+

बक्यौता रकम तिरिसक्दा पनि साढे दुई महिनादेखि बन्द रिपोर्टर्स क्लब खुलाउन सरकारसँग ऋषि धमलाको आग्रह

१६ असार २०८३, मंगलवार २१:२३

काठमाडौं। पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले साढे दुई महिनादेखि बन्द रहेको रिपोर्टर्स क्लब नेपाल तत्काल सञ्चालनमा ल्याउन सरकारसँग आग्रह गरेका छन्।

रिपोर्टर्स क्लबले सरकारसँग भएको सम्झौताअनुसार तिर्नुपर्ने सम्पूर्ण बक्यौता रकम भुक्तानी गरिसकेको दाबी गर्दै उनले अब क्लबमा लगाइएको ताला खोल्न ढिलाइ गर्न नहुने बताएका हुन्।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै धमलाले रिपोर्टर्स क्लब नेपालको स्थापना, इतिहास, पत्रकारितामा पु¥याएको योगदान र लोकतान्त्रिक आन्दोलनका क्रममा खेलेको भूमिकाबारे चर्चा गर्दै क्लब बन्द हुनु नेपाली पत्रकारिता क्षेत्रकै लागि चिन्ताको विषय भएको बताए।

सरकारले तोकेको सबै भाडा तथा बक्यौता रकम क्लबले पूर्ण रूपमा तिरिसकेको भन्दै अब क्लब बन्द राख्नुको कुनै औचित्य नरहेको उनले बताए।

‘राज्यले गरेको निर्णयलाई हामीले सम्मान गरेका छौं। समाज कल्याण परिषद्सँगको सम्झौताअनुसार तिर्नुपर्ने सबै रकम रिपोर्टर्स क्लबले भुक्तानी गरिसकेको छ। त्यसैले सरकारले अब तत्काल ताला खोलिदिएर रिपोर्टर्स क्लब सञ्चालनको वातावरण बनाउनुपर्छ,’ उनले भने।

उनले २०५४ साल चैत १७ गते स्थापना भएको रिपोर्टर्स क्लब नेपालले विगत करिब तीन दशकदेखि देशका राजनीतिक, सामाजिक, आर्थिक तथा कूटनीतिक गतिविधिहरूको प्रमुख बहसस्थलका रूपमा भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। क्लबबाट विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले आफ्ना धारणा सार्वजनिक गरेको र जनसरोकारका विषयहरूमा निरन्तर बहस हुँदै आएको उनको भनाइ थियो।

धमलाले कठिन परिस्थितिमा समेत रिपोर्टर्स क्लबले आफ्नो गतिविधि नरोकेको स्मरण गरे। कफ्र्युको समय, राजाको प्रत्यक्ष शासन, राजनीतिक आन्दोलन तथा विभिन्न राष्ट्रिय संकटका बेलासमेत क्लबले नियमित कार्यक्रम सञ्चालन गरेको उनले बताए। लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सुशासन तथा नागरिक अधिकारका पक्षमा क्लबले सधैँ आवाज उठाउँदै आएको उनको दाबी छ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पत्रकारिता छोडेर राजनीतिमा प्रवेश गर्ने घोषणा पनि रिपोर्टर्स क्लबबाटै गरेको, भारतका वर्तमान रक्षामन्त्री राजनाथ सिंह, पूर्वराष्ट्रपति प्रणब मुखर्जी, पूर्वविदेशमन्त्री सुष्मा स्वराजलगायत भारतका शीर्ष नेताहरू, विभिन्न देशका राजदूत तथा अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले समेत रिपोर्टर्स क्लबको मञ्चबाट आफ्ना धारणा सार्वजनिक गरेको स्मरण गराए।

धमलाले भूकम्पपछि रिपोर्टर्स क्लब भृकुटीमण्डपस्थित भवनमा सञ्चालन हुँदै आएको र तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पहलमा समाज कल्याण परिषद्सँग सम्झौता गरी कार्यालय सञ्चालन गरिएको जानकारी दिए।

उनले रिपोर्टर्स क्लबलाई पत्रकार सम्मेलन गर्ने थलो मात्र नभई पीडित, सीमान्तकृत समुदाय र आवाजविहीन नागरिकहरूको आवाज उठाउने साझा मञ्चका रूपमा चित्रण गरे। मधेश आन्दोलन, नक्कली भुटानी शरणार्थी प्रकरण, दलित, महिला, आदिवासी जनजाति, बादी समुदाय, राउटे समुदायलगायतका विभिन्न मुद्दामा क्लबले निरन्तर बहस गर्दै आएको उनले बताए।

उनले रिपोर्टर्स क्लब पुनः सञ्चालन भएपछि जनताका आवाजलाई अझ सशक्त रूपमा उठाउने, लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता, सुशासन तथा राष्ट्रिय हितका विषयमा प्रभावकारी बहस सञ्चालन गर्ने प्रतिबद्धता जनाए।

‘रिपोर्टर्स क्लब नेपाल कुनै व्यक्ति वा समूहको संस्था होइन, यो सम्पूर्ण पत्रकारिता क्षेत्रको साझा संस्था हो। त्यसैले सरकारले यसलाई यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्छ,’ उनले भने।

उनले पत्रकार, नागरिक समाज तथा सम्बन्धित निकायलाई पनि क्लब सञ्चालनका लागि सकारात्मक भूमिका खेल्न आग्रह गरे।