No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हाम्रो जस्तो चार जनाले समाएर सिँढी ओराल्न पर्ने हुँदासमेत कुर्सीमा बस्ने बुद्धि र मति तिनमा छैन

0

नारायण गाउँले ।
विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि आज चुनाव हुँदैछ । तर कतै पनि पर्चापम्प्लेट, तूल–ब्यानर, आमसभा, चक्काजाम या बन्द नभएकाले कतिलाई त आज चुनाव हो भन्ने हेक्का पनि छैन । हिजो र आजको दैनिकीमा कत्ति फरक छैन । पाकिस्तानी मूलका वर्तमान मेयर सादिक खानले नै तेस्रो कार्यकाल समेत जित्ने अनुमान गरिएको छ । उनी सांसद पदबाट राजीनामा दिएर २०१६ मा लेबर पार्टीका तर्फबाट मेयरमा लडेका थिए । उनी लण्डनको इतिहासमा पहिलो मुश्लिम मेयर हुन् । यतिबेला बेलायतका प्रधानमन्त्री हिन्दु र राजा क्रिश्चियन छन् । यहाँ स्थानीय या आमचुनाबमा भोट हाल्न बेलायती नागरिक नै हुनुपर्छ भन्ने छैन । युरोपियन युनियनका प्रायः सबै नागरिकले यहाँ बसोबास गरेको भए भोट हाल्न पाउँछन् । विद्यार्थी या कुनै भिसामा भएका भारत, पाकिस्तान, बङ्गलादेश, फिजी, जिम्बाबे लगायतका सबै कमनवेल्थ देशका नागरिकले समेत मत हाल्न पाउँछन् । कमनवेल्थमा झन्डै दुई अर्ब पचास करोड़ जनसङ्ख्या रहेछ । ती सबैसँग कुनै न कुनै रूपमा बेलायतमा मत हाल्ने अधिकार रहेको मानिन्छ । मत हाल्नुअघि निर्वाचन आयोगमा रजिस्ट्रेशन भने गर्नुपर्छ । प्रायः निर्वाचनको दुई–तीन हप्ता अघि रजिस्ट्रेशन बन्द हुन्छ । कमनवेल्थमा नपर्ने हुनाले नेपालीहरूले चाहिँ स्थायी बसोबास अनुमति भए पनि नागरिकता नलिउन्जेल मत दिन सक्दैनन् ।

राष्ट्रियता, जातीयता, धर्म जस्तो विषय राजनीतिमा नघुस्ने भएकाले भोट हाल्ने पनि नानाथरी हुन्छन् र उठ्ने पनि नानाथरी हुन्छन् । यहाँको समावेशिता र लचकता रोचक छ । बेलायतभित्र स्कटल्याण्ड र वेल्सका स्थानीय चुनावमा १६ वर्षमैं भोट दिने अधिकार हुन्छ भने इङ्गल्याण्ड र नर्दन आयरल्याण्डमा यस्तो अधिकारका लागि १८ वर्ष पुग्नुपर्छ । एउटै देशभित्र पनि स्थानीय नियम कानुन फरक छन् ।

अनलाइन भोटिङ्को सुविधा छैन । तर तपाईंले नभ्याउने भए अरू कसैलाई भोट हाल्न नोमिनेट गर्न सक्नुहुन्छ । घरमैं मतपत्र मगाएर हुलाकबाट पठाउन सक्नुहुन्छ या बुथमा गएर मत खसाल्न पनि सक्नुहुन्छ । बिहानैदेखि बेलुका १० बजेसम्म मत खसाल्न पाइने हुनाले काममा जाँदा जाँदै या काम सकेर भोट हाल्ने धेरै हुन्छन् । मेयर पदलाई लण्डनको ’टप जब’ भनिन्छ । यो जागिर हो । अतिरिक्त सुविधा या शक्ति नहुने र निकै खट्नपर्ने हुनाले शायद धेरैलाई राजनीतिमा रुचि हुँदैन । वरपर झिंगा झैँ झुम्मिने गण या कण पनि हुँदैनन् । साउथ एशियन सिनेमाको नेताजस्तो भव्य लाइफस्टाइल पनि हुँदैन । कुनै कार्यक्रममा पुग्दा ती आफै गाड़ी चलाएर एक्लै पुगेका देखिन्छन् । सार्वजनिक जीवन जिउन पर्ने हुनाले निजी जीवनमा सम्झौता गर्न धेरै तैयार हुँदैनन् । नत्र लेबर पार्टी भित्रै पनि अब मेरो पालो भन्ने हुन्थ्यो होला । आफ्नो कार्यकक्षमा तीन जना आफन्त या मित्र भेट्न आउँदा टेबलको बेल थिचेर कसैलाई ए भाइ, चार वटा चिया र नास्ता ल्याउनुस् त भन्न नपाइने भएपछि हाम्रो लागि मेयर नै भएर पो के र ?

कसैले न उठ् नभन्दै अब सांसदमा उठ्दिन भनेर घोषणा गर्ने त कति हुन्छन् कति ! अहिले नै पनि पूर्वप्रधानमन्त्री टेरेसा मेलगायत सय जना वर्तमान सांसदले त केही महिनामा हुने चुनावमा न उठ्ने घोषणा गरिसकेका छन् । हाम्रो जस्तो चार जनाले समाएर सिँढी ओराल्न पर्ने हुँदासमेत कुर्सीमा बस्ने बुद्धि र मति तिनमा छैन ।

टोकियो, न्युयोर्क र लस एंजेल्स“पछि चौथो धनी शहर रहेछ लण्डन । यसलाई युरोपकै आर्थिक राजधानी शहर पनि भनिन्छ । यहाँको हीथ्रो विमानस्थल युरोपकै पहिलो र विश्वको चौथो व्यस्त हो । रेल नै यही देशमा बनेको हुनाले सबैभन्दा पुरानो मेट्रो रेल यहीँ छ भन्न परेन । कुनै बेला आधा विश्वको राजनीति यही शहरले चलाउँथ्यो । आज पनि अस्ट्रेलियादेखि क्यानडासम्मका राजाको कार्यालय यहीँ छ । हामीले स्वीकार गरेको प्रजातन्त्रको एउटा मोडल वेस्टमिंस्टर मोडल भनेर चिनिन्छ । बेलायती पार्लियामेन्ट लण्डनको वेस्टमिंस्टर भन्ने ठाउँमा भएकाले प्रणालीको नाम नै त्यसबाट रहेको हो । शिक्षादेखि स्वास्थ्य र विज्ञानप्रविधिसम्म लण्डनले विश्व र मानवजातिलाई धेरै कुरा दिएको छ ।

विश्वका हरेक देशको नागरिक यहाँ भेटिन्छ । यहीँ बसेर पढेका धेरै व्यक्तिहरू विश्वका धेरै देशमा शासक छन् भने पूर्वशासकहरू यहाँ चोकचोकमैं भेटिन्छन् । झन्डै डेढ़ लाख नेपाली यो शहरमा बस्छन् भन्ने अनुमान छ । जङ्गबहादुर लण्डन भ्रमण गर्ने पहिलो नेपाली शासक हुन् भने सन् १९६० मा ठूलो राजकीय सम्मानसहित यो शहरमा हाम्रा राजा महेन्द्र पनि आएका रहेछन् ।

 

प्रकाशित: २० बैशाख २०८१, बिहीबार ०४:५८

Leave a Reply