+

युद्ध अन्त्यका लागि अमेरिकी प्रस्तावमा इरानले पठायो जवाफ

२७ बैशाख २०८३, आईतवार २१:२२

इरानले युद्ध अन्त्यका लागि संयुक्त राज्य अमेरिकाले राखेको प्रस्तावमाथि आफ्नो औपचारिक जवाफ पठाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार पाकिस्तानको मध्यस्थतामार्फत यो जवाफ पठाइएको हो।

यद्यपि, दुवै पक्षले प्रस्ताव र जवाफको विस्तृत विवरण भने सार्वजनिक गरेका छैनन्। अमेरिकी प्रस्ताव इरानको आणविक महत्त्वाकाङ्क्षामा केन्द्रित १४ बुँदे समझदारी पत्रमा आधारित रहेको बताइएको छ।

गत फेब्रुअरीमा अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि फैलिएको युद्ध हाल युद्धविरामको अवस्थामा छ। फाट्टफुट्ट गोली हानाहान भए पनि वार्ताका लागि वातावरण बनाउन युद्धविरामलाई धेरै हदसम्म पालना गरिएको छ।

तर, इरानले विश्वकै महत्त्वपूर्ण जलमार्ग स्ट्रेट अफ होर्मुजमा अवरोध जारी राखेको छ, जसका कारण विश्वबजारमा इन्धनको मूल्य आकासिएको छ। अर्कोतर्फ, अमेरिकाले इरानलाई आफ्ना सर्तहरू मान्न दबाब दिन इरानी बन्दरगाहहरूमा सैन्य घेराबन्दी गरिरहेको छ।

अमेरिकी नाकाबन्दीप्रति इरानले कडा आपत्ति जनाउँदै आएको छ। आइतबार इरानी राष्ट्रपति मसूद पेजेस्कियानले सामाजिक सञ्जाल एक्समार्फत शत्रुसामु कहिल्यै शिर नझुकाउने उद्घोष गरेका छन्।

उनले भनेका छन्, ‘हामी शत्रुसामु कहिल्यै शिर झुकाउने छैनौँ र यदि संवाद वा वार्ताको कुरा आउँछ भने त्यसको अर्थ आत्मसमर्पण वा पछि हट्नु होइन। बरु इरानी राष्ट्रको अधिकार रक्षा गर्नु र दृढ शक्तिका साथ राष्ट्रिय स्वार्थको रक्षा गर्नु नै हाम्रो लक्ष्य हो।’

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै सकिने दाबी गर्दै तेहरानको आणविक लक्ष्य अन्त्य गर्ने आफ्नो उद्देश्यमा धेरैको समर्थन रहेको बताएका छन्।

अमेरिकी समाचार संस्था एक्सियोसका अनुसार अमेरिकाको १४ बुँदे प्रस्तावमा इरानको आणविक संवर्धन स्थगित गर्ने, प्रतिबन्धहरू हटाउने र स्ट्रेट अफ होर्मुजमा स्वतन्त्र आवागमन पुनः सुरु गर्ने जस्ता प्रावधान छन्। इरानी संसद्का एक वरिष्ठ सदस्यले भने यी सर्तहरूलाई केवल ‘इच्छाको सूची’ भन्दै खारेज गरिदिएका छन्। इरानी सैन्य प्रवक्ता मोहम्मद अक्रमिनियाले स्ट्रेट अफ होर्मुज भएर जाने जहाजहरूले तेहरानसँग समन्वय नगरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

पछिल्ला केही घण्टामा खाडी क्षेत्रमा थप सैन्य सक्रियता देखिएको छ। कतारको दोहा नजिकै एउटा मालवाहक जहाजमा प्रहार हुँदा सामान्य आगलागी भएको छ। इरानी सञ्चारमाध्यमले सो जहाज अमेरिकी झण्डा बोकेको दाबी गरेका छन्।

त्यसैगरी, कुवेत र संयुक्त अरब इमिरेट्स (युएई) ले इरानतर्फबाट आएका ड्रोनहरू आफ्नो हवाई रक्षा प्रणालीले नष्ट गरेको बताएका छन्। यसैबिच, स्ट्रेट अफ होर्मुजमा व्यावसायिक जहाजहरूको सुरक्षाका लागि बेलायत र फ्रान्सको नेतृत्वमा ४० भन्दा बढी राष्ट्रका रक्षा मन्त्रीहरूले सोमबार बैठक गर्दैछन्।

ट्रम्पले भने मे ६ मा एक चेतावनी दिँदै इरान सम्झौतामा नआए बमबारीको तीव्रता पहिलेको भन्दा धेरै गुणा बढी हुने बताएका थिए।