवनभरको कमाइ जोड्दा पनि एउटा घर नउभिने अवस्थातिर छौं हामी ।सदुपयोगको व्यावहारिक नीति हुने हो भने हामीलाई घर बनाउन चाहिने धुरीदेखि दलिन र झ्याल–ढोकाको काठ पनि सहजै उपलब्ध हुनसक्छ । सिमेन्टमा लगभग देश आत्मनिर्भर छ । ढुङ्गाखानी देशमै छ ।
स्थानीय पद्धति, परम्परालाई प्रविधिसँग मिश्रण गरेर घर निर्माणको एउटा वैज्ञानिक, व्यावहारिक र सुपथ ढाँचा तैयार गर्ने र कार्यान्वयन गर्ने सोच कुनै नेतामा होला कि नहोला ? बनी सकेका घरलाई केही गर्न नसकिएला तर अब बन्ने घरमा अनिवार्य गार्डेन, पार्किङ र खुला स्पेस हुनुपर्ने नीति तय गर्न सकिँदो हो । मलिला खेतलाई प्लटिंग हुन बाट रोक्ने या फुटपाथ पुग्ने गरी २० फिटको बाटो अनिवार्य गर्ने पनि गर्न साकिएला ।

अष्ट्रेलियामा तपाईं कार चलाउँदै हुनुहुन्छ, र पाँच जना अटाउने कारमा तपाईं एक्लै ड्राइभ गर्दै हुनुहुन्छ भने तपाईंले बाटोका छिटो चल्ने लेन प्रयोग गर्न पाउनुहुन्न । तर तपाईंको कारमा दुई या बढ़ी व्यक्ति छन् भने तपाईंलाई फास्ट लेन प्रयोग गर्न दिइन्छ । हामीले हाम्रो हाउजिङ् मा यो उदाहरण प्रयोग गर्न सक्छौँ कि ? यति सानो देश छ । यति धेरै सांसद, मन्त्री, सलाहकार, पिए, कर्मचारी र हाकिमहरू छन् । तर ’राष्ट्रिय पोलिसी’ निर्माणमा भन्दा सत्तासुख र कमिशन कसले कोसँग मिलेर खाने भन्नेमैं हाम्रो हार र जितको खेल सीमित छ । जीवनको सम्पूर्ण कमाइ र मिहिनेत घर नामको एउटा भद्दा संरचनामा अझ छिमेकसँग प्रतिस्पर्धा गर्दै माटोमुनि खन्याउने क्रम रोक्न सकिन्छ कि ? अवश्यम्भावी वातावरणीय सङ्कटलाई अहिल्यै सम्बोधन गर्न सकिन्छ कि ? के कसैले यस बारे सोच्दै होला ? के तपाईंले कहिल्यै यसरी सोच्नुभएको छ ? कि यो मैले चिन्ता गरेजस्तो समस्या नै होइन ? आफ्नो राय लेख्नु ल !

प्रकाशित: १ बैशाख २०८१, शनिबार ०३:३१

Leave a Reply