जनकराज पाठक ।
ठूलो धनराशि खर्च गरेर जालझेल र धोखाधडीमा विदेशीले बोकाइदिएको भारीभित्र उपहारको रुपमा आएको संविधान र यसले व्यवस्था गरेको सेरेमोनियल पद(राष्ट्रपति)निर्वाचनको लागि भइरहेको प्रक्रिया र बनेका, भत्किएका फेरि बनेका गठवन्धन राजनीतिक निकासको लागि नभइ केवल राजनीतिक स्वार्थ पूरा गर्नेे दाउपेचको लागि भइरहेको सबैले बुझेका छन् ।
राष्ट्रपति आलंकारिक पद हो, आलंकारिक पद भनेको कार्यकारी अधिकार प्राप्त संस्थाले गरेका निर्णयहरु अनुमोदन गर्ने मात्र हो ।
सक्रिय जीवन राजनीतिमा व्यथित गरेका र शक्तिको सदैब प्रयोग गर्दै आएका व्यक्तिहरुलाई सेरेमोनियल रुपमा राख्न सकिदैन। सिरकले छोपेर राख्दैमा बिरालोले म्याउ नगर्ने हैन । तसर्थ विगमा झैं अहिलेको राष्ट्रपति पनि राजनीतिक रुपमा निरपेक्ष बस्न कदापि सक्दैनन् र यो अभिभावकीय संस्था हुन सक्दैन जो विचारले नै राजनीति भन्दा माथि उठेको छैन।
संविधानको संरक्षक र पालकको रुपमा रहेको राष्ट्रपतिको पद र भूमिका विगतमा पनि निष्पक्ष थिएन र भविष्यमा पनि हुँदैन । अहिले जो व्यक्तिहरुलाई राष्ट्रपतिमा प्रतिस्पर्धा गराइँदैछ तिनीहरु जीवनभर शक्तिको प्रयोग गरिआएका व्यक्तिहरु हुन् । तिनीहरुबाट निष्पक्षताको आशा गर्नु मुर्खता हुन्छ । विचार र सिद्धान्तबाट स्खलित क्रियाशील दल र तिनीहरुका प्रतिनिधिबाट प्रजातन्त्र पनि सुरक्षित रहन सक्दैन । विषय राष्ट्रपति को हुने मात्र हैन प्रजातन्त्र सुरक्षित रहने,नरहने पनि हो । शक्ति प्रयोगबाट अभ्यस्त दलगत प्रतिनिधिलाई राष्ट्र प्रमुख बनाउँदा उनीहरु पटक,पटक आफ्नो दलगत स्वार्थमा केन्द्रित रहेका उदाहरण छन् र विवादित पनि छन् । त्यसैले दल भन्दा माथि उठेको संस्था राष्ट्र प्रमुखमा रहनु पर्ने आजको आवश्यकता हो।
यस परिवेशमा राप्रपाले राष्ट्रप्रमुखमा राजसंस्था रहनुपर्छ भनि गर्दै आएको वकालत थप सान्दर्भिक देखिएको छ । संविधानको परिधिभित्र रहनेगरि निष्पक्ष संस्थाको रुपमा राजसंस्थालाई स्थापना गर्न सकियो भने यसले प्रजातन्त्रलाई मजवुत बनाउँछ । आज यही विषय राप्रपा भित्र पनि पेचिलो बन्दै गएको छ । आफ्नो मूलभूत सिद्धान्तलाई राप्रपाले सत्तासँग साट्न वा जोड्न मिल्दैन ।
राष्ट्र प्रमुखमा राजसंथा, हिन्दूराष्ट्र यसका प्राण हुन् । कसैले मीठो बोल्दैमा,कोही कसैको नजिक हुँदैमा, कसैले कसैलाई शक्तिमा पुर्याइदिने लोभलालचमा हामीलाई आफ्नो सिद्धान्त विर्सने छुट छैन । क्रियाशील प्रायः सबै राजनीतिक दलहरु विचार र सैद्धान्तिक रुपमा स्खलित भइसकेको अवस्थामा राप्रपा आफ्नो विचारमा हिमाल झै अटल छ । तसर्थ राप्रपालाई गलत गर्ने छुट छैन त्यसलाई मध्यनजर गरेर राप्रपाले राष्ट्रिपतिको लागि हुने निर्वाचनमा तटस्थ बसेर आफ्नो परिचय दिन सक्नु पर्छ । यो परिवेशमा हिमाल,पहाड,तराइ,सवै भेगका नागरिकले सम्मान गर्ने संस्थाको रुपमा राजसंस्था स्थापना गरेर प्रजातन्त्रलाई थप सुदृढ बनाउन राप्रपा दृढ रहनु पर्छ।
त्यसैले मुलुक निर्माणमा अतुलनिय योगदान गरेको राजसंस्थालाई हिजो हामीले विदेशीको इसारामा होस् वा कसैको कुण्ठाको कारण हटाएर गम्भीर गल्ती गरेका छौं ।आज इतिहासले त्यो गल्ती स्वीकार्ने र सुधार्ने अवसर सबै राजनीतिक दलहरुलाई दिएको छ । सवैले मान्ने गरेको आदर्सपुरुष प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्रप्त गरेका स्व.विपी कोइरालालाई मनैदेखि सम्झने दिन आएको छ।व्यक्तिगत रुपमा आफूले राजसंस्थाको कारण दुःख पाएपनि वृहत नेपाली राष्ट्रिय हितको निमित्त किन उनले जीवनभर राजसंस्थाको पक्षमा वकालत गरे आजको पिँढीले त्यो विर्सन हुन्न। इतिहास सधै भविष्यको मार्गदर्सन भएर रहन्छ ।
यो सत्यलाई आत्मसात गर्दै प्रजातन्त्र बचाउन र मुलुकलाई प्रजातान्त्रिक माध्यमवाट विकासको युगमा लान सबैले पुराना रिस,राग,कुन्ठा त्यागेर राष्ट्रप्रमुखमा राजसंस्था रहने गरि वृहत सहमति कायम गराउन छलफलको सुरु गरौं ।
मुलुकको ठोस आवश्यकताको ठोस विष्लेषण गरि प्रजातन्त्रलाई थप वलियो र मजवुद बनाउँदै अगाडि बढ्नुपर्ने गम्भीर दायित्व यतिवेला क्रियाशील राजनीतिक दलहरुको काँधमा आएको छ । यस परिवेशमा लडाइँको मोर्चा आफैंले सम्हाल्दै हरेस नखाइ मुलुक निर्माणमा योगदान पुर्याएका,प्रजातन्त्र स्थापनार्थ गद्दी दाउमा लगाएका,विदेशीहरु सामु कहिले लम्पसार नपरेका,मुलुकलाई पटक,पटक उपनिवेश हुनबाट जोगाएका,गद्दी त्याग गर्दा समेत पत्रकार सम्मेलन गरेर पाखा लाग्न सक्ने क्षमता प्रस्तुत गरेको शक्तिलाई पुनःस्थापना गरेर प्रजातन्त्रलाई थप बलियो बनाउँदै वृहत राष्ट्रिय हितमा अगाडि वढ्नको निमित्त सबैदलहरुमा चेतना आओस् ।


