+

प्रचण्डले भने- अन्तिम क्रमभङ्गका लागि तयार रहनुस्

१२ असार २०८३, शुक्रबार १९:०८

विराटनगर। नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयाेजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एमाले) सँग तत्कालै पार्टी एकता सम्भव नभए पनि सडकदेखि सदनसम्म सशक्त कार्यगत एकता गरेर अघि बढ्ने बताएका छन्।

विराटनगरमा आयोजित पार्टीको प्रदेशस्तरीय अगुवा कार्यकर्ता बैठकलाई सम्बोधन गर्दै उनले वामपन्थी शक्तिहरूबीचको सहकार्य अपरिहार्य रहेको औंल्याएका हुन्।

बैठकमा बोल्दै प्रचण्डले समाजवादी मोर्चामा रहेका दलहरूबीच चाँडै एकता प्रक्रिया टुंगिने दाबी गरे। संसदमा सहकार्य, सडकमा सहकार्य र आउने प्रदेश तथा स्थानीय तहको चुनावमा सहकार्यको सहमति हुँदै गरेको उल्लेख गर्दै उनले एमालेसँगको सहकार्यले संसदमा वामपन्थीहरूलाई बलियो शक्तिका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरे।

वर्तमान राजनीतिक समीकरण र शक्ति सन्तुलनलाई वामपन्थीहरूको पक्षमा ल्याउनका लागि पनि चुनावी र संसदीय मोर्चामा कार्यगत एकता आवश्यक रहेको उनको तर्क थियो।

आफ्नो राजनीतिक कदमलाई लिएर सामाजिक सञ्जालमा हुने आलोचना र गालीगलौजलाई सामान्य रूपमा लिन कार्यकर्ताहरूलाई आग्रह गर्दै प्रचण्डले पार्टी पंक्तिलाई बोल्ड भएर जनतामाझ जान निर्देशन दिए। उनले नयाँ राजनीतिक शक्तिहरूप्रति लक्षित गर्दै आफूहरू घण्टी बजाउने भिक्षु नभएको र जुनसुकै बेला देशको राजनीतिलाई नयाँ मोड दिन सक्ने क्रान्तिकारी निर्णय लिन सक्ने बताए।

राजनीतिमा क्रमभंग आफ्नो विशेषता रहेको स्मरण गराउँदै उनले आगामी महाधिवेशनमा फेरि अर्को ठूलो राजनीतिक क्रमभंग हुने संकेत गरे। कार्यकर्तालाई नहिचकिचाइकन, नडराइकन र भ्रममा नपरीकन अगाडि बढ्न आग्रह गर्दै उनले प्रचण्डको अन्तिम क्रमभंग हेर्न तयार रहन समेत  भनेका छन्।

विशेषतः नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता साझेदारी भएपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दलको भूमिकामा पुगेको पृष्ठभूमिमा प्रचण्डको यो अभिव्यक्ति आएको हो।

एमाले-कांग्रेस गठबन्धन बनेपछि प्रचण्डले पुनः वामपन्थी र विचार मिल्ने शक्तिहरूलाई एक ठाउँमा ल्याउने कसरत सुरु गरेका छन्। माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चालाई बिस्तारै पार्टी एकताको तहसम्म पुर्‍याउने र एमालेसँग चाहिँ मोर्चाबन्दी गर्ने प्रचण्डको भित्री रणनीति देखिन्छ।

आगामी स्थानीय तथा प्रदेश तहको निर्वाचनमा कांग्रेस-एमाले गठबन्धनविरुद्ध बलियो मोर्चा खडा नगरे माओवादीलाई क्षति हुन सक्ने आकलनसहित प्रचण्डले अहिलेदेखि नै एमालेसँग चुनावी सहकार्यको ढोका खुल्ला राख्न खोजेका हुन्।

प्रचण्डले प्रयोग गर्ने ‘क्रमभंग’ शब्दले नेपाली राजनीतिमा सत्ता समीकरणको अचानक परिवर्तन वा अप्रत्याशित राजनीतिक निर्णयलाई बुझाउने भएकाले उनको यो पछिल्लो अभिव्यक्तिले वर्तमान सत्ता गठबन्धनभित्र पनि नयाँ तरंग पैदा गर्ने निश्चित देखिन्छ।