काठमाडौं। गत शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘काजी’ लाई दर्शकले निकै रुचाएका छन्।
अभिनेता विपिन कार्की र अभिनेत्री केकी अधिकारीद्वारा अभिनित यो विशुद्ध प्रेमकथामा आधारित फिल्मले आफ्नो मन छोएको प्रतिक्रिया हलबाट बाहिरिएका दर्शकहरूले दिइरहेका छन्। हलमा फिल्म हेर्न पुगेका दर्शकहरू माझ यसमा बुनिएको प्रेमको गहिरो तानाबाना अहिले मुख्य चर्चाको विषय बनेको छ।
फिल्ममा अभिनेता विपिन कार्की ‘काजी’ र अभिनेत्री केकी अधिकारी ‘कजिनी’ को मुख्य भूमिकामा प्रस्तुत भएका छन् । कजिनीसँगको साँचो प्रेमका कारण काजीले जीवनमा के कस्ता त्याग र संघर्ष गर्छन् भन्ने भावनालाई फिल्ममा मुख्य रूपमा उतारिएको छ ।
फिल्म हेरेर निस्किएका कतिपय दर्शकले त काजीको यो प्रेमलाई नेपाली साहित्यको ‘मुना मदन’ र विश्व प्रसिद्ध ‘रोमियो एण्ड जुलियट’ जस्तै अमर विम्बका रूपमा व्याख्या गरेका छन् । हलमा ‘वाह ! काजीको जस्तो पो प्रेम’ र ‘श्रीमान् होस् त काजीको जस्तो’ जस्ता प्रशंसायुक्त प्रतिक्रियाहरू सुन्न सकिन्छ ।
यता अभिनेता विपिन कार्कीले पनि ‘काजी’ मा देखाइएको प्रेमले जुनसुकै वर्गका दर्शकलाई सजिलै ‘कनेक्ट’ गर्ने दाबी गरेका छन् । आफू प्रतिक्रिया लिन पुगेका अधिकांश हलहरूमा दर्शकले फिल्मलाई ‘गज्जबको प्रेमकथा’ भनेर तारिफ गरेको उनले बताए ।
धेरै समयपछि आफैँलाई पनि भित्रैदेखि छोएको एउटा उत्कृष्ट प्रेमकथालाई पर्दामा ल्याउन पाएको भन्दै उनले यो चलचित्र नेपाली सिनेमा बजारमा धेरै वर्षसम्म चर्चामा रहने विश्वास व्यक्त गरे ।
लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस चलचित्रलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । निर्माता रिजालका अनुसार फिल्मले दर्शकबाट पाएको सकारात्मक ‘वर्ड अफ माउथ’ अर्थात् मौखिक सिफारिसकै कारण दिनहुँ हलहरूमा दर्शकको चाप बढिरहेको छ ।
प्रदर्शनको पहिलो दिनदेखि नै दर्शकको संख्या सन्तोषजनक रूपमा बढ्दै गएको रिपोर्ट वितरकहरूले दिएका छन् । निर्माता टोलीले बिना कन्जुस्याइँ दर्शकसामु एउटा स्तरीय फिल्म पस्किएकाले एकपटक हलमै पुगेर यसको मूल्यांकन गरिदिन सबैमा अनुरोध समेत गरेको छ ।
चलचित्र प्रदर्शनको पहिलो दिन अभिनेता विपिन कार्की, अभिनेत्री गरिमा शर्मा, निर्देशक लक्ष्मण रिजाल र निर्माता रामप्रसाद रिजाल लगायतको टोली काठमाडौं उपत्यकाका विभिन्न सिनेमा हलहरूमा पुगेर प्रत्यक्ष रूपमा दर्शकसँग साक्षात्कार गरेको थियो ।
निर्देशक लक्ष्मण रिजालले ‘काजी’ कुनै गाउँको मुखिया वा ठूलाबडाको परम्परागत कथा नभई प्रेम, समर्पण र सम्बन्धको एउटा नितान्त भावनात्मक यात्रा रहेको प्रष्ट पारे । अभिनेत्री केकी अधिकारीले पनि आफ्नो लामो अभिनय यात्रामा ‘काजी’ चलचित्रले सधैँ विशेष महत्त्व राख्ने बताइन् ।
रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको यस चलचित्रमा विपिन कार्की र केकी अधिकारीका साथै गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीपबाबु लोहनी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा र प्रशंसा सुवेदी लगायतका कलाकारहरूको सशक्त अभिनय देख्न सकिन्छ।


