No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दक्षिण एसियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर

0

काठमाडौँ । दक्षिण एशियामा क्यान्सरका कूल बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर हुने गरेको पाइएको छ ।

कान्तिपुर डेन्टल कलेज र नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीले शनिबार आयोजना गरेको मुखको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठीमा दक्षिण एसियामा कुल क्यान्सरका बिरामीमध्ये २० प्रतिशतमा मुखको क्यान्सर पाइएको बताइएको हो ।

कार्यक्रममा नेशनल इन्टिच्यूट अफ क्रेनियोफेसियल सर्जरीका कार्यकारी निर्देशक एवम् क्रेनियोफेसियल सर्जन डा सुमित सिंहले सूर्तीजन्य पदार्थको जथाभावी प्रयोगले मुखको क्यान्सरका बिरामी बढेका बताए ।

“चुरोट, बिँडी, हुक्का, तम्बाकु, गुड्खा, पानलगायतका सूर्तीजन्य पदार्थसेवनका कारण मुखको क्यान्सरका बिरामी बढ्दै गएका छन् । नेपालमा हिमाल र पहाडको तुलनामा तराईमा मुखको क्यान्सरका बिरामीको संख्या धेरै रहेको पाइएको छ”, उनले भने ।

त्यसैगरी वार्षिक दुई प्रतिशत बिरामीको मुखको क्यान्सरका कारण मृत्यु हुने गरेको पाइएको समेत उनले जानकारी दिए ।

कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा सतीश देवले काउन्सिलले क्यान्सरपीडित बिरामीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको र त्यस कार्यमा यस्ता अन्तर्राष्ट्रिय गोष्ठीमा व्यक्त तथ्य र तथ्याङ्कले थप रणनीति बनाएर काम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका कार्यकारी निर्देशक डा बुद्धिमान श्रेष्ठले देशभरका दन्त चिकित्सकलाई मुखको क्यान्सरसम्बन्धी तालिम दिन जरूरी रहेको उल्लेख गरे ।

पछिल्लो समय बढ्दै गएको मुखको क्यान्सरसम्बन्धी समस्याबारे जानकारी दिन कान्तिपुर डेन्टल कलेजले विभिन्न निकायसँगको सहकार्यमा काम गरिरहेको समेत बताए ।

एकदिने अन्तर्राष्ट्रिय गोष्ठीमा नेपाल, भारत र बङ्गलादेशका एक सयभन्दा बढी डाक्टरको सहभागिता थियो । मुखको क्यान्सर पत्ता लगाउन हाल नेपालमा वायस्पी प्रविधिको प्रयोग हुँदैआएको छ । आगामी दिनमा लेजर प्रविधि र भेलोस्कोप प्रविधिसमेत प्रयोगमा ल्याउने विषयमा पनि छलफल भएको थियो ।

प्रकाशित: १५ बैशाख २०८१, शनिबार १२:४९

Leave a Reply