+

योगेश भट्टराईले मागे ओलीको राजीनामा

९ जेष्ठ २०८३, शनिबार २०:५६

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठकमा अधिकांश नेताले अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबारदेखि सुरु भएको बैठकमा पहिलो दिन चार जना उपाध्यक्षले अध्यक्ष ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएकोमा शनिबार बोल्ने नेताहरुले पनि राजीनामा मागेका छन् ।

शनिबारको बैठकमा महासचिव शंकर पोखरेलले पनि अध्यक्ष ओलीलाई अहिलेकै अवस्थामा पार्टी अघि बढ्न नसक्ने बताएका छन् । महासचिव पोखरेलले सुधारसहित पार्टीलाई अघि बढाउनुपर्ने बताएका हुन् । उपमहासचिव योगेश भट्टराईले पनि अध्यक्ष ओलीको राजीनामा मागेका छन् । भट्टराईले अध्यक्ष ओलीलाई अब तपाईँबाट पार्टी चल्न नसक्ने भन्दै राजीनामा मागेको बैठकमा सहभागी एक नेताले जानकारी दिएका छन् ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार ओली निवास गुण्डुमा आज बसेको दोस्रो दिनको बैठकमा पार्टीका महासचिव, तीन उपमहासचिव र पाँच सचिवसहित नौ जना नेताहरूले आफ्नो धारणा राखेका छन् । उनले पार्टीको आइतबार बस्ने बैठकमा बाँकी चार सचिवले आफ्नो धारणा राख्ने जानकारी दिँदै सबैको धारणा आएपछि प्रस्तावित एजेन्डामाथि निर्णय प्रक्रियालाई अगाडि बढाइने बताए । बैठकमा अध्यक्ष ओलीले भने आइतबार बोल्ने छन् ।