पर्वत। पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा नजिकै कालीगण्डकी नदीको बीच भागमा बेवारिसे शव फेला परेको छ।
नदिले बगाएर ल्याएको अवस्थामा भेटिएको शव सशस्त्र प्रहरी बल नेपाल नं २५ गण हेडक्वाटर पर्वतबाट खटिएको टोलीले उद्धार गरी नदीबाट बाहिर निकालेको छ। उक्त शव गए रातिदेखि म्याग्दी सदरमुकाम बेनीघाट बेपत्ता बनेका बेनी नगरपालिका–४ सिंगा बस्ने ३६ वर्षीय राजु सार्कीको रहेको पुष्टि भएको छ।
उक्त शव मृतकका दाजु मानबहादुर सार्कीलाई बुझाइ शव परीक्षणका लागि प्रदेश अस्पताल म्याग्दी पठाइएको सशस्त्र प्रहरी उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।
गणपति क्षेत्रीको कमाण्डमा र्याफ्टिङ बोटसहित खटिएको १५ जनाको टोली र बागलुङबाट सशस्त्र प्रहरी उपरीक्षक मनोज खड्काको नेतृत्वमा खटिएको १० जनाको टोलीले संयुक्त रूपमा शव नदीबाहिर निकालेको थियो।


