No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेटको उपाधि एपीएफलाई

0

काठमाडौं । डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले ललितपुर मेयर महिला टी–ट्वान्टी क्रिकेट च्याम्पियनसीपको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गर्दै एपीएफले लगातार दोस्रो पटक उपाधि जितेको हो ।

अघिल्लो संस्करणको खेलमा पनि एपीएफले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले नै पराजित गर्दै उपाधि जितेको थियो । खेलमा ११४ रनको लक्ष्य पच्छाएको एपीएफले १५ दशमलब ५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । एपीएफको जितमा ज्योति पाण्डेले सर्वाधिक ४३ रनको योगदान गरिन् । ४४ बल खेलेकी उनले ५ चौका प्रहार गरिन् ।

त्यसैगरी इन्दु बर्माले अविजित रहँदै २४ बलमा २९ रन जोडिन् भने कप्तान सिता राना मगर १९ रनमा आउट भइन् । सुदूरपश्चिमका लागि लक्ष्मी साउद र सम्झना खड्काले एक÷एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर ११३ रनको योगफल बनाएको थियो ।

सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ३७ रनको योगदान भने डोली भट्टले ३६ रन जोडिन् । त्यस्तै कविता कुँवर २४ रनमा अविजित रहिन् भने रेवती धामीले १० रनमा तथा रितु कनौजिया २ रनमा अविजित रहिन् । एपीएफका लागि सुस्मा श्रेष्ठले २ विकेट हात पारिन् । उपाधिसहित एपिएफले दुई लाख र उपविजेता सुदूरपश्चिमले एक लाख प्राप्त गरेका छन् ।

प्रकाशित: १६ फाल्गुन २०७८, सोमबार १४:४२

Leave a Reply