+

शासकीय सुधारका सय बुँदे कार्यसूचीमै हाम्रो ध्यान केन्द्रित छः मन्त्री मेहता

२४ जेष्ठ २०८३, आईतवार १६:५६

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले वर्तमान सरकारले शासकीय सुधारका सयवटा कार्यसूचीलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएकी छिन् ।

आइतबार मन्त्रालयमा पत्रकारसँगको विशेष भेटमा मन्त्री मेहताले प्रधानमन्त्री बालेन्द्र शाहको मुख्य निर्देशनबमोजिम नै मन्त्रालय ती कार्यसूचीहरू सफलतापूर्वक सम्पन्न गर्न केन्द्रित भएको स्पष्ट पारिन् ।

मन्त्रालयमा अझै धेरै सुधारका कामहरू गर्न बाँकी रहेको स्वीकार गर्दै उनले आगामी दिनमा ठोस योजनाका साथ अघि बढ्ने प्रतिबद्धतासमेत व्यक्त गरिन् ।

प्रेस र मन्त्रालयबीचको सम्बन्धलाई थप पारदर्शी र सुदृढ बनाउन अबदेखि नियमित रूपमा मिडियासँग अन्तरक्रिया गरिने मन्त्री मेहताले घोषणा गरिन् । अबका दिनमा सम्भव भएसम्म प्रत्येक १५ दिनमा पत्रकारहरूसँग भेटघाट गरी मन्त्रालयका कामकारबाहीबारे जानकारी गराउने उनको भनाइ छ । उनले मन्त्रालयका कमीकमजोरी सच्याउँदै आफ्ना सबल पक्षहरूलाई अझै बलियो बनाएर अघि बढ्ने दृढता व्यक्त गरिन् ।