No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सत्ता गठबन्धनभित्र एमसीसीमा जुटेन सहमति

0

काठमाडौं । अमेरिकी सहयोग परियोजना (एमसीसी) मा सहमति जुटाउन बसेको सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठक निर्णय बिना सकिएको हो ।

बिहीबार साँझ ५ बजेदेखि तीन घण्टासम्म चलेको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य दलहरु आआफ्नो अडानमा रहेपछि अर्को बैठक शुक्रवार बिहान १० बजे बस्ने गरी बैठक सकिएको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसीलाई कसरी निष्कर्षमा पुर्याउने भन्नेबारे गम्भीरतापूर्वक छलफल भएको तर निष्कर्षमा नपुगेको जानकारी दिए । साथै उनले एमसीसीका कारण देश भित्र विकसित भइरहेका राजनीतिक घटनाक्रमका विषयमा गम्भीरतापूर्वक छलफल भएको बताए ।

शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । भोलिको बैठकमा एमसीसी टेबल गर्ने कांग्रेसले बताउँदै आएको छ । यसअघि आजै एमसीसीकाबारेमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग छलफल गरेका थिए भने दिउँसो एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका थिए ।

बुधबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले जबरजस्ती एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेको थियो । त्यस्तै एकीकृत समाजवादी पनि एमसीसी यथास्थितिमा अघि बढाउन नहुने पक्षमा छ ।

आजको बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा, नेताहरू कृष्णप्रसाद सिटौला, गगन थापा, पूर्णबहादुर खड्का, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडु, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, झलनाथ खनाल, जनता समाजवादी पार्टीबाट डा. बाबुराम भट्टराई सहभागी थिए ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार १४:२०

Leave a Reply