+

‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको ‘श्रेष्ठ सूची’ सार्वजनिक

४ श्रावण २०८३, सोमबार १२:५९

काठमाडौं। मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० कृतिको सूची (श्रेष्ठ सूची) सार्वजनिक गरेको छ। गुठीका अनुसार यस वर्ष पुरस्कारको प्रतिस्पर्धाका लागि विभिन्न विधाका कुल २९८ पुस्तक प्राप्त भएका थिए।

प्राप्त पुस्तकहरूलाई मूल्याङ्कन प्रक्रियामा लगिएपछि उत्कृष्ट १० कृतिलाई अन्तिम सूचीमा छनोट गरिएको हो। छनोट भएका कृतिहरूमा केशवराज ज्ञवालीको ‘अज्ञात’, केशव दाहालको ‘इथा’, ललित विष्टको ‘उत्कर्ष’, रोशनकुमार याको ‘नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास’ र वीणा जोशी (राजभण्डारी)को ‘नेवार समुदायका परम्परागत मुकुन्डोनाच’ रहेका छन्।

यसैगरी, उमा सुवेदीको ‘परिधि’, सीमा आभासको ‘महायुग’, श्रवण मुकारुङको ‘सलह’, डा. नवराज केसीको ‘स्वस्पर्श’ र नदीशको ‘हिउँद’ पनि उत्कृष्ट १० को सूचीमा पर्न सफल भएका छन्।

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी प्रेस विज्ञप्तिअनुसार छनोट भएका यी १० कृतिमध्येबाट उत्कृष्ट ठहरिने एक कृतिलाई वर्ष २०८२ को मदन पुरस्कार अर्पण गरिनेछ।