+

अरनिको राजमार्ग असार २२ देखि १५ दिन राति बन्द गरिने

१३ असार २०८३, शनिबार १९:५९

काभ्रेपलाञ्चोक। स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन यही असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक लगाइने भएको छ। जिल्ला सुरक्षा समितिले उक्त सडकखण्डमा यही असार २२ देखि आउँदो साउन ४ गतेसम्म रातको समयमा पूर्णतः सवारीसाधन आवागमन बन्द गरिने जनाएको हो।

उक्त सडकखण्ड कालोपत्र गर्ने सम्बन्धमा उल्लिखित अवधिमा टिपर र मालवाहक ठूला ट्रकलाई प्रवेशमा पूर्णतः निषेध गरिनेछ। अरू यात्रुवाहक तथा मालवाहक सवारीसाधनलाई बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र प्रवेशमा रोक लगाउने निर्णय गरिएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

समितिले सडक निर्माणलाई सहजीकरणका निम्ति यात्रु तथा मालवाहक सवारीसाधनलाई सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न सिफारिस गर्ने समेत जनाएको छ।

तोकिएको अवधिमा रातिको समयमा एम्बुलेन्ससहित अत्यावश्यक सेवाका सवारीसाधन भने पूर्ववत् सञ्चालन गर्न दिइने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए।

सवारीसाधन व्यवस्थापन तथा चालकलाई आवश्यक सहजीकरणका निम्ति जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर, दोलखा र सिन्धुपाल्चोकसँग समन्वय गरिने समितिले जनाएको छ।

गत चैतमा करिब एक महिनाभरि रातको समयमा पूर्णतः आवागमन बन्द तथा दिउँसो एकतर्फी सञ्चालन गरेर २.५ किमि सडक कालोपत्र (डीबीएम–पिच)को काम गरिएको थियो।