No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल सजाय, यस्तो छ अध्यादेश

0

काठमाडौं । नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारीले औषधि (तेस्रो संशोधन), अध्यादेश, २०७९ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ जारी गरेकोमा कृतज्ञता ज्ञापन गरेको छ ।

आइतबार संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले संयुक्त विज्ञप्ति जारी गरी राष्ट्रपतिबाट अध्यादेश जारी गरेकोमा कृतज्ञता ज्ञापन गरेको हो । संघका अध्यक्ष डा लोचन कार्कीले संघको माग अनुसार नै यसपटक जेल विथआउट बेल अर्थात धरौटीमा रिहा नहुने व्यवस्था (पुर्पक्षका लागि थुना) थप कडाईका साथ आएको जानकारी दिए।

विज्ञप्तिमा भनिएको छ, ’स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि आक्रमणका घटना बढेपछि संघले सुरक्षाको विषयमा जोडसँग आवाज उठाउँदै आएको थियो,’ लामो समयको प्रतिक्षापछि संघको माग अनुसार अध्यादेश आएको छ। अब यसको पूर्ण कार्यान्वयनमा सबैले साथ दिन आवश्यक छ।’ गत वर्षकोभन्दा थप कडा सजायको व्यवस्थासहित अध्यादेश आएको छ। विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ । अब नयाँ अध्यादेश अनुसार स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानी नोक्सानी पुर्याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरकि रुपमा चोट पुर्याउनेलाई पनि पुर्पक्षका लागि थुनामा राखेर थप सजाय हुने व्यवस्था गरिएको छ । अध्यदेशको कसूर र सजाय सम्बन्धी व्यवस्थामा ‘कसैले दफा ३ बमोजिमको कुनै कार्य गरेमा यस ऐन अन्तर्गतको कसूर गरेको मानिनेछ’ भनिएको छ ।

उक्त अध्यादेश जारी भएसँगै अब स्वास्थ्य संस्थामा आगजनी गरेमा दुई वर्षदेखि पाँच वर्षसम्म कैद वा दुईलाख रुपैयाँदेखि पाँचलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था अध्यादेशमा उल्लेख छ । यस्तै, स्वास्थ्य संस्थामा तोडफोड वा अन्य कुनै कार्य गरी हानि नोक्सानी पु¥याउने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्न वा शारीरिक रुपमा चोट पुर्याउने कार्य गरेमा तीन वर्षसम्म कैद वा तीनलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ ।

यस्तै स्वास्थ्य संस्थामा तालाबन्दी गर्न वा घेराउ गर्न नहुने, स्वास्य्य संस्थामा उपचारका लागि आएका वा उपचाररत बिरामीको उपचार गर्ने कार्यमा कुनै किसिमले बाधा पुर्याउन नहुने र स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई हातपात गर्न, कुनै किसिमले धम्की दिन, गाली गलौज गर्न वा अभद्र वा अपमानजनक व्यवहार गर्न नहुने भनिएको छ । यदि यस्तो कार्य गरेमा एक वर्षसम्म कैद वा एकलाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढ्दै गएपछि नेपाल चिकित्सक संघले कडा कानुनी व्यवस्थाको माग राख्दै आइरहेको थियो ।

 

प्रकाशित: २५ बैशाख २०७९, आईतवार १७:३९

Leave a Reply