No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यदि बिरालोले मुसासँग दोस्ती गर्यो भने खान्छन् के त ?

0

जेपी गुप्ता ।
मोरङको कटहरी–७ को हुरहुरीया बस्तीमा गोलभेंडाको यो बेहाल एक सानो उदाहरण मात्र हो । हिजो बिहान खिचिएको यस भिडियोमा देखिएको राताम्य गोलभेंडा अब लहरामा १ दिन पनि टिक्ने छैन । झरेर कुहिरहेको छ । लटरम्म फलेको एक बोटमा सरदर ४/५ केजी फलेको होला । पालो पहरा दिने एक भाइलाई मैले सोध्दा, खरिददार नै छैन । कुनै पनि मोलमा किन्ने कोही छैन भन्छन् । साहु किसान बालीलाई खेतमैं छाडेर हिँडेका छन् । यस्तो कथा तथा घटनाका समाचारहरू प्रायसः पढ्न पाइन्छ । कहिले दुधको, तरकारीको, अरू अरू बस्तुहरूको बेहालका कथाहरू ।

यस्ता बेहालका कथाहरू पोष्ट हुँदा किसानले अपनाउनु पर्ने वैकल्पिक उपायहरू नअपनाएको, सरकारले केही नगरेको भनी आलोचना आदि गरिएको पढ्न पाइन्छ। त पनि त राजनीतिमा थिइस्, के गरिस्–यस्ता अनेकन् कुराहरू लेखिन्छन् ।
म विगत १०÷१२ वर्षदेखि यतै छु । धेरै कुराहरू हेरिरहेको छु । यस पोष्टमा राखिएको भिडिओ भएको स्थानबाट पुग नपुग एक किलोमिटरको दुरीमा २० मेट्रिकटनको कोल्डरूम छ । यसमा तरिकाले कृषि वस्तु राख्दा हाटबजारको अवस्था अनुसार राख्न सकिन्छ । तर, जति नै प्रचार प्रसार गरेपनि किसानहरू राख्न आएनन् । कोल्डरूमले जति नै कम शुल्क राखेपनि चर्को विद्युत महशुलको कारणले किसान मर्कामा परेको हुन्छ । यसमा कुनै तहको सरकारबाट कुनै अनुदान छैन । वस्तुको उत्पादन विधिमा अत्यधिक रसायन/विषादीको प्रयोगले कोल्डरूममा राख्न पनि खतरा छ । कुहिएर गएमा ठूलो क्षति ब्यहोर्नु पर्ने हुन्छ। यसको साथै, किसानमा जानकारीको अभाव, सुरक्षित विधिमा राख्ने तयारी गर्न नसक्नु, बजारको खोजी गर्न नसक्नु, उच्च मूल्य पाउन प्रशोधन गर्न नसक्नु, कृषि उपजको लागतमा अत्यधिक बढी रकम लाग्नु–यस्तो कयौं समस्याहरू छन्। यसको लागि कसले, कसको आलोचना गर्नु वा कसलाई जिम्मेवार भन्नु ?

मोरङको यही गाउँपालिकामा अघिल्लो सरकारले १० मेट्रिकटन क्षमताको कोल्ड स्टोरेज स्वीकृत गरेर अचानक रद्द गर्यो । तत्कालीन कृषिमन्त्री घनश्याम भुषालले पूर्ववर्ती मन्त्री बलदेव शर्माको निर्णयमा चालबाजी देखेर देशभरकै १० वटै अनुदानको निर्णयलाई खारेज गरेका थिए । ठिक बेठिक मलाई थाहा भएन । मोरङकै रंगेलीमा निकै अघि भारत सरकारको सहयोगमा बनेको ठूलो कोल्ड स्टोरेज बन्द छ । यो उपभोक्ता समितिको अधिनमा छ, चलेको छैन । एकाध पुरानो शितभण्डार विराटनगरमा छ । शायद, बन्द पनि होला। निकटवर्ती जिल्ला सुनसरीको इनरूवामा रहेको कोल्ड स्टोरेज बन्द भयो । सुन्नमा आएको थियो त्यसको भवनभित्र च्युरा÷भुजा उत्पादनको मिल जडान भएको थियो, शायद च्याउ खेती पनि त्यही भित्रै गर्न थालिएको थियो । विराटनगरको सीमावर्ती जोगवनी नजिकै ठूलो क्षमताको कोल्ड स्टोरेज खडा छ । यसको ३० किलोमिटर पूर्व सप्तरी र सुनसरीको जोड भन्दा ४÷५ किलोमिटर भित्र भारतको भीमनगरमा त्यस्तै अजंगको शितभण्डार छ।

भारतमा शितभण्डार ऋणमा, विद्युत महशुलमा ठूलो छुट अनुदान छ । नेपालमा सरकारबाट ऋणमा, विद्युत महशुलमा कुनै छुट वा अनुदान छैन । स्वभावतः पारीपट्टी वस्तु राख्नु सस्तो हुन जान्छ । नेपालको र सीमावर्ती भारत तिरको शितभण्डारबाट एकै समयमा वस्तु निस्किँदा भारतबाट नेपाल छिर्ने वस्तु सस्तो हुन्छ। कुनै पनि हालतमा नेपाली कृषकले उचित पैसा पाउँदैन । भारतबाट किन आउन दिने त ? आयातमा पुरै रोक लगाउनु पर्छ । बडो सहज किसिमबाट यस्तो सुझाव जल्ले पनि दिन्छ । यसको मेरो सानो जवाफ छ। देंग स्याओ पेंगले भनेका छन् नि, ‘यदि बिरालोले मुसासँग दोस्ती गर्यो भने खान्छन् के त?’ हरेक वर्षको बजेट भाषणमा यस्ता कृषिजन्य वस्तुहरू भारतबाट आउन नदिने, भंसार न काटने भनिए कै हुन्छ । तर, बिरालोले मुसासँग दोस्ती छोड्दैन । निरन्तर, निर्वाध आइरहेकै हुन्छ । हामीले यस तथ्यलाई बिर्सन हुन्न कि छोरी वा बहिनी दिनुपर्यो भने शिक्षक वा अहेब भन्दा पहिलो प्राथमिकता राजस्व तिरका खरदारको बढी हुन्छ। कुन खालेको, कसको भनेर अब न सोध्नु होला नि !

ल त अब यो गन्थनलाई सकौं ! एउटा प्रदेशमा विश्वासको मत लिइने कुरा छ। कोशी तिर मुख्यमन्त्री र सभामुखमा संवैधानिक विवादको रडाको छ। दुईटा उपचुनावमा एमाले विजयी भएकोले उत्सवमा छन् । ओली सर र बालेन साहका बीच कविता युद्ध जारी छ । फेरि सिधा कुरा डट कमको विषय, माधव नेपाललाई प्रधानमन्त्री नभई नहुने विषय, अब त मुलुककै असफलताको पटाका निर्वाचन पद्दतिको टाउकोमा पड्काउने जस्ता रोचक कुराहरू तिर मोडिनु पर्छ । ति हाम्रा लागि रोचक हुन्छन् । म पो फुर्सदिलो छु। अरू देश पुरै ब्यस्त छ !

 

प्रकाशित: २२ बैशाख २०८१, शनिबार ०५:०७

Leave a Reply