No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गरिब मुलुकका करोडपति मन्त्री

0

काठमाडौं । सरकारले मन्त्रिपरिषदका सदस्यहरुको सम्पत्ति सार्वजनिक गरेको छ । केही दिनअघि मन्त्रिपरिषदको बैठकले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णयअनुसार मंगलबार सम्पत्ति विवरण सार्वजनिक गरिएको हो । मुलुक गरिव भएपनि सम्पत्ति विवरण हेर्दा मन्त्रीहरु भने धनी देखिएका छन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालको सम्पत्ति १५० तोला सुन, १ सय तोला चाँदी र १० तोला हिरा रहेको छ । २०७४ सालअघि सुन ८२ लाख, २० हजारमा खरिद गरेको उल्लेख छ । त्यस्तै मन्त्री अर्याल र उनकी श्रीमती अम्बिका केसीसँग २ करोड भन्दा बढी नगद बैंक तथा सहकारीमा जम्मा रहेको उल्लेख छ ।

त्यसैगरी, उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठको अधिकांश सम्पत्ति श्रीमती जुलीकुमारी महतोको नाममा देखिन्छ । महतोको नाममा जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ ।२ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १.५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ ।

त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले बैंकमा नगद मौज्दात एक करोड ५२ लाख रुपैयाँ रहेको आफ्नो सम्पत्ति विवरणमा उल्लेख गरेकी छन् । एनआईसी एसिया बैंकमा ११५ लाख (एक करोड १५ लाख) र एभरेस्ट बैंकमा ३७ लाख आफ्नो नगद मौज्दात रहेको उनले उल्लेख गरेकी छन् । यी सबै रकम पारिश्रमिकबापत पाएको विवरणमा उल्लेख छ । यस्तै, उनीसँग ११ तोला सुन, १० तोला चाँदी, एक सेट हीराको हार र एक सेट हीराको टप रहेको विवरणमा उल्लेख छ ।

त्यसैगरी, सहरी विकास मन्त्री धनबहादुर बुढाको काठमाडौँ र डोल्पामा गरेर ८ वटा घर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उनले डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ मा करिब पाँच रोपनी जग्गामा बनेको ३ तले र २ तलेका ४ वटा घर रहेको उल्लेख गरेका छन् । उनले बुझाएको सम्पत्ति विवरण अनुसार श्रीमती हिमालीको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर ६ मा १७ आनामा बनेको ७ तले एउटा घर रहेको उल्लेख गरेका छन् ।

त्यस्तै सोही वडामा ७ आनामा बनेको अर्को एउटा घर पनि रहेको उनले उल्लेख गरेका छन्। उनले सुन १ सय ५० तोला, चाँदी ३ सय तोला, नगद ६० लाख र हाइलक्स प्राडो २ वटा रहेको बताएका छन्।

 

 

 

प्रकाशित: ८ जेष्ठ २०८१, मंगलवार ११:३२

Leave a Reply