No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सभामुखले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

0

काठमाडौं । बजेट अधिवेशनबारे सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरूसँग आज छलफल गर्दैछन् । संसद्को बजेट अधिवेशन २८ वैशाखदेखि सुरु हुँदैछ । सभामुख घिमिरेले आज बिहान ११ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा दलका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै संसद्मा गृहमन्त्री रवि लामिछानेलाई अवरोध गर्दै आएको छ । त्यसको निरन्तरता रहे बजेट ल्याउनसम्म पनि समस्या पर्ने भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र सभामुख घिमिरले संसद्मा अवरोध हटाउन प्रयास गर्दै आएका छन् ।

उनको सचिवालयका अनुसार सभामुख घिमिरेले प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका सभापति एवम् गृहमन्त्री रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई छलफलका लागि बोलाएका छन् ।

सभामुख घिमिरेले यसअघि पनि संसद् खुलाउने विषयमा पटक पटक प्रयास गर्दै आएका छन् । तर त्यसबारे सहमति जुट्न सकेको छैन । कांग्रेसले संसदीय छानविन समिति गठनलाई बटमलाइन बनाएर अघि बढेको छ ।

प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०२:५१

Leave a Reply