+

एउटा भोट

९ कार्तिक २०७९, बुधबार १२:५९

डा. गोविन्दशरण उपाध्याय ।
१. राजनीति गर्नेहरूले सत्ता प्राप्त गर्छन् । त्यो सत्ता उनले चाहे र काम गरेअनुसार प्राप्त भएको मान्नुपर्छ । विश्वका हरेक देशमा राजनीति छ र त्यहाँ सत्ता छ, सत्तासीनहरू पनि छन् । विश्वका केही अपवादलाई छोडेर आफ्नो इतिहास, संस्कृति र पहिचानप्रति पश्चाताप गर्ने “कपू“ अर्थात् कम्म्युनिष्ट, समाजवादी र पूँजीवासी राजनीतिज्ञहरू नेपालमा सहज प्रकारले उपलब्ध छन् । नागरिकताको प्रमाणपत्र नेपाली भए उनको “यो मन त विदेशी नै छ“ भन्न मिल्छ । सबैभन्दा अनौठो कुरा त के भने जतिसुकै विदेशीको नक्कल गरे पनि, झूट बोले पनि, देश र जनतालाई पथविहिन बनाए पनि जनताले यिनैलाई रोज्ने छन् र फेरी चिया–पसल र आफ्नो सुत्ने कोठामा पल्टेर यिनै बदख्वाई गर्ने छन् । विगत ६० वर्षदेखि नेपालमा यो चालन चलिनैरहेको छ ।

२. जब कुनै व्यक्तिले नेपाली राजनीतिको विगत र बर्तमानलाई बुझेर देशको जरोकिलोअनुसार मौलिक परिवर्तनको कुरा उठाउँछ, देशका हिन्दू, जैन, बौद्ध,बोन, किराती र स्वतन्त्र नागरिकहरूलाई आत्मसम्मान दिने, नेपालका मौलिक परम्पराहरुका असल पक्षहरूलाई प्रयोग गर्दै विश्वस्तरको बनाउने कुरा गर्छ, धेरै मान्छेहरूको अनुहारमा खिस्यौटी झल्किन्छ । चन्द्र शमसेर श्री ३ महाराज भन्दा उनले आफ्नो महलका धेरै कमाराहरूलाई स्वतन्त्रता प्रदान गरेका थिए तर धेरैजसो कमाराले स्वेच्छाले कमारा नै रहने विकल्प चयन गरे । सम्भवतः नेपाली मतदाताहरूको हकमा चन्द्र–शमसेर भन्दा फरक दृष्टिकोणबाट हेर्न जरुरी छैन ।

३. मलाई लाग्छ, विगतका ७० वर्षहरू हाम्रा राजनैतिक नेतृत्वहरूले विदेशीहरूको नक्कल गर्न र तिनले प्रयोग गरेर सफल भएका प्रगतिका रणनीतिहरू नेपालको प्रगतिका लागि “योग्य“ ठानेर नेपाललाई प्रयोगशाला बनाए । सत्य उजागर भैसकेको छ – ७२ वर्षको उमेर पचाएर बूढो भएको प्रजातन्त्र आज पनि शिशु नै छ । यिनै नक्कले राजनीतिज्ञको काठपुतली “लोकतन्त्र, प्रजातन्त्र“ कहिले पनि जवान हुनेछैन किनभने यो जवान हुनुभनेको नक्कली राजनैतिक शक्तिहरूको मृत्यु हो । अवको मतदानमा जनताले निर्णय गर्नुपर्छ कि बूढो कपुतन्त्रलाई शिशु भन्दै आफ्नो पेट पाल्ने “परम्परा”मा मतदान गर्ने कि ? नवोदित, स्वदेशी र आफ्नो मौलिक सिद्धान्त भएको राजनैतिक दललाई मत दिएर स्वेच्छिक जेलखानाबाट मुक्त हुने ? सफलता एक दिनमा प्राप्त हुँदैन, त्यसैले तपाईंको भोट सफलताको मार्गमा कोशेढूंगा बन्नुपर्छ ।

४. अव मतदान त्यस पार्टी वा व्यक्तिलाई दिउँ जसले नेपालको मौलिक इतिहास प्रति गौरव गर्छ । जसले नेपाली मौलिक राजनैतिक सिद्धान्तअनुसार नेपाल बनाउँछु भनेर प्रतिबद्धता व्यक्त गर्छ । जसले विश्वबाट असल कुराहरू सिक्नुपर्छ र नेपालका असल कुराहरू विश्वलाई दिनुपर्छ भन्ने घोषणा गर्छ । जसले नेपालका मौलिक धर्म, संस्कृति तथा परम्पराहरूको जगेर्ना गर्ने प्रतिज्ञा गर्छ र नेपालका हरेक नागरिकहरू समानता, सहभागिता तथा मूल्यहरूको सम्मान सुनिश्चित गर्ने प्रतिज्ञा गर्छ । जसले सम्पूर्ण प्रकारका जातीय विभेदहरू अन्त्य गर्न “बंशीयार र अंशियार”को नीति अवलम्बन गर्ने लिखित प्रतिबद्धता व्यक्त गर्छ । हरेक नागरिकले प्रतिज्ञा गर्नुपर्छ र भन्नुपर्छ जसले नेपालको मौलिक इतिहासप्रति गौरव गर्छ, हरेक नेपालीको समग्र प्रगति सुनिश्चित गर्छ, मेरो भोट त्यसैलाई जान्छ ।

५. कुनै पनि नेताको देश भक्तिमा शंका छैन । सबै देशको भलोका लागि हुन् । तर उनीहरूले अख्तियार गरेको बाटोले देशको निर्माण हुँदैन, प्रगति हुँदैन भन्ने प्रमाणित भैसक्यो । यी ठूला पार्टीहरूमा के–यस्तो रोग लागेको छ, जसले देशको प्रगतिमा कुनै टेवा पुर्याउनै सक्दैन, देशलाई प्रगतिको बाटोमा लैजान सक्दैन, चूनावताका गरेका ठूलाठूला बाचाहरू भ्रष्ट्राचार र भाइभतिजावादमा गएर टुंगिन्छ, देशको भलाई गर्न निस्केको राजनीतिज्ञ देशको लागि असल काम गर्ने सक्दैन, किन ? किनभने उहाँहरूले अवलम्बन गरेको राजनैतिक सिद्धान्त र बाटो नै गतार्थ भैसकेको छ । मार्गचित्र नै धमिएराले खाएर छियाछिया पारेको छ । नेताहरूले काम गर्न सकेनन् किनभने उनीले अवलम्बन गरेको बाटो नै मक्किएको छ ।

समय असजिलो छैन, हाम्रो मन अलमल छ । हाम्रो अलमल र चाहनाका बिचमा ठूलो खाडल छ । अव तिमीसँग खाडल रोज्ने कि खाडल भर्ने माटो–विकल्पै विकल्प छ ।

ताजा अपडेट