+

‘हाइवे एक्सप्रेस’मा गुडिरहेको सरकारको गाडी ‘अटो ड्राइभ’मा त छैन ?’

२५ असार २०८३, बिहीबार १५:४१

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार हमालले विधि, सुशासन र पारदर्शितालाई बेवास्ता गर्दै अघि बढिरहेको आरोप लगाएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले सरकारले आफूलाई तीव्र गतिमा अघि बढिरहेको देखाएर संस्थागत प्रक्रियालाई बेवास्ता गरेको बताए ।

उनले भने, ‘वर्तमान सरकारले हाइवेमा एक्सप्रेस गाडी चलाएर अगाडि बढिरहेको दाबी गरेको छ । सरकारलाई विधि विधानको लेन मार्किङको अनुभूति चाहिदैन् । सरकारलाई कुनैपनि रोड लाइटको वास्ता गर्नु पदैन् ।’

उनले भने, ‘डिजिटलाइजेसनका कुरा उठी रहेको छ । अल्गोरिदमको पनि कुराहरू उठेको छ । म प्रश्न गर्न चाहन्छु कतै त्यो गाडी अटो ड्राइभमा त छैन । सरकार प्रमुख गाडीको सिटमा हुनुहुन्छ तर त्यसको सफ्टवयेर त्यसको अल्गोरिदम कसै द्वारा सञ्चालित त छैन ?’

डिजिटलाइजेसन र अल्गोरिदमको कुरा उठिरहेको बेला सरकारको निर्णय प्रक्रिया स्वतन्त्र छ कि छैन भन्ने प्रश्न उठाउँदै उनले सरकार ‘अटो ड्राइभ’मा चलेको जस्तो देखिएको बताए ।

उनले वर्तमान सरकार सुशासनको नारासहित बनेको दाबी गरिए पनि व्यवहारमा प्रतिशोधपूर्ण शैली अपनाएको आरोप लगाए। सरकारका गतिविधिले नागरिकलाई आतंकित बनाएको बताए ।

‘वर्तमान सरकार सुशासनको धरातलमा बनेको भन्ने प्रचार गरिएको छ । वर्तमान सरकारका कतिपय गतिविधिहरू प्रतिसोध पुर्न हो कि भन्ने लागेको छ । आतकित तुल्याउने गरेको छ,’ उनले भने, ‘हिजो संसद्मा प्रश्न उठेको थियो पहिला थुन्ने अनि सुन्ने भनेर मलाई त्यस्तो लाग्दैन । पहिला थुन्ने पछि जे पर्छ त्यही हेर्ने । त्यो नीतिमा सरकार गइरहेको छ । सुशासनको विषयमा गम्भीर प्रश्न उठेको छ । सुशासन सत्ता पक्षलाई लाग्दैन । सरकार प्रमुखदेखि सरकारमा रहेका व्यक्तिदेखि संंसदमा रहेका व्यक्तिहरु पारदर्शि र जवाफदेही हुनु पर्दैन् । त्यसैले शुसानको विषयमा गम्भीर प्रश्न उठ्ने ठाउँ बनेको छ ।’

उनले ‘पहिला थुन्ने, पछि जे पर्छ त्यही हेर्ने’ भन्ने नीति सरकारले अवलम्बन गरेको जस्तो देखिएको उल्लेख गर्दै सुशासनका विषयमा गम्भीर प्रश्न उठेको बताए ।

उनले सरकारलाई विधिको शासन, पारदर्शिता र जवाफदेहिताप्रति प्रतिबद्ध हुन आग्रह गरे ।