+

यस्तो पो कानुनी राज्य !

७ माघ २०७९, शनिबार ०५:१५

नारायण गाउँले ।
प्रधानमन्त्री ऋषि सुनकलाई बेलायती प्रहरीले दोस्रो पटक जरिबाना गरेको छ । उनले बेलायतको पिछडि़एका क्षेत्रमा नयाँ लगानी र विकासका योजनाबारे सानो भिडियो सन्देश जारी गरेका थिए । यो सन्देश उनको चलिरहेको कारमा खिचिएको थियो । प्रहरीको नजर भने उनको सन्देश भन्दा पनि उनले सिट–बेल्ट नलगाएकोतिर पुग्यो । यहाँ गुड़ी रहेको कारमा बस्नेले उपलब्ध भएसम्म सिट बेल्ट लगाउनै पर्ने नियम छ ।
उनी पिछडि़एको मानिने क्षेत्रमा भ्रमणमा थिए र सोही क्षेत्रमा सरकारका नयाँ प्रयास र योजना सुनाउन उनले सामाजिक सञ्जालका लागि छोटो भिडियो खिचेका थिए । भिडियो खिच्ने बेला उनले सिटबेल्ट फुकालेको बताइन्छ । त्यहाँको स्थानीय प्रहरीले उनलाई १०० पाउण्ड जरिबाना गरेको छ भने ऋषि सुनकले माफी माग्दै जरिबाना तिर्ने बताएका छन् ।

बेलायतमैं पनि दक्षिणपूर्वी क्षेत्रभन्दा उत्तरपूर्वी क्षेत्र पिछडि़एको मानिन्छ । आर्थिक–सामाजिक सूचकाङ्कहरू असमान छन् । पछि परेका क्षेत्रलाई उकास्ने भनेर बजेटसहित ’लेवलिङ् अप’ नीति नै ल्याइएको छ र मन्त्रालय नै बनाइएको छ । प्रधानमन्त्री यसैसँग सम्बन्धित कार्यक्रममा व्यस्त थिए । उनले यी यात्राहरूमध्ये केहीमा सेनाको जहाज प्रयोग गरेकोमा समेत आलोचना भएको थियो ।

’गुडि़रहेको कारमा सिटबेल्ट बाँध्नु’ जरूरी रहेको र आफूले भिडियो निर्माणका क्रममा असावधानीवश बेल्ट खोलेकोमा गल्ती भएको स्वीकार्दै ऋषि सुनकले कानुनभन्दा माथि कोही पनि नरहेकाले माफी माग्ने, जरिवाना तिर्ने र भविष्यमा यस्तो गल्ती नदोहोरÞ्याउने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले अरूलाई पनि सिटबेल्ट बाँध्न अनुरोध गरेका छन् । बेलायतमा पछिल्लो सिटमा बस्ने अधिकांशले सिटबेल्ट बाँध्ने गरेको देखिन्न ।
यसअघि कोभिड़को लकडाउनका बेला समूहमा बसेर ’जूस’ पिएको र नियम तोडेको अभियोगमा उनले जरिवाना तिरिसकेका छन् । त्यस बेला उनी लोकप्रिय अर्थमन्त्री थिए ।