+

राज्य व्यवस्था समिति बैठकमा प्रधानमन्त्री अनुपस्थित, कांग्रेसले गर्यो बैठक बहिष्कार

२८ बैशाख २०८३, सोमबार १३:१४

काठमाडौं । प्रधानमन्त्री बालेन शाह राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लगातार दोस्रोपटक पनि अनुपस्थित भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक बहिष्कार गरेको छ ।

गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ माग्नुपर्ने भए पनि उनी बैठकमा सहभागी नभएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।

समितिमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादव बैठकमा छन् ।

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेले प्रधानमन्त्रीको अनुपस्थितिमा समितिको बैठकको औचित्य नै नरहेको टिप्पणी गरे । आङ्देम्बेले समिति सभापति हरि ढकाललाई प्रधानमन्त्री उपस्थित हुने भए बैठकको जानकारी दिन भनिएको पनि बताए ।