पेटको स्वास्थ्य कसरी सुधार्न सकिन्छ ?

बीबीसी । पेटको स्वास्थ्य कोलेस्ट्रोलको मात्रादेखि मानसिक स्वास्थ्यसम्मका सबै कुरासँग जोडिन सक्ने अनुसन्धानमा पाइएको छ। स्वास्थ्यमा पेटको भूमिकाबारेमा सचेतना बढ्दै जाँदा मानिसहरूमा यसको ख्याल गर्ने रुचि पनि बढ्दै गएको छ। पोलरिस मार्केट रिसर्चको सन् २०२१ को एक तथ्याङ्कअनुसार ‘प्रोबायटिक्स’ भनिने शरीरलाई फाइदा गर्ने सूक्ष्मजीवहरूको विश्वव्यापी बजार ६० अर्ब अमेरिकी डलर पुगेको छ। सन् २०३० सम्म यो हरेक वर्ष ७ प्रतिशतका दरले बढ्दै जाने ठानिएको छ। पेट किन स्वस्थ हुनु आवश्यक छ र तपाईँ आफ्नो पेटको अवस्थालाई कसरी सुधार्न सक्नुहुन्छ?

स्वस्थ पेट भनेको के हो ?  
पेटको संरचना निकै जटिल भएकाले स्वस्थ पेटको पहिचान गर्नु अन्य अङ्गहरूको जस्तो सहज हुँदैन। पेटको स्वास्थ्यस्थिति मापन गर्न सकिने त्यस्तो कुनै एउटा मात्रै विधि पनि छैन। हाम्रो पेट ‘माइक्रोब’ भनिने सूक्ष्म जीवाणुहरूले भरिएको हुन्छ। पेटमा यति धेरै त्यस्ता जीवाणु हुन्छन् कि तिनीहरूलाई एकसाथ राखेमा तिनीहरूको तौल १.८ किलोग्रामभन्दा धेरै हुन्छ। आन्द्रामा भरिएका सामग्रीमा पनि प्रत्येक एक ग्राममा १ खर्ब ‘ब्याक्टेरिया’ हुन्छन्। अक्स्फर्ड विश्वविद्यालयमा पेट र मस्तिष्कबीचको सम्बन्धबारे अनुसन्धान गरिरहेकी डा. केटरिना जोन्सनका अनुसार एउटा स्वस्थ पेटमा विविध समुदायका सूक्ष्म जीवाणुहरूका हुन्छन्। तर, सूक्ष्म जीवाणुसम्बन्धी विज्ञान तुलनात्मक रूपमा अहिले पनि नयाँ क्षेत्र रहेको उनी बताउँछिन्। यसको अर्थ एउटा स्वस्थ पेट कस्तो हुन्छ भन्नेबारे हामीलाई विस्तृतमा थाहा छैन। ‘हाम्रो पेटमा हजारौँ किसिमका सूक्ष्म जीवाणु छन् र तिनका पनि धेरै प्रकार छन्। तीमध्ये अधिकांशको काम के हो भन्ने हामीलाई थाहा छैन,’ उनी भन्छिन्।

स्वस्थ पेट किन आवश्यक छ?

पेटले शरीरका सम्पूर्ण अङ्गहरूलाई असर पार्न सक्ने डा. जोन्सन बताउँछिन्। मस्तिष्क र पेटबीच बलियो सञ्चार प्रणाली हुन्छ, जसलाई ‘पेट-मस्तिष्क अक्ष’ भनिन्छ। दुवै एकअर्काका लागि महत्त्वपूर्ण छन्। अध्ययनले पेटमा हुने सूक्ष्म जीवाणुहरूको अनुपस्थितिमा मस्तिष्कको विकास असमान्य किसिमको हुन पुग्ने देखाएको छ। पेटलाई कहिलेकाहीँ ‘दोस्रो मस्तिष्क’ पनि भनिन्छ किनभने ब्याक्टेरियाहरूले पेटमा रहेका १० करोड स्‍नायू कोषिकाहरू मार्फत् हाम्रो व्यवहारलाई प्रभावित गर्न सक्छन्। स्नायु कोषिकाहरू हाम्रो मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा पाइने त्यस्ता कोषिका हुन्, जसले हाम्रो शरीरलाई कस्तो व्यवहार गर्ने भनेर बताउँछ। हाम्रो पेटले मस्तिष्कमा पाइने ‘सेरटनिन’जस्ता न्युरोट्रान्स्मिटरहरूको उत्पादन गर्ने भएकाले मनस्थिति नियन्त्रणमा पनि भूमिका खेल्छ। सामान्यतया: पेटको भूमिका खानाबाट पोषक तत्त्वहरू सोस्नु हो भन्ने बुझाइ छ। ‘हामीले दिसामा पानी र खनिज गुमाउन सक्दैनौँ,’ भारतस्थित पेट र आन्द्रासम्बन्धी रोगका विशेषज्ञ चिकित्सक डा. वेङ्कटरमण कृष्ण भन्छन्।

बेलायतमा ‘द गट हेल्थ डक्टर’ अर्थात् पेटसम्बन्धी चिकित्सक भनेर चिनिएकी डा. मेगन रोशी सूक्ष्म जीवाणुहरूको असन्तुलनले मुटु र श्वासप्रश्वाससँग सम्बन्धित रोगहरूदेखि प्रतिरक्षा प्रणालीसम्ममा असर गर्ने बताउँछिन्। उनी यी सूक्ष्म जीवाणुहरू गठिया बाथ (जोर्नी सुन्निएर दुख्ने समस्यासहितको बाथ) जस्ता ७० भन्दा धेरै जटिल स्वास्थ्य अवस्थासँग सम्बन्धित रहेको बताउँछिन्। डा. रोशी पेटमा करिब ७० प्रतिशत प्रतिरक्षा कोषिकाहरू रहेको र तिनीहरूले शरीरको प्रतिरक्षा प्रणालीसँग निरन्तर सञ्चार गरिरहने बताउँछिन्। त्यसैले स्वस्थ पेट भएका मानिसहरूको प्रतिरक्षा प्रणाली पनि बलियो हुने गरेको उनी बताउँछिन्।

पेटको अवस्था कसरी सुधार्न सकिन्छ?
सन् २०१८ को ‘अमेरिकी गट प्रोजेक्ट’ परियोजनाको अनुसन्धानलाई आधार मान्दै विज्ञहरूले विविध किसिमका पेटका जीवाणुहरू पाउनका लागि हरेक साता ३० फरकफरक किसिमका वनस्पतिजन्य खानेकुरा सेवन गर्न सिफारिस गरेका थिए। यसमा फलफूल र तरकारी मात्रै नभएर गेडागुडी, मसला र बदामजस्ता वस्तुहरू पनि पर्छन्।डा. रोशी पकाउने प्रक्रियामा थोरै परिवर्तन गर्न र थप विविधताका निम्ति बजारमा फरकफरक किसिमका फलफूल खोज्न सिफारिस गर्छिन्।’तपाईँले आफ्नो बिहानको खाजामा ओट्सको सट्टा ‘कीन्वा’ राखेर वा त्यसमाथि बेरी र बियाँजस्ता कुराहरू राखेर त्यसको मात्रा बढाउन सक्नुहुन्छ?,’ उनी भन्छिन्। 

‘के तपाईँ साप्ताहिक रूपमा खाने मासुको केही मात्रालाई फाइबरयुक्त दालसँग साट्न सक्नुहुन्छ?’बेलायतको नेशनल हेल्थ सर्भिसका अनुसार फाइबरयुक्त खानाले हामीलाई अघाएको महसुस गराउने मात्रै नभएर पाचनलाई सहज बनाउनुका साथै अपच हुनबाट पनि बचाउँछ। यसले वयस्क मानिसलाई दैनिक ३० ग्राम फाइबर खान पनि सिफारिस गर्छ। मैदाको सट्टा गहुँको रोटी छान्ने र खैरो चामल वा गहुँको पास्ता छान्ने हो भने त्यसले पनि हाम्रो खानामा फाइबरको मात्रा बढाउँछ।

फाइबरका अन्य स्रोतहरूमा पोलेको आलुजस्ता बोक्रासहितको आलुको परिकारका साथै बोडी, दाल र चनाजस्ता गेडागुडी पनि पर्छन्। यिनीहरूलाई उसिनेर, तरकारी र सलादमा राखेर खान सकिन्छ। प्रीबायटिकयुक्त खाना (निश्चित किसिमका फाइबर र कार्बोहाइड्रेट)ले पेटमा हुने राम्रा ब्याक्टेरियाको वृद्धिलाई प्रोत्साहन गर्ने पाइएको छ। यस्ता खानाहरूमा केरा, प्याज, लसुन, बन्दाकोभी, ओट्स, कुरिलो, ब्लूबेरी र अङ्गुरलगायत पर्छन्। पाकिस्तानकी पेट र आन्द्रासम्बन्धी रोग विशेषज्ञ डा. हनिशा खेमानीका अनुसार २० वर्षको उमेरसम्म सन्तुलित र पोषयुक्त खाना खानु दीर्घकालीन स्वास्थ्यका लागि महत्त्वपूर्ण छ।

‘संवेदनशील समयमा खाइने खानाले नै दीर्घरोग विकास हुने जोखिमलाई प्रभावित गर्ने, मानसिक र संज्ञानात्मक स्वास्थ्यमा असर गर्नुका साथै समग्रमा दशकौँपछि सम्मको स्वास्थ्यलाई प्रभाव पार्छ,’ उनी भन्छिन्। व्रत बस्नु वा रातिको खाना र बिहानको खाजाबीचमा कम्तीमा १२ घण्टाको अन्तर राख्नुले पनि पेटमा हुने जीवाणुहरूलाई फाइदा पुर्‍याउने लन्डनस्थित किङ्स कलेजका प्राध्यापक टिम स्पेक्टरले आफ्नो पुस्तक ‘स्पून-फेड: ह्वाई अल्मस्ट एभ्रिथिङ् वी ह्याभ बीन टोल्ड अबाउट फूड इज रङ’ मा लेखेका छन्।

पेटको स्वास्थ्यका लागि कुन खाना बेठिक ?
डा. कृष्ण अतिप्रशोधित खाना, मदिरा र सुर्ती पेटका लागि ठिक नहुने बताउँछन्। अतिप्रशोधित खानामा ‘राम्रा’ ब्याक्टेरियालाई घटाउने वा ‘नराम्रा’ ब्याक्टेरिया बढाउने तत्त्वहरू हुन्छन्। डा. कृष्ण हानिकारक भाइरस र ब्याक्टेरियाबाट बच्न सडकमा बेचिने अस्वस्थकर खाना नखाने र फलफूल तथा तरकारी धोएर खानुपर्ने बताउँछन्।तनावले पनि पेटमा प्रभाव पार्छ र अम्लको निर्माण तथा अल्सर हुने जोखिमलाई बढाउँछ। डा जोन्सनका अनुसार धेरै तनावमा हुने मानिसमा निकै कम प्रकारका मात्र सूक्ष्म जीवाणुहरू हुन्छन्।

के प्रोबायटिक्स र घरेलु परीक्षणले काम गर्छ ?
विज्ञहरू प्रोबायटिक्सको प्रयोग कुनै निश्चित कारणका लागि गर्दा त्यसले काम गर्ने बताउँछन्। ‘निश्चित अवस्थाका लागि निश्चित आवश्यकता र निश्चित समयका निम्ति लिनुपर्ने हुन्छ,’ डा. मेगन रोशी भन्छिन्। ‘तपाईँले बेच्न राखिएको प्रोबायटिक्स सामग्रीले पेटको स्वास्थ्य सुधारका लागि सहयोग गर्छ भन्ने कुनै प्रमाण छैन। त्यसको विपरीत हामीलाई बेचिएका ती सामग्रीहरू हरेक दिन खानुपर्छ भन्ने पनि छैन।’ कतिपय देशमा कम्पनीहरूले प्रयोगशालामा दिसाको परीक्षणका लागि नमुना पठाउँदा पेटको स्वास्थ्यको परीक्षणको पनि प्रस्ताव गर्छन्।

डा. रोशी यस्ता परीक्षणहरूले पेटमा रहेका फरकफरक किसिमका जीवाणुहरूको जानकारी प्रदान गर्नेबाहेक कम्पनीले दाबी गरेजस्तो अन्य कुनै पनि किसिमको फाइदा नदिने बताउँछिन्। ब्रिटिश चिकित्सक तथा टेलिभिजन प्रस्तोता डा. ज्यान्ड पैसा तिरेअनुसारको गुणस्तर यस्ता सेवामा पाउन कठिन रहेकोमा सहमत छन्। ‘उनीहरूले तपाईँलाई साधारण सुझाव दिन्छन् र त्यो कुनै प्रमाणमा आधारित हुँदैन,’ उनी भन्छन्, ‘मचाहिँ पैसा बचत गर्नुहोस् र पेटमा समस्या देखिएमा आफ्ना चिकित्सककहाँ जानुहोस् भन्छु।’

ओनुर एरेम
बीबीसी ।

ललितपुरमा चार जनामा हैजा पुष्टि

काठमाडौँ । ललितपुरमा चार जनामा हैजाको सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा हैजा पुष्टि भएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखाका प्रमुख डा मुकेश पौडेलले जानकारी दिए ।

हैजा पुष्टि भएका सबै युवा ललितपुरको गोदावरी नगरपालिका–१४ मा स्थिति सुधार केन्द्रका हुन् । उनीहरुमध्ये दुई जना उपचारका क्रममा भागेका छन् भने अन्य दुईजनामध्ये एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र अर्को एक जनाको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

ललितपुर जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले सुधार केन्द्रमा रहेका युवामा एक्कासी झाडापखाला देखिएको र परीक्षण गराउँदा हैजा पुष्टि भएको बताए ।

उहाँले झाडापखाला फैलिएको क्षेत्रमा सङ्घ, प्रदेश र स्थानीय तहको सहयोगमा सङ्क्रमण रोकथाम गरिएको जानकारी दिए । शाखाका प्रमुख डा पौडेलले सुधार केन्द्रमा इनारको पानी प्रयोग गरिएको र उक्त पानी दुषित रहेको बताउनुभयो । “इनारको पानीमा दिसाको जीवाणु देखियो”, उनले भने, “त्यहीबाट हैजा फैलिएको हो ।”

उनले भागेका दुई जनालाई हैजाको प्रारम्भिक उपचार गरेकाले उनीहरुबाट अन्यमा सर्ने सम्भावना कम भएको बताए । उनले बर्खायामसँगै पानीजन्य रोग बढ्ने भएकोले पानी उमालेर खान अनुरोध गरेका छन् ।

मृत्यु हुँदा हाम्रो मस्तिष्कमा के हुन्छ ?

मृत्यु जीवनको अभिन्न अङ्ग हो। यद्यपि स्नायुवैज्ञानिक (न्यूरोसाइन्टिस्ट) जिमो बोर्जिगिन मृत्युको क्षणमा मस्तिष्कमा के हुन्छ भन्ने विषयमा हामीलाई ‘केही पनि थाहा नभएको’ देखेर आश्चर्यचकित भइन्। झन्डै एक दशकअघि उनलाई ‘संयोगवश’ त्यस्तो अनुभूति भएको थियो । ‘हामी मुसाहरूमा प्रयोग गरिरहेका थियौँ। हामी शल्यक्रियापश्चात् तिनको मस्तिष्कमा हुने न्यूरोकेमिकलको स्राव निगरानी गरिरहेका थियौँ,’ उनले भनिन्। अचानक तीमध्ये दुइटा मुसाको मृत्यु भयो।यसले उनलाई ती मुसाहरूको मस्तिष्कको मृत्यु प्रक्रिया नियाल्ने अवसर दियो।

‘एउटा मुसामा अत्यधिक मात्रामा ‘सेरटोनिन’ निस्केको देखियो। कतै त्यो मुसा भ्रान्तिमा पो परेको थियो कि?’ उनलाई लाग्यो। ‘सेरटोनिनको सम्बन्ध भ्रान्ति (हलूसिनेशन)सँग हुन्छ,’ उनी भन्छिन्। सेरटोनिन मनस्थिति नियन्त्रण गर्ने जैविक रसायन हो। त्यसको मात्रा ह्वात्तै बढेको देखेर उनको जिज्ञासा पनि बढ्यो। ‘त्यसपछि मैले सप्ताहान्तको समयमा उक्त विषयमा अनुसन्धानमूलक सामग्रीहरू छन् कि भनेर सन्दर्भ सामग्री खोज्न थालेँ। तर मृत्यु प्रक्रियाका बारेमा हामीलाई निकै कम ज्ञात रहेछ भन्ने थाहा पाउँदा मलाई निकै अचम्म लागेको थियो।’

त्यसपछि आफू मानिसको मृत्यु हुँदाको क्षणमा मस्तिष्कमा के हुन्छ भन्नेबारे अनुसन्धान गर्न समर्पित गरेको उनी बताउँछिन्। बोर्जिगिन संयुक्त राज्य अमेरिकाको यूभिभर्सिटी अफ मलेक्युलर तथा इन्टग्रटिभ फिजिओलजी र न्यूरोलजीकी प्राध्यापक हुन्। आफूले पत्ता लगाएको कुरा पहिले अनुमान गरिएकोभन्दा विपरी रहेकी बोर्जिगिन बताउँछिन्।

मृत्यु के हो

उनका अनुसार ‘कार्डियाक अरेस्ट’ अर्थात् हृदयाघात भएपछि कसैको नाडी चलेको छैन भने उक्त व्यक्तिको मृत्यु भएको मान्ने निकै पुरानो चिकित्सकीय मान्यता थियो। यो विधिमा सम्पूर्ण ध्यान हृदय अर्थात् मुटुमा केन्द्रित हुन्छ। ‘यसलाई ‘कार्डियाक अरेस्ट’ भनिन्छ, ‘ब्रेन अरेस्ट’ भनिँदैन।’ ‘कुनै प्रतिक्रिया नजनाउने भएकाले यस्तो अवस्थामा मस्तिष्कले काम गर्न बन्द गरेको भन्ने वैज्ञानिक बुझाइ छ। त्यस्तो अवस्थामा पुगेका मानिसहरू बाेल्न, उभिन वा बस्न सक्दैनन्।’

मस्तिष्कलाई काम गर्न धेरै मात्रामा अक्सिजन चाहिन्छ। मुटुले रक्तसञ्चार गर्न सकेन भने अक्सिजन पनि त्यहाँ पुग्दैन।’त्यसैले यी सतही सङ्केतहरूले अब मस्तिष्कले काम गरिरहेको छैन भन्ने देखाउँछन् वा मस्तिष्क अतिसक्रिय होइन, अतिनिष्क्रिय अवस्थामा छ भन्ने देखाउँछन्,’ उनी भन्छिन्। तर उनको समूहले गरेको अनुसन्धानमा भने केही फरक पाइएको छ।

मस्तिष्कको अतिसक्रिय अवस्था
सन् २०१३ मा मुसाहरूमा गरिएको एउटा अध्ययनमा वैज्ञानिकहरूले ती जीवका मुटुले काम गर्न छाडेपछि पनि केही ‘न्यूरोट्रान्स्मिटर’मा अत्यधिक गतिविधि भएको पाएका थिए। ‘सेरटोनिन ६० गुनाले बढेको थियो। अनि तपाईँ हामीलाई आनन्द अनुभूति गराउने ‘डोपमीन’ नामक रसायन पनि अत्यधिक मात्रा, झन्डै ४० देखि ६० गुनाले, बढेको थियो।’ ‘अनि तपाईँलाई चनाखो बनाउने ‘नोरेपिनेफ्रिन’ पनि १०० गुनाले बढेको थियो।’ उनी मुसा जीवित हुँदा ती रसायन त्यति उच्च मात्रामा पुग्ने सम्भावना नभएको बताउँछिन्। सन् २०१५ उनको टोलीले मर्दै गरेका मुसाको मस्तिष्कबारेको अर्को शोधपत्र पनि प्रकाशित गर्‍यो। ‘दुवै घटनामा सबै मुसाले अत्यधिक कार्यात्मक मस्तिष्क सक्रियता देखाए,’उनी भन्छिन्। ‘मस्तिष्कमा ‘हाइपरड्राईभ’मा हुन्छ, अतिसक्रिय अवस्थामा हुन्छ।’

गामा तरङ्ग

सन् २०२३ मा अर्को अनुसन्धान पनि प्रकाशित भयो। त्यसमा उनीहरूको अध्ययन ‘काेमा’मा पुगेपछि ‘लाइफ सपोर्ट’ मा राखिएका चार बिरामीमा केन्द्रित थियो। ती बिरामीको मस्तिष्कको गतिविधि ‘स्क्यान’ गर्न ‘इलेक्ट्रोएन्सेफलग्राफी इलेक्ट्रोडहरू’ जडान गरिएको थियो। यी चारै जना मृत्युशय्यामा थिए। चिकित्सक र परिवारजनले ती चार जनालाई बचाउन नसकिने ठाने। परिवारको सहमतिपछि ती चार जनालाई जीवित राख्न चलाइएको भेन्टिलेटर बन्द गरियो। अनुसन्धाताहरूले तीमध्ये दुई बिरामीको मस्तिष्क अतिसक्रिय रहेको पाए। त्यो मस्तिष्कको ‘सङ्ज्ञानात्मक कार्य’ को सङ्केत हो। त्यस क्रममा मस्तिष्कका सबैभन्दा तीव्र गतिका तरङ्गहरू अर्थात् ‘गामा तरङ्ग’ पनि पाइएको थियो। गामा तरङ्गहरू जटिल सूचनाको प्रशाेधन र स्मृतिसँग सम्बन्धित हुन्छन्। एक बिरामीको मस्तिष्कका दुवै छेउमा भएका ‘टेम्परल लोब’ उच्च गतिविधि देखिएको थियो।

डा बाेर्जिगिन दाहिने ‘टेम्पोरोपराइअटल जङ्क्शन’ समानुभूतिका लागि महत्त्वपूर्ण हुने औल्याउँछिन्। ‘हृदयाघात भएर बाँचेका धेरै बिरामी र ‘निअर-डेथ इक्स्पिअरिअन्स’ (एनडीई) [मृत्यु भए जस्तो अनुभूति] भोगेका मानिसले आफू पहिलाको भन्दा असल व्यक्ति बनेको र अरूप्रति समानुभूति राख्न सकेको बताउँछन्।’

मृत्यु भए जस्तो अनुभूति

मृत्यु भए जस्तो अनभूति ‘एनडीई’ भएका केही मानिसले आँखैअगाडि आफ्नो जीवनको झल्को देखेको वा महत्त्वपूर्ण क्षणहरू सम्झिएको बताउँछन्। कोहीकोही निकै चम्किलो उज्यालो देखेको बताउँछन् भने कतिपयले शरीर छोडेर बाहिर निस्किए जस्तो अनुभव भएको अनि माथिबाट सबै कुरा हेरे जस्तो लागेको बताउँछन्। के डा बाेर्जिगिनले अध्ययन गरेको अतिसक्रिय मस्तिष्कले मृत्युको सँघारमा हुँदा मानिसहरू कि त्यस्ता सघन अनुभव गर्छन् भन्ने स्पष्ट पार्न सक्छ? ‘हो, मलाई व्याख्या गर्न सक्छ जस्तो लाग्छ,’ उनी भन्छिन्।

‘हृदयाघात भएपछि जीवित रहेका २० देखि २५ प्रतिशत मानिसले सेतो प्रकाश वा अरू केही देखेको बताएका छन्। त्यसले [मस्तिष्कको] ‘भिजूअल कोर्टेक्स’ सक्रिय भएको सङ्केत गर्छ।’ मस्तिष्कको उक्त भागले आँखाको पर्दा ‘रेटिना’ बाट प्रसारित दृश्यात्मक सूचना प्राप्त गर्छ अनि संयोजन र प्रशोधन गर्छ। भेन्टिलेटर बन्द गरिएपछि मस्तिष्कमा उच्च सक्रियता देखिएका दुई बिरामीको हकमा भने सचेत हुँदाको दृष्टिलाई सहयोग गर्ने ‘भिजूअल काेर्टक्स’मा निकै गतिविधि भएको बोर्जिगिन बताउँछिन्। ‘सम्भवतः त्यस त्यसको सम्बन्ध दृश्यात्मक अनुभूतिसँग हुन्छ,’ उनी भन्छिन्।

एउटा नयाँ अवधारणा

मानिसमा गरिएको अध्यनन निकै सानो भएको भन्दै डा बाेर्जिगिन हाम्रो मृत्यु हुँदै गर्दा मस्तिष्कमा के हुन्छ भन्ने जान्न थप अनुसन्धान आवश्यक रहेको बताउँछिन्। तर यही क्षेत्रमा १० वर्षभन्दा धेरै समयदेखि अनुसन्धान गरिरहेकाले उनी एउटा कुरामा भने स्पष्ट छिन्। ‘मलाई लाग्छ हृदयाघातका क्रममा मस्तिष्क अतिनिष्क्रिय हुनुको सट्टा अतिसक्रिय अवस्थामा हुन्छ।’

तर मस्तिष्कलाई अक्सिजन प्राप्त नगरेको महसुस हुँदा के हुन्छ?

‘हामी त्यही बुझ्ने प्रयास गर्दै छौँ। यसबारे प्रकाशित सामग्री खासै केही छैन। साँच्चै भन्नुपर्दा केही पनि थाहा छैन,’ उनी भन्छिन्। ‘हाइबर्नेशन’ अर्थात् शीतनिद्राको प्रसङ्ग निकाल्दै उनी त्यसबारे आफ्नो एउटा सिद्धान्त भएको र आफूले त्यसलाई अनुसरण गरेको बताउँछिन्। ‘कम्तीमा मुसा र मानवजस्ता जीवमा अक्सिजनको कमी हुँदा क्रियाशील हुने एउटा आन्तरिक संयन्त्र हुन्छ।’  ‘अहिलेसम्म मस्तिष्कलाई हृदयाघातको परिणाम भाेग्नुपर्ने निर्दोष साक्षी मानिएको छ। मुटुले काम गर्न छाडेपछि मस्तिष्क पनि मर्छ। मस्तिष्कले केही गर्न सक्दैन र मर्छ भन्ने नै अहिलेसम्मको बुझाइ हो।’ तर वास्तवमै त्यसै हुन्छ भन्नेमा वैज्ञानिकहरू ढुक्क नभएको कुरामा उनी जोड दिन्छिन्।

उनी मस्तिष्कले त्यति सजिलै हार नमान्ने र अरू सङ्कटहरूमा जस्तै मस्तिष्कले सङ्घर्ष गर्ने उनको धारणा छ। ‘शीतनिद्रा एउटा राम्रो उदाहरण हो। मलाई लाग्छ त्यसले मस्तिष्कमा अक्सिजनको अभावमा पनि जीवित रहन सक्ने संयन्त्रहरू छन् भन्ने देखाउँछ। तर त्यसबारे अनुसन्धान हुन बाँकी छ।’

अझै धेरै जान्न बाँकी छ
डा बाेर्जिगिन आफू र आफ्नो टोलीले अहिलेसम्म अध्ययनबाट पत्ता लगाएको कुरा निकै सानो भएको र अझ धेरै कुरा पत्ता लाग्न बाँकी भएको ठान्छिन्। ‘मस्तिष्कमा ‘हाइपोक्सिआ’ (मस्तिष्कमा अक्सिजनको कमी हुँदाको अवस्था)सँग जुध्न आन्तरिक संयन्त्रहरू छन् भन्ने मलाई लाग्छ। हामीले तिनलाई बुझ्न सकेका छैनौँ।’ ‘त्यसैले हामीलाई हृदयाघात भएका मान्छेहरूलाई अद्भुत, आत्मपरक अनुभव हुन्छ भन्ने सतही कुरा थाहा छ। अनि हाम्रो तथ्याङ्कले त्यस्तो अनुभूति मस्तिष्कको गतिविधि उच्च भएकाले हुन भन्ने देखाउँछ।’ ‘अबको प्रश्न यो हो : मृत्यु हुँदै गरेको मस्तिष्कमा किन उच्च गतिविधि हुन्छ? ‘ ‘यसबारे बुझ्न, अध्ययन गर्न, अनुसन्धान गर्न र पत्ता लगाउन हामी एकजुट हुनुपर्छ। किनभने हामीलाई मृत्यु कसरी हुन्छ भन्ने थाहा नभए पनि हामीले लाखौँ मानिसको मृत्यु भएको भनेर अपरिपक्व निर्णय गरेका हुन सक्छौँ।’

मार्गरिटा रोड्रिगेज

बीबीसी

जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र

झापा । मेचीनगर नगरपालिका–१३ चारआली स्थित सर्पदंश उपचार केन्द्रले दुई दशकमा २० हजारभन्दा बढी मानिसलाई अकाल मृत्युबाट बचाएको छ ।

नेपाली सेना र समुदायको साझेदारीमा सञ्चालित २५ शय्याको उपचार केन्द्रमा इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुमबाट मात्र नभएर छिमेकी मुलुक भारत पश्चिम बङ्गालको दार्जीलिङ, सिलीगुढी र बिहारको किशनगञ्ज र ठाकुरगञ्जसम्मका सर्पदंशका बिरामी आउने गर्छन् । यहाँ सबै प्रकारका विषालु सर्पले डसेको उपचार हुन्छ ।

सञ्चालक समितिका अध्यक्ष दुर्गा भट्टराई सानो र कम सुविधायुक्त भएता पनि जनविश्वास अन्तर्राष्ट्रियस्तरमा फैलिएको कारण सर्पदंश उपचार केन्द्रको स्तरोन्नतिमा राज्यको ध्यान दिनुपर्ने बताए । उनले केन्द्रलाई सेनाले जग्गा र प्राविधिक सहयोग गरिरहेको जानकारी दिए। आफ्नो ब्यारेकभित्र रहँदै आएको यस उपचार केन्द्रलाईसेनाले विसं २०६० चैत ५ गते समुदायलाई हस्तान्तरण गरेको थियो ।

त्यसअघि सैनिकहरूलाई सर्पले डसेमा शीघ्र उपचार गर्न ब्यारेकभित्र सानो युनिट सञ्चालनमा रहेको थियो । गैरसैनिक व्यक्तिलाई सर्पले डसेमा उपचारका लागि ब्यारेकभित्रै लगिन्थ्यो । बिरामीको चाप बढ्दै गएपछि सेनाले समुदायलाई नै यसको जिम्मा दिएको हो ।

मेचीनगरको चारआलीमा चन्द्रगढी जाने सडकमा पायक पर्नेगरी सेनाले उपचार केन्द्रका लागि जग्गा उपलब्ध गराएपछि तत्कालीन चन्द्रगढी गाविसका अध्यक्ष दुर्गा भट्टराईको नेतृत्वमा उपचार केन्द्रका लागि सहयोग जुटाउने अभियान चल्यो । उहाँकै अध्यक्षतामा गठित समितिले केन्द्रको भवन र अन्य सुविधा थप्ने कार्य गर्यो ।

उपचार केन्द्र मानिसहरूको जीवन बचाउने थलो बन्दै गएको छ । मेचीनगरले यसका लागि भवन बनाउनदेखि सञ्चालनका लागि विभिन्न समयमा सहयोग पुर्याउँदै आएको मेचीनगर नगरपालिकाका नगरप्रमुख गोपालचन्द्र बुढाथोकी बताए ।

“सर्पदंश उपचार केन्द्र मेचीनगरको गौरव गर्नलायक संस्था हो”, उनले भने, “जुन ढङ्गले बिरामीको चाप बढिरहेको छ । त्यसअनुरुप सेवा र सुविधाको विस्तार गर्न आवश्यक भइसकेको छ । अब यसको स्तरोन्नतिका लागि नयाँ योजना र सङ्कल्पको खाँचो छ ।”

झापा र इलामका सबै पालिकाले बैठक गरेर वार्षिक रु दुईदेखि पाँच लाखसम्म अनुदान दिने हो भने चारआलीको सर्पदंश उपचार केन्द्र मुलुककै नमूना अस्पताल बन्ने र त्यसका लागि आफू समन्वय गर्न तयार रहेको उहाँले जानकारी दिए।

मेचीनगरले यस संस्थाको स्तरोन्नतिका लागि प्रदेश सरकारसँग समन्वय गरेर बजेटको व्यवस्था गर्दै आएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि प्रदेश सरकारबाट प्राप्त योजना तथा कार्यक्रमका लागि सशर्त अनुदानस्वरुप नगरले रु १५ लाख बजेट तथा नीति कार्यक्रममा समावेश गरेको छ । नगर प्रमुख बुढाथोकीले केन्द्रको स्तरवृद्धिका नयाँ योजना बनाउन समितिका पदाधिकारीलाई आग्रह गरिसकेको बताए ।

सर्पदंश उपचार केन्द्रमा बिरामीको चाप दिनानुदिन बढिरहेको छ । यो साता उपचारका लागि आएका ८० प्रतिशत इलामका थिए । बिगतमा झापाका बिरामी धेरै हुने गरेको अहिले इलामका बिरामी बढेका छन् ।

बर्सेनि एक हजारभन्दा बढीले उपचार पाइरहेको केन्द्रबाट यही वैशाखमा ६१, जेठमा एक सय २३ र असारमा ९३ जनाले उपचार सेवा लिएका छन् । विसं २०८० मा सर्पले डसेका नौ सय७६ जनाले केन्द्रबाट उपचार प्राप्त गरेको अध्यक्ष भट्टराईले जानकारी दिए ।

इलामको सूर्योदय वडा नं १ का ३९ वर्षीय दिनेश तामाङले यही उपचार केन्द्रका कारण आफूले नयाँ जीवन पाएको बताए। उनलाई केही दिनअघि घाँस काट्ने क्रममा गुर्बे सर्पले डसेको थियो ।

मेचीनगर–१५ का ५१ वर्षीय जुपुई हेमरमलाई पनि गत साता ओछ्यानमै विषालु सर्पले डस्यो । तत्कालै उहाँलाई मोटरसाइकलमा चढाएर यस उपचार केन्द्रमा ल्याइएका कारण उनको ज्यान बच्यो ।

हिउँदमा गुप्तबास बस्ने गरेका सर्प बर्खायाममा जमिनको सतहमा आहाराका लागि निस्कन्छन् । ओसिलो, पाखो र कुनाकाप्चा खोज्दै जाने सर्पसँग जम्काभेट हुँदा मानव–सर्प द्वन्द्व हुने गरेको छ । यसका कारण नेपालमा बर्सेनि सयौँले ज्यान गुमाउने गरेका छन् ।

पहाडमा गुर्बे र हरेउ सर्प विषालु हुन्छन् भने तराईमा गोमन र करेत अत्यधिक विषालु हुन्छन् । उपचार नपाएमा गोमनले डसेको केही घण्टाभित्रै मानिसको मृत्यु हुने गर्छ । बेलैमा भरपर्दो अस्पताल वा चिकित्सकको सम्पर्कमा पुर्याए सर्पदंशका सबै बिरामी उपचारबाट बाँच्ने नेपाली सेनाका चारआलीस्थित अरिदम गणका स्वास्थ्य प्राविधिक कृष्ण थापा बताउँछन् ।

केन्द्रका अध्यक्ष भट्टराईले विसं २०६० चैत ५ गतेदेखि नेपाली सेनाले समुदायलाई हस्तान्तरण गरेको यस उपचार केन्द्रबाट दुई दशकमा २० हजारभन्दा बढी सर्पदंशका घाइतेले सफल उपचार पाएको बताए।

केन्द्रले बिरामीको दर्ता शुल्क रु एक सय र साधारण उपचार सेवा शुल्क रु छ सय मात्र लिने गरेको छ । उपचारका लागि बस्दा बेड शुल्क रु एक सय, पाँच भाइलसम्म औषधि ९एन्टी स्नेक भेनम सिरम०को रु एक हजार पाँच सय र पाँच भाइलभन्दा जतिसुकै धेरै लागे पनि रु तीन हजार मात्र शुल्क लिने गरिएको केन्द्रले जनाएको छ ।

विपन्न र असहाय बिरामीका लागि निःशुल्क उपचार गर्दै आएको उनले जानकारी दिए । “समुदायको सहयोगबाट चलिरहेको उपचार केन्द्र भएकाले बिरामीबाट सामान्य व्यवस्थापन शुल्क मात्र लिने गरेका हौँ”, उनले भने।

कोशी प्रदेशमा १३ सर्पदंश उपचार केन्द्र रहेकामा यस जिल्लामै चारवटा रहेका छन् । चारआलीस्थित सेनाको ब्यारेक परिसरमा रहेको सर्पदंश उपचार केन्द्र कोशी प्रदेशकै सबैभन्दा ठूलो उपचार केन्द्र हो ।

चिमखोलामा नयाँ स्वास्थ्यचौकी भवन निर्माण

म्याग्दी । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा स्वास्थ्यचौकी भवन निर्माण भएको छ । रघुगङ्गा गाउँपालिकाले एक करोड ६७ लाख लागतमा स्वास्थ्यचौकीको भवन निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा सुरु भएको भवन निर्माण योजना चालु आवमा सम्पन्न भएको गाउँपालिकाको प्राविधिक शाखाका प्रमुख कमलबहादुर चोखालले जानकारी दिए ।

सो भवन बनाउन निर्माण कम्पनीले रु ९७ लाख ७१ हजार दुई सय ५० मा २०८० वैशाख २६ गते सम्झौता गरेको थियो । आव २०७८/७९ मा  ६९ लाख ५६ हजार आठ सय ७६ मा सम्झौता गरी जग्गा व्यवस्थापन र एकतले भवनको संरचना तयार पारेको थियो ।

पछिल्लोपटक भएको ठेक्का सम्झौतामार्फत पहिलो भुइँ तलाको प्लास्टर, पहिलो तलामा दुई कोठा, पर्खाल निर्माण, तारबार, रङरोगन, विद्युत् पानी जडानको काम भएको िनिर्माण कम्पनीका सञ्चालक विजय भट्टचनले बताए ।

भुइँ तलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल भएको भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । भवन निर्माण गर्न स्थानीयवासीको  १० लाख र रघुगङ्गा गाउँपालिकाको  १० लाख बजेटमा पाँच रोपनी जग्गा खरिद गरिएको थियो ।

नयाँ भवन हस्तान्तरण भएपछि सेवा सञ्चालनको तयारी गरेको रघुगङ्गा–७ का वडाध्यक्ष थकबहादुर पाइजाले बताए । हाल साँघुरो कोठा भएको कच्ची भवनबाट स्वास्थ्यचौकी सञ्चालन हुँदै आएको छ ।

यसअघि गत वर्ष रघुगङ्गा –४ दग्नाम र ५ झिँमा सहरी विकास तथा भवन आयोजना बागलुङले स्वास्थ्यचौकी भवन निर्माण गरेको थियो । आठ वडा रहेको रघुगङ्गाको वडा नं १ बेगबाहेकका वडामा रहेका स्वास्थ्यचौकीको निर्माण भएको छ ।

कास्कीलाई पूर्णखोप सुनिश्चित घोषणा

कास्की । कास्की जिल्लालाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिकाअनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्णखोप जिल्ला घोषणा गरिएको हो ।

जिल्लास्तरीय खोप समन्वय समिति र जिल्ला स्वास्थ्य कार्यालयले बिहीबार पोखरामा एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेका हुन् ।

स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्याङ्क सङ्कलन गरी खोप लगाइएको जानकारी दिए ।

उनका अनुसार जिल्लाका पाँच पालिकाका ७२ वडाका कुल ३० हजार ७४ बालबालिकाले पूर्ण रूपमा खोप पाएको सुनिश्चित भएपछि जिल्लालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । ‘एकपटक पूर्णखोप घोषणा गरिसकेपछि हरेक वर्ष नयाँ थपिने बालबालिकाहरूले समेत खोपको मात्रा पूरा गरेको सुनिश्चित गरेर मात्र सुनिश्चितता तथा दिगोपना घोषणा गर्ने गरिन्छ,’स्वास्थ्य कार्यलयका प्रमुख नेपालीले भन्ने ।

कास्की जिल्लालाई विसं २०७५ असार २७ गते पहिलोपटक पूर्ण खोप घोषणा गरेपश्चात नयाँ जन्मने तथा अन्यत्रबाट जिल्लामा आई बसोबास गर्ने सबै बालबालिकाले पाउनुपर्ने सबै खोप पाएको पाएको उनले बताए ।

स्थानीय तहका वडाहरूबाट स्वास्थ्यकर्मीको सङ्लग्नतामा तयारी र योजनासहित घरपरिवार सर्वेक्षण गरी सर्वेक्षणको क्रममा खोप पूरा नगरेका बालबालिका भेटिए तत्काल खोप लगाउने व्यवस्थासमेत मिलाई सबै बालबालिकाले उपलब्ध सबै खोप पाएको सुनिश्चत गरेपछि वडा घोषणा गरिन्छ । सबै वडा घोषणा भएपछि पालिका र सबै पालिका घोषणा भएपछि जिल्ला घोषणा गर्ने गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा घरपरिवार सर्वेक्षणका क्रममा भेटिएका खोप पूरा नगरेका एक सय ४० जना बालबालिकालाई खोप लगाइएको थियो । यसैगरी १५ महिनासम्मका सात हजार दुई सय २७ जना बालबालिकालाई पनि खोप लगाइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी १६ महिनादेखि पाँच वर्षसम्मका २२ हजार आठ सय ४७ बालबालिकालाई खोपको पहुँचमा ल्याइएको छ । कास्की जिल्लामा पाँचवटै स्थानीय तहहरूमा रहेका स्वास्थ्य संस्था तथा खोप केन्द्रमार्फत नियमित खोप सेवा प्रदान हुँदै आएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्यमन्त्री बिन्दुकुमार थापाले खोपले बालबालिकालाई विभिन्न रोगबाट सुरक्षित रहन महत्त्वपूर्ण भूमिका खेल्ने बताए । गण्डकीका सबै जिल्ला पूर्णखोप सुनिश्चित जिल्ला घोषणापछि छिट्टै गण्डकी पूर्णखोप सुनिश्चित प्रदेश घोषणा गरिने जानकारी दिए ।

जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक लीलाधर पौडेलले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए । यसअघि जिल्लामा रहेका पाँचवटा स्थानीय तहलाई गत वैशाख र जेठमा पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिसकिएको थियो ।

७३ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ७३ जिल्लामा फैलिएको छ । दैनिक पानी परिरहेकाले डेङ्गुको सङ्क्रमण बढ्न थालेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ । उनले मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङक्रमण देखिएको जानकारी दिइन् ।

मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरेकाले मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण बढ्ने आँकलन गरेको छ ।

सबभन्दा बढी काठमाडौँमा एक सय ५९ जनामा डेङ्गु देखिएको छ । झापामा एक सय २० र चितवनमा ८३ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । उनले पानी सङ्कलन गरेर राख्ने र पानीमा रहने त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको जोखिम बढेको जानकारी दिए ।

पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र फूलबाट लार्भा निस्कन्छ । त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गु रोग लाग्दछ । रोग शाखाका प्रमुख डा दाहालले डेङ्गु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेका छन् ।

डेङ्गुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु पर्ने भएकाले घर वरपर तथा कार्यस्थलमा सफा पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्ने भएको हुँदा पानी जम्न नदिने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, जुनसुकै बेला झुलको प्रयोग गर्ने र पूरै शरीर छोपिने लुगा लगाउने जस्ता कुरामा ध्यान दिन महाशाखाले जनाएको छ ।

मनमोहन कार्डियोथोरासिक सेन्टरमा काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन

 

काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा नेपालमै पहिलोपटक काखीमुनि सानो प्वाल पारेर मुटुको कृत्रिम भल्ब परिवर्तन गरिएको छ ।

सेन्टरका कार्डियो तथा भास्कुलर विभागका प्रमुख डा अनिल भट्टराईको नेतृत्वमा पोखराकी एक ५३ वर्षीया महिलाको काखीमुनि सानो प्वाल पारेर (मिनिमल इनाभासिभ कार्डिया सर्जरी प्रविधि) माइट्रल भल्ब परिवर्तन गरिएको हो ।

डा अनिल भट्टराईले एक साताअघि मुटुको भल्ब परिवर्तन गरिएको बिरामीको अवस्था सामान्य रहेको जानकारी दिए । यसअघि छाती चिरेर मुटुको भल्ब परिवर्तन गरिँदै आएको थियो ।

“अलि जटिल खालको शल्यक्रिया हो तर हामीसँग सबै उपकरण थियो र सजिलै शल्यक्रिया गरेर माइट्रल भल्ब परिवर्तन गर्यौँ,” उनले भने, “हामीले केही दिन बिरामीलाई राखेर ‘डिस्चार्ज’समेत गरिसकेका छौँ ।” उक्त कृत्रिम भल्ब अमेरिकाबाट ल्याइएको थियो ।

डा भट्टराईले इटालीबाट आफूले उक्त प्रविधिबाट मुटुको भल्ब परिवर्तन गर्नेबारे अध्ययन गरेर आएको बताए । मुटुमा चारवटा भल्ब हुन्छन् । तीमध्ये बिरामीको माइट्रल भल्ब बिग्रेपछि नयाँ भल्ब हालिएको हो ।

“छाती चिर्नुभन्दा काखीमा सानो प्वाल बनाएर गरिने शल्यक्रियाले बिरामीलाई धेरै सहज हुन्छ,” उनले भने, “ठूलो घाउ हुँदैन । रगत पनि धेरै बग्दैन । चाँडै सञ्चो हुन्छ र बिरामी घर पनि चाँडै जान्छन् ।”

उनका अनुसार उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न भारतमा  २४ लाख रुपैयाँ लाग्छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले उक्त प्रविधिबाट भल्ब परिवर्तन गर्न सात लाख रुपैयाँ लाग्ने जनाएको छ ।

 

विपद्ले ल्याउने स्वास्थ्य समस्याबाट कसरी जोगिने ?

 डा. प्रकाश बुढाथोकी
मनसुन सुरु भएको एक हप्ता भइसकेको छ । निरन्तर दोहोरिने तथा जलवायु परिवर्तनबाट हुने असरको प्राकृतिक विपद् जोखिमले नेपाल विश्वमै अग्रस्थानमा छ । उत्तरबाट दक्षिणतर्फ बहने खोलानाला र खहरेले बाढी, पहिरो, डुबान, हिमपहिरो तथा हिमताल बिस्फोटन, चट्याङ्, डढेलो, आगलागीजस्ता प्राकृतिक विपद् बर्सेनि दोहोरिने गरेका छन् । भूकम्पीय जोखिमका हिसाबले नेपाल ११औँ, जल उत्पन्न प्रकोपमा ३०औँ, जलवायु परिवर्तनको असरले हुने बाढी, खडेरी र पहिरोमा चौथो र हरितगृह ग्यास उत्सर्जनका हिसाबले एक सय नवौँ स्थानमा पर्दछ । त्यसैमा पछिल्लो समयमा अध्ययन, अनुसन्धान र वातावरणीय प्रभाव विश्लेषणबिना खनिएका सडक संरचनाले थप मलजल गरेका छन् । विपद्बाट कुल गार्हस्थ्य उत्पादनमा वार्षिक तीनदेखि पाँच प्रतिशत ह्राससँगै आर्थिक नोक्सानी भइरहेको छ ।

गत वर्ष विपद्का घटना सात सय ६९ हुँदा ६३ जनाको मृत्यृ, ६९ घाइते तथा ३० बेपत्ता भएको तथ्याङ्क छ । यस वर्ष जल तथा मौसम विज्ञान विभागले सरदरभन्दा ३५ देखि ४५ प्रतिशत बढी वर्षा हुने अनुमान गरेको छ । मनसुनजन्य विपद्बाट करिब १८ लाख जनसङ्ख्या र चार लाख १२ हजार घरधुरी प्रभावित तथा ८३ हजार घरमा क्षति पुग्ने आकलन छ । मनसुन गत जेठ २८ गते भित्रिएपछि विपद्का एक सय ४७ घटनाबाट ३३ जिल्ला प्रभावित भई २८ जनाको ज्यान गइसकेको छ ।

मनसुनको सुरु भएसँगै बाढी, पहिरो, डुबान र चट्याङले देशभर ठूलो क्षति पुर्याइरहेको छ । हरेक दिन मृत्यृ, घाइते र बिरामीहरूको तथ्याङ्क आइरहेका छन् । कोशी प्रदेशबाट सुरु भएको क्षति कर्णाली र सुदूरपश्चिम प्रदेश पुगिसकेको छ । ३३ बढी जिल्ला प्रभावित, तीसभन्दा बढीको मृत्यृ तथा हजारौँ परिवार प्रभावित र भएका छन् । सुरुमै भएको क्षतिले चुनौतीपूर्ण भविष्यको सङ्केत गरेको छ ।

विपद्ले ल्याउने स्वास्थ्य समस्या 

वर्षात्को समयमा आउने बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिसँगै सबै अस्पतालका निर्देशकहरूले उपलब्ध गराएको जानकारीमा गर्मीपछि वर्षात्को समयमा सबैभन्दा बढी झाडापखाला, हैजा, डेंगु, टाइफाइड, भाइरल, जण्डिस, हेपाटाइटिस ए र ई, आउँ, निमोनिया, औलो, कालाजार, ज्वरो, स्क्रब टाइफस, रुघाखोकी, छालाको समस्या, पेटको सङ्क्रमण, जुका, आँखा पाक्ने, लेप्टोस्पाइरोसिसजस्ता बिरामी देखिने गर्दछन् । अर्थात् दूषित खाना र पानी, लामखुट्टे, झिङ्गा, किराफट्याङ्ग्रा, फोहर तथा हिलोका कारण हुने सङ्क्रमण विशेषतः बढी देखिन्छ । परेको वर्र्षाले ट्याङ्की वरिपरि मानिस, जनावर, पक्षीको बिष्ठा, ढकन नभएको, फोहरसहितको भेल मुहानमा परी प्रदूषित पानी, सिनो मासु, खोलानालाको प्रदूषित पानी सेवनले रोग लाग्दा जण्डिसलगायतका रोगहरूबाट मानिसहरू बिरामी पर्दैछन् । गर्भवतीलाई अस्वस्थता हुँदा थप जटिलता र गर्भपतनसम्म भएको पाइन्छ ।

बढ्दो वर्षासँगै विभिन्न किटाणु, जीवाणु, विषाणुजन्य सरुवा र सङ्क्रमणहरू  टाइफाइड, झाडाबान्ता, भाइरल फ्लु, पेटको दुखाई, रुघाखोकी, श्वासप्रश्वास सङ्क्रमण, जण्डिस, हेपाटाइटिस ए, आँखा सुक्खा, चिलाउने तथा आँखाको सङ्क्रमण, जनावरले टोकेर हुने बिरामीहरू बढ्दै छन् । यसबाहेक तराईमा सर्पदंश, उच्च ज्वरो, छालाको रोग, बढी पसिना जाँदा शरीरमा हुने पानी अभावको कारण जल वियोजन, पिसाब र मिर्गौलामा समस्या र लु बढ्दैछ । जार तथा बोतलको पानी सेवन गर्नेमा पनि त्यत्तिकै समस्या छ । दूषित खाना, पानी, सरसफाइको अभाव, फोहर हात, भाडाकुँडा, झिङ्गा, लामखुट्टे, साङ्ला, किराफट्याङग्रा तथा  बासी, सडेगलेका फोहर खानेकुरा, फोहर बानी व्यहोरा र फोहर पानीको प्रयोग नै यस समयको रोग लाग्ने मुख्य कारण हो ।

यस मौसममा हुने सरुवा रोगहरू केही श्वासप्रश्वास र धेरैजसो पाचन प्रणालीसँग सम्बन्धित हुन्छन् । करिब सयभन्दा बढी भाइरस प्रमुखतया इन्फ्लुएन्जा विषाणुद्वारा हुने सङ्क्रामक रोग रुघाखोकी लागेकालाई सामान्य बिरामीको रूपमा लिइन्छ । यसमा घाँटी खस्खसाउने, श्वास फेर्न अप्ठेरो हुने, पातलो सिंगान बग्ने, ज्वरो आउनुको साथै शरीर दुख्छ । प्रत्यक्ष सम्पर्कबाट र हावाबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले ज्यादा भीडभाड हुने स्थान बस, फिल्महल, विद्यालय र जात्रामा बिरामीले खोक्दा, बोल्दा, हाछ्यूँ गर्दा छिटै सर्दछ ।
  
पानीजन्य रोगहरू

रोगका किटाणु पानीको मुहानमा परे सर्ने सरुवा रोगमा झाडापखाला, हैजा, रगतमासी, जुकाहरू, पोलियो, जियारडियासिस, अमिवियासिस, आउँ, टाइफाइड, जण्डिसलगायत २० वटा सरुवा रोगहरू पर्दछन् । वर्षायाममा विशेषगरी काँचो र नपाकेको मासु, बासी खाना, खाना बढी खाने, पचाउन नसकिने चिल्लो खाद्य पदार्थले खाना विषाक्तता हुन्छ । बिरामीलाई बान्ता हुने, पखाला लाग्ने, ज्वरो आउने हुन्छ । त्यसैगरी झिङ्गा भन्किएको र फोहर खानेकुरा खादा भिब्रियो कोलेरा ब्याक्टेरियाले आन्द्रामा सङ्क्रमण गर्छ र तीव्र सङ्क्रमण हैजा लाग्छ । हैजा लागेपछि धेरैपटक चौलानी पानीजस्तो पातलो दिसा र बान्ता एकैपटक लागिरहन्छ । त्यसले तीव्रगतिमा जलहरण गरी बिरामी शिथिल अवस्थामा पुग्छ ।

पटकपटक पातलो दिसा (तीन पटकभन्दा बढी) हुनुलाई झाडा पखाला भनिन्छ । यसले शरीरमा भएको पानी र लवणको मात्रालाई तुरुन्तै कम गर्ने भएकाले शरीरमा विभिन्न किसिमका जलविनियोजनसम्बन्धी स्वास्थ्य समस्याहरू देखा पर्दछन् । बान्ता र पखालासँगै भयो भने स्वास्थ्यका दृष्टिले खतरनाक मानिन्छ । सरसफाइको कमी, चर्पीको राम्रो व्यवस्था नभएको, शुद्ध खानेपानीको अभाव, झिंगा र अन्य किराफट्याङ्ग्राको बढी प्रकोप भएको ठाउँमा बढी देखिने सङ्क्रामक रोग टाइफाइड हो । झिङ्गा, सङ्क्रमित माटो र फोहर हातले खानेकुरा बनाउँदा रोग सर्न सक्दछ । यसमा ज्वरो बेस्सरी आउँछ, पाचन प्रणालीसँग सम्बन्धित लक्षण देखिन्छ । नेपालीमा म्यादी ज्वरो भनिने रोग टाइफाइड तथा पाराटाइफाइड ब्याक्टेरिया जीवाणुबाट लाग्छ । बिरामीको दिसापिसाबबाट दूषित हुन गएको पिउने पानी तथा खानाबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दछ ।

टाइफाइडमा सुरुमा रोग रुघाखोकी जिउ तथा टाउको दुख्ने लक्षणबाट सुरु हुन्छ । त्यसपछि विस्तारै टाउकोको अगाडिको भाग दुख्ने, ज्वरो आउने आदि हुन्छ । ज्वरो बेलुकीपख बढ्छ र हरेक दिन केही ज्वरो बढ्दै जान्छ । बिरामीको ज्वरो कुनै बेला घट्ने र कुनै बेला बढ्ने पनि हुन सक्छ तर साधारण अवस्थामा आउँदैन । बिरामीलाई भोक नलाग्ने र विस्तारै सिकिस्त हुँदै जान्छ । ज्वरो बढ्नुको अनुपातमा नाडीको गति कम हुनु, कहिलेकाहीँ बान्ता आउनु, काँचो केराउको झोल जस्तो पखाला लाग्नु वा दिसा कब्जियत हुनु आदि पनि हुन्छ । यस्ता लक्षणहरू एक हप्तासम्म देखा पर्दछन् । दोस्रो हप्तामा ज्वरो बढी आउने र नाडीको गति अझ कम पनि हुनसक्छ । शरीरको प्रायः सबै भागमा र मुख्यगरी पेटमा गुलाबी दाना आउने, शरीर कम्पन हुने र बिरामी बेहोस पनि हुनसक्छ । कलेजो र फियो सुन्निन सक्छ ।

वर्षायाममा पानीकै कारणले मात्र लाग्ने हेपाटाइटिस ‘ए’ भाइरसद्वारा सङ्क्रमित भई ज्वरो आउने, जाडो हुने, टाउको दुख्ने, थकान महसुस हुनेजस्ता लक्षण देखा पर्न सक्छ । एकपटक हेपाटाइटिस ‘ए’को उपचार गरेपछि पुनः देखा पर्दैन । हिजोआज पहिले गर्भवती महिलामा मात्र बढी देखिने हेपाटाइटिस ‘ई’ पुरुषमा पनि बढ्दो छ । यसमा बिरामीको कलेजो सुनिन्छ । उपरोक्त दुवै हेपाटाइटिस दूषित पानी र खानाबाट सर्दछ । काँचो फलफूल र मासुबाट सर्ने विभिन्न किसिमका जुका पनि यो समयमा देखिन्छ ।

लामखुट्टेजन्य रोगहरू

वर्र्षायाममा लामखुट्टे लाग्दा र टोक्दा उच्च र तीब्र ज्वरो हुने डेंगु, औलो, फिलेरिया, इन्सेफलाइटिस, मेनिन्जाइटिस हुने सम्भावना रहन्छ । त्यसैगरी सैण्डफलाइले बिरामीको छाला कालो हुने, कलेजो सुन्निने, कालाजर लगाउँछ । लामखुट्टेजन्य रोगबाट बच्न लामखुट्टेको विकास र जीवनचक्र पूरा हुन दिनु हुँदैन जसका लागि लामखुट्टेको टोकाइबाट मानिस जोगिनु पर्दछ ।

वर्षायाममा सर्पदंशको समस्या पनि निकै हुने गर्दछ । सर्पले टोकेको ठाउँमा दुई दाँतको गहिरो निसान देखिन्छ । केही क्षणमै उक्त ठाउँमा फोका उठ्न थाल्दछ, दुख्छ र सुनिन्छ । रगत अलिक लामो समयसम्म आइरहन्छ । पीडितलाई वाकवाकी लाग्छ, मुखबाट र्याल निक्लन्छ, डर त्रासले उत्तेजित हुन्छ, ओंठ र मुख सुख्छ, तिर्खा लाग्छ, मुटुको धड्कन बढछ भने आँखी भौं, परेला तल झर्छ । खान निल्न पनि समस्या हुन्छ । बोल्दा जिब्रो लर्बराउने, हिड्दा खुट्टा लडखडाउने र समय बित्दै जाँदा आँखाले एउटा वस्तुको दुई छाया देख्ने, आँखा खोल्न गाह्रो हुने गर्दछ । विरामीलाई श्वास लिन समस्या हुन्छ भने पक्षघात देखिने र तीनदेखि छ घण्टापछि पिसाव रातो भएर आउँछ । विषालु सर्पले टोकेपछि मानिसको श्वासप्रश्वासमा अवरोध भई, मांसपेशीमा पक्षघात भई, रक्तचाप ज्यादै न्यून भई अचेत हुन जान्छ र मृत्यु हुन्छ । तर व्यवहारमा ६० प्रतिशत जति सर्पदंशमा या त सर्प विषालु हुँदैन या विष टोकेको स्थानमा नपर्ने तथा परे पनि कम भएको पाइने गरेको छ ।

मानिस जति आतिन्छ, त्यति रक्तसञ्चार बढ्छ र विष छिटो शरीरमा फैलिन्छ । विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने गर्दा ह्दयाघात, छिटोछिटो सास फेर्ने, टोकेको ठाउँमा घोचेजस्तो हुने, टोकेको ठाउँ वरपर सुन्निने, रक्तश्राव, निलो, फोका उठ्ने, सङ्क्रमण तथा नेक्रोसिस, कुहिने, हातखुट्टा बाउडिने वा नचल्ने, बेहोस हुनेजस्ता लक्षण देखिन्छन् ।

टोकेको ठाउँदेखि शरीरमा विष फैलन नदिन सर्पले टोकेको खुट्टा वा हात चल्न नदिने गर्नुपर्छ  । टोकेको ठाउँदेखि दुई–तीन  इन्चमाथि मुटुतिर अलगअलग तीन ठाउँमा ब्याण्डेज, डोरी, रुमाल बाँध्ने र एउटा औला पट्टीभित्र मुस्किलले छिर्न सक्ने गरी बाँध्ने तर प्रत्येक १५ मिनेटमा आधा मिनेट डोरी खोली रक्तसञ्चार हुन दिनुपर्दछ । यदि अस्पताल वा स्वास्थ्य संस्था धेरै टाढा भएमा वा त्यहाँसम्म पुग्न तीन घण्टाभन्दा बढी समय लाग्ने अवस्था भएमा तत्कालका लागि प्राथमिक उपचार गरेर मात्र व्यक्तिलाई अस्पतालतिर लानुपर्दछ ।

मनसुनजन्य विपद तयारी र प्रतिकार्य 

उच्च जोखिममा फलाइङ स्क्कार्ड तयारी, खोज, उद्धार र राहतका लागि स्रोतसाधनको ब्यवस्थापन गरिएको छ । देशका ३४ स्थानमा चेतावनीमूलक साइरन प्रणाली जडान भएको र थप १५ स्थानमा गरिँदैछ । नेपाली सेनाले १० हजार आठ सय ४७, नेपाल प्रहरीले १० हजार पाँच सय ५८ र सशस्त्र प्रहरी बलले नौ हजार नौ सय २४ सुरक्षाकर्मीहरू विपद् प्रतिकार्यका लागि तयारीमा छन् । सेनाले इटहरी, सुर्खेत र काठमाडौँमा हेलिकप्टर तैनाथ छन् । बेलीब्रिज, बोटजस्ता आपत्कालीन सामान रणनीतिक स्थानहरूमा राखिएका छन् । कमाण्डपोष्ट खडा गरिएको छ । त्यसैगरी प्रदेश, जिल्ला र स्थानीय तहमा तयारी अवस्थामा रहने गरी प्रतिकार्य भइरहेको छ ।

पूर्वतयारीसम्बन्धी क्रियाकलापहरूका बारेमा सूची बनाई तयारी मन्त्रालयले गरिसकेको छ भने प्रतिकार्यसम्बन्धी सूचीकृत मुख्य क्रियाकलापहरूमा विपद्को असरको आधारमा सङ्घीय तथा प्रादेशिक तहका स्वास्थ्य विषयगत क्षेत्र सक्रिय बनाउने, स्वास्थ्य क्षेत्रको दु्रत लेखाजोखा गर्ने, तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट सन्देशमूलक सूचना र सचेतना अभिवृद्धिमा जोड दिनु रहेका छन् । त्यस्तै प्रभावित स्थानमा द्रुत प्रतिकार्य टोली परिचालन, आकस्मिक चिकित्सकीय टोली परिचालन, हैजा, डेंगुका किट, खोप, औषधिजन्य सामग्रीको व्यवस्था, एम्बुलेन्सको परिचालन, बिरामी तथा घाइतेको व्यवस्थापन, नमूना परीक्षण, शव व्यवस्थापन, भेक्टर नियन्त्रण, महामारीको उपचार, यौन तथा प्रजनन स्वास्थ्य, मानसिक स्वास्थ्य, मनोसामाजिक नसर्ने तथा सर्ने रोगहरूको नियमितता, घुम्ती स्वास्थ्य सेवा गर्नेगरी प्रतिकार्य काम भइरहेका छन् । त्यस्तै हटलाइनहरू पनि सञ्चालनमा छन् ।

अन्तमा रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बेस हुन्छ । जुनसुकै उमेर, वर्ग र तप्काका मानिसले स्वास्थ्यप्रति सचेत हुनुपर्छ । उमालेको पानीको प्रयोग गर्नुका साथै खाना खानुअघि र पछि साबुनपानीले हात धुनुपर्दछ । जथाभावी दिसापिसाब नगर्ने, बासी सडेगलेका र अपच हुनेगरी खुला ठाउँमा राखिएका खाना खानु हुँदैन । व्यक्तिगत सरसफाइ र घर वरपरको वातावरण सफा राख्नुपर्दछ ।

(लेखक केन्द्रीय कारागार अस्पतालका प्रमुख तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता हुनुहुन्छ )

 

तनहुँलाई पूर्ण खोप सुनिश्चित घोषणा

दमौली । तनहुँ जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । यस अगाडि जिल्लाका दशवटै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयद्वारा मंगलबार आयोजित कार्यक्रममा १६ महिनादेखि ५९ महिनासम्मका सम्पूर्ण बालबालिकालाई राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार १५ महिनाभित्र पाउनुपर्ने सबै खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको थियो ।

स्वास्थ्य कार्यालयका प्रमुख विद्या तामाङले खोप लगाउन छुटेका सबै बालबालिकाको तथ्यांक संकलन गरी खोप लगाइएको जानकारी दिए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक शान्तिरमण वाग्लेले खोप सुनिश्चिततालाई दिगोपना राख्नुपर्ने बताए ।

जिल्लाका दशवटै पालिकाका ८५ वडाका बालबालिकाले पूर्णरुपमा खोप पाएको सुनिश्चित भएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत शंकबाबु अधिकारीले जानकारी दिए ।

व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले १६ महिनादेखि पाँच वर्षसम्मका दुई हजार आठ सय १८ बालबालिकालाई सबै खोपको पहुँचमा ल्याइएको जानकारी दिए । त्यस्तै १५ महिनासम्मका एक हजार ११ बालबालिकालाई पनि खोप लगाइएको उनको भनाइ छ ।