+

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको छ :उद्योगमन्त्री

९ जेष्ठ २०८३, शनिबार १५:४९

बागमती । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको लागि गृहकार्य भइरहेको बताएकी छन् ।

हेटौँडास्थित औद्योगिक क्षेत्रको आज निरीक्षण गर्दै मन्त्री यादवले रुग्ण हेटौँडा कपडा उद्योग सञ्चालनमा आए मुलुकको आर्थिक विकासमा टेवा पुग्ने भएकाले छिट्टै कपडा उद्योग सञ्चालनको कामलाई तीव्रता दिने बताइन् ।

मुलुकको आर्थिक अवस्थालाई सुदृढ बनाउन र रोजगारीको वातावरण सृजना गर्न सरकारले रुग्ण उद्योग सञ्चालनमा ल्याउने नीति लिएको उल्लेख गर्दै मन्त्री यादवले आगामी आर्थिक वर्षको बजेटमा रुग्ण कपडा उद्योग सञ्चालनको लागि बजेट विनियोजन गरिने प्रतिबद्धतासमेत व्यक्त गरिन् । बन्द उद्योगहरु सञ्चालनमा आए रोजगारीको अवसर सृजना हुने उल्लेख गर्दै मन्त्री यादवले कपडा उद्योग सञ्चालनका लागि आवश्यक तयारीमा सरकार जुटेको बताइन् ।

अमेरिकी सरकारको आर्थिक सहयोगमा विसं २०२० मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल १४७ उद्योग तथा प्रतिष्ठान छन् ।