काठमाडौं। नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका तीन पूर्वपदाधिकारीलाई पक्राउ गरेको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले नेपाल बाल सङ्गठन र बाल मन्दिरमा भएको आर्थिक अनियमितता तथा ठगी प्रकरणमा सङ्लग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा नेपाल बाल सङ्गठनकी तत्कालिन योजना तथा छात्रावृत्ति शाखा प्रमुख ५४ वर्षीया आशा श्रेष्ठ, नेपाल बाल सङ्गठन ललितपुरका तत्कालिन सभापति ६२ वर्षीय ओमकृष्ण कर्माचार्य र नेपाल बाल सङ्गठन काठमाडौँका तत्कालिन सचिव ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ रहेका छन्।
ब्यूरोका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशम्शेर जबराले नेपाल बाल सङ्गठन र बाल मन्दिरको सम्पत्ति हिनामिना तथा आर्थिक अनियमितता सम्बन्धमा उच्च स्तरीय जाँचबुझ आयोगले दिएको निवेदनको आधारमा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेका तीनै जनालाई काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ।


