No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राज्य कोषबाट लगानी गरेर तयार गराएको इपिजी प्रतिवेदनलाई चुनावी एजेण्डा बनाउनु आवश्यक छैन

0

केशवप्रसाद भट्टराई ।

१. नेपाल–भारत सम्बन्धका विविध समस्या सवाल र सरोकारबारे दुवै देशका प्रतिनिधिहरूबाट तयार गरिएको इपिजी (इमिनेन्ट पर्संस ग्रुप)को प्रतिवेदनको कुरा निकै सुनिन्छ । पढिन्छ । उक्त समूहमा नेपालको तर्फबाट रहनुभएकाहरूमा डा. भेष बहादुर थापा, निलाम्बर आचार्य, डा. राजन भट्टराई र सूर्यनाथ उपाध्याय हुनुहुन्थ्यो । डा. थापा (थाहा छैन) बाहेक आचार्य,भट्टराई र उपाध्याय तीनै जना एमाले निकट मानिनुहुन्छ । तीनै जना वामपन्थी पृष्ठभूमिका ।

२. भारतको तर्फबाट रहेकामा भगत सिंह कोसियारी एक जना भारतीय जनता पार्टीका नेता र अन्य तीन जनामा जयन्त प्रसाद भारतीय निजामती सेवा अन्तर्गत विदेश विभागका उच्चाधिकारी र नेपालका लागि भारतका पूर्व राजदुत । प्रा. महेन्द्र पी. लामा सिक्किम विश्वविद्यालयका पूर्व उपकुलपति प्रतिष्ठित विकास अर्थशास्त्री । नेपाल र भारत मामिला विज्ञ । प्रा. लामा बेलाबेलामा भारत सरकारका नीतिहरुका आलोचक पनि देखिनु हुन्छ । र अर्का प्रा. बी. सी. उप्रेती राजस्थान विश्वविद्यालयका विख्यात प्राज्ञ । उक्त विश्वविद्यालय अन्तर्गतको साउथ एसिया सेन्टरका निर्देशक । अर्का विख्यात भारतीय प्राध्यापक भवानी सेन गुप्तासँग संयुक्त रुपमा प्रा. उप्रेतीले नेपाल र दक्षिण एसियाका राजनीतिक र विदेश मामिलामा दर्जनौ उत्कृष्ट पुस्तक लेखेका छन् । प्रा. रमाकान्त,प्रा.भवानी सेन गुप्ता र प्रा.बीसी उप्रेतीको युगले नेपालबारे महत्वपूर्ण अनुषन्धानमूलक कृतिहरू दिएको छ । भारतले एक जना राजनीतिज्ञ राख्यो, एक जना करियर डिप्लोम्याट अनि दुई विख्यात प्राज्ञ, नेपाल र दक्षिण एसिया विज्ञ । हामीले सवै राजनीतिक व्यक्ति त्यसमाथि चार जनामा तीन जना एमाले निकट ।

३. त्यति महत्वपूर्ण द्वीदेशीय सम्बन्धका विविध विषयबारे प्रतिवेदन तयार गर्ने समूहमा अन्य दलका प्रतिनिधि र सो क्षेत्रका प्राज्ञहरूले किन स्थान पाएनन् ? प्रश्न त उठ्छ नै । समूहको गठन एक पक्षीय भएन ? उक्त प्रतिवेदन तयारीमा अन्य दलको पनि स्वामित्व आवश्यक हुन्छ भन्ने किन सोचिएन होला ?

४. उक्त इपिजी प्रतिवेदनको रिपोर्ट गोप्यरूपमा खास गरेर एसियामा भारतको प्रतिद्वन्द्वी राष्ट्रको दुतावाशमा पनि बुझाइएको समाचार पनि कुनै मिडियामा आएको थियो –सत्यासत्य थाहा भएन । उक्त प्रतिवेदबारे एमाले बाहेक काङ्ग्रेस वा अन्य दलले बोलेको थाहा छैन । प्रतिवेदन तयार पार्दा दलहरू र नेपाल भारत सम्बन्धका ज्ञाताहरूसँग पनि राय लिइयो नै होला । तर उक्त प्रतिवेदन सम्वद्ध भारतीय सदस्य र संयोजकको प्रतिक्रिया पनि आउने गर्दैन । एक चोटी नेपाली समूहका संयोजक डा.भेषबहादुर थापाले दुवै पक्षले नबुझेकोले सो प्रतिवेदन मिडिया मार्फत सार्वजनिक गरिदिने अनुत्तरदायी टिप्पणी गर्नुभयो । डा. राजन भट्टराई त्यसबारे बारम्बार सार्वजनिक रूपमा प्रतिक्रिया दिनुहुन्छ ।

५. त्यो प्रतिवेदन दुइटा राष्ट्र वीचको सवाल हो । दुई मुलुकको संयुक्त जिम्मेवारी हो । दुइटै मुलुकको राजनीतिक,कूटनीतिक, प्राज्ञिक र आर्थिक लगानी परेको छ । एमाले, डा. थापा वा डा.भट्टराईको दलीय वा व्यक्तिगत दायित्व र सरोकारको विषय होइन त्यो । त्यसैले त्यसलाई दलीय राजनीतिक अजेण्डा बनाउनु आवश्यक छैन । पक्कै पनि नेपाल–भारत सम्बन्धका विविध समस्या, सवाल र सरोकारबारे अध्ययन गरी संयुक्त रुपमा उपयुक्त समाधानका उपायहरूबारे सुझाव दिन गठित समूहले संयुक्तरूपमा तयार गरिएको इपिजी प्रतिवेदन एमाले वा एमालेका त्यसमा रहेका सदस्यको निजी दायित्व होइन,बन्दैन । समूहको गठन ओली सरकारले गरेको भए पनि नेपाल सरकारले राज्य कोषबाट लगानी गरेर तयार गराएको प्रतिवेदनलाई चुनावी अजेण्डा बनाउनु पनि आवश्यक छैन । उक्त समूह गठनबारे टिओआर ( टर्म्स अफ रेफरेन्स) तयार पार्दा र जुन टिओआर अन्तर्गत उहाँहरूले सो कार्यको कार्यको जिम्मेवारी लिनुभएको थियो त्यसबारे सोच्ने –छलफल गर्ने समय त्यतिखेर नै थियो ।

प्रकाशित: १७ कार्तिक २०७९, बिहीबार ०४:००

Leave a Reply