विगतमा गल्ती गरेको महसुस गर्दै कोशीका पूर्वसभामुख गौतम भन्छन् -खै के गरियो ?

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा कोशी प्रदेश सभाका पूर्वसभामुख बाबुराम गौतमले कोशी प्रदेश अनिश्चयको बाटोमा गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सभामुख हुँदा विश्वासको मत दिएर एमाले नेतृत्वको सरकार ढालेका गौतमले आइतबार सामाजिक संजालमार्फत विगतमा आफूबाट भएको गल्तीको प्रायश्चित गर्दै राजनीतिक अस्थिरता बढेको चिन्ता व्यक्त गरेका हुन् ।

उनले भनेका छन्, ‘खै के गरियो ? अस्थिरता, अराजकता र अनिश्चित भविष्यको बाटामा मेरो प्रदेश ।’ गौतमले गौतमले सरकार ढाल्न सभामुख भएर पनि मतदान गरेका थिए भने पछि सभामुखबाट राजीनामा दिएर कांग्रेस नेतृत्वमा सरकार बनाउन सहयोग गरेका थिए । सभामुखबाट राजनीमा दिएपछि गौतम आर्थिक योजनामन्त्री बनेका थिए ।

तर अहिले गौतमले दुबै पद गुमाइसकेका छन् । विश्वासको मत नपाउने अवस्था भएपछि मुख्यमन्त्री हिक्मत कार्कीले शनिबार राजीनामा दिएका छन् । मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दलहरुलाई आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले संविधानको धार १६८ (५) अनुसार असोज २६ गते शुक्रबार साँझ पाँच बजेभित्र दलहरुलाई दाबी पेश गर्न आह्वान गरेका हुन् । यसअनुसार सरकार गठन हुन सकेन वा यस उपधाराअनुसार नियुक्त हुने मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत पाएन भने प्रदेशसभा स्वतः विघटन हुनेछ र मध्यावधि निर्वाचन हुनेछ ।

फोहोर बोकेका गाडी तोडफोड गरेको भन्दै तीन नेताविरुद्ध नुवाकोट प्रहरीमा उजुरी

काठमाडौँ । सत्तारुढ दलका तीन स्थानीय नेताविरुद्ध फोहोर बोकेको गाडी तोडफोड गरेको भन्दै जिल्ला प्रहरी कार्यालय नुवाकोटमा उजुरी परेको छ ।

नेपाली कांग्रेस धुनीबेंसी नगरपालिका– १ का वडा सभापति पूर्ण सिंह तामाङ, माओवादी केन्द्र वडा कमिटी अध्यक्ष विष्णु तामाङ र नेकपा एकीकृत समाजवादीका वडा कमिटी अध्यक्ष भिषण धितालगायतविरुद्ध उजुरी परेको हो ।

उनीहरूविरुद्ध तोडफोड गरेको, तोडफोड गराउन अरुलाई उक्साएको भन्दै सम्बन्धित गाडी धनीहरूले किटानी जाहेरी दिएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिएका छन् ।

गत सोमबार राति बन्चरे डाँडा ल्यान्डफिल क्षेत्रमा फोहोर बोकेर गएका गाडीहरू तोडफोड भएको थियो । धादिङ र नुवाकोटको सिमाना नजिकै पार्किङ गरेर राखिएको फोहोर बोकेका १४ वटा टिपर र चार वटा डोजर तोडफोड भएको थियो । उनीहरुले नै आइतबार बन्चरेडाँडामा फोहोर फाल्न नदिने भन्दै विज्ञप्ति जारी गरेका थिए ।

त्रिविमा यस वर्ष ६३ हजार विद्यार्थी दीक्षित हुने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा यस वर्ष हुने ४८औँ दीक्षान्त समारोहमा विभिन्न तहका परीक्षामा उत्र्तीर्ण गरी ट्रान्सक्रिप्ट लिएका ६३ हजार १३७ विद्यार्थीले भाग लिने भएका छन् ।

यो सङ्ख्या गत ४७ औँ दीक्षान्त समारोहको भन्दा दोब्बर रहेको छ । उक्त वर्ष जम्मा २९ हजार ७२९ विद्यार्थी दीक्षित भएका छन् । कोभिड–१९ को जोखिमका कारण गत वर्षमा दीक्षान्त समारोहमा भाग लिने विद्यार्थीको सङ्ख्या कम भएको मानिएको छ । मुलुकको जेठो विश्वविद्यालय त्रिविको ६३औँ वार्षिक दिवसको अवसरमा आज आयोजित त्रिविसभाको वार्षिक बैठकले ६०औँ ग्रेस लिस्ट पारित गरेको छ ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षतामा कीर्तिपुरमा भएको बैठकले २०७८ असार १ देखि २०७९ जेठ मसान्तभित्र तोकिएका सम्पूर्ण आवश्यकता पूरा गरी स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधी परीक्षामा उत्र्तीण विद्यार्थीको ग्रेस लिष्ट पारित गरेको हो ।

पारित ग्रेसलिस्टमा सबैभन्दा बढी व्यवस्थापन सङ्कायबाट २२ हजार ९४२, शिक्षाशास्त्र सङ्कायबाट १५ हजार ६७, मानविकी तथा सामाजिकशास्त्र सङ्कायबाट १३ हजार ५०९, कानुन सङ्कायबाट एक हजार तीन विद्यार्थी संलग्न छन् । अध्ययन संस्थानमा विज्ञान तथा प्रविधि अध्ययन संस्थानका चार हजार ३७९, इञ्जिनियरिङ्ग अध्ययन संस्थानका तीन हजार ४९३, चिकित्साशास्त्र अध्ययन संस्थानका दुई हजार ४४, कृषि तथा पशुविज्ञान अध्ययन संस्थानका ४७६ र वनविज्ञान अध्ययन संस्थानका २२४ विद्यार्थी समावेश भएका छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्कोटाले विश्वविद्यालयले विविध आर्थिक तथा व्यवस्थापकीय चुनौतीका बाबजुत पनि उच्च शिक्षालाई प्रतिस्पर्धी व्यावहारिक र गुणस्तरीय बनाउन आफूहरु प्रयत्नशिल रहेको बताए ।

त्रिविले उच्च शिक्षाका लागि वर्षेनी हजारौँ विद्यार्थी बाहिरिने समस्याको समाधान गर्न योजनाबद्ध ढङ्गले लागि रहेको जानकारी गराउँदै एशियाका उत्कृष्ट विश्वविद्यालयमा त्रिविले २०१ देखि २५० सम्ममा आफूलाई उभ्याउन सकेको, विश्वविद्यालयको अन्तराष्ट्रियस्तरको विस्तारित वेबपेज निर्माण भएको र केन्द्रीय पुस्तकालयलाई प्रविधिमैत्री बनाइ उपलब्ध पाठ्य सामग्रीलाई अन्तराष्ट्रियकरण गर्न सफल भएको बताए ।

उनले बौद्धिकचोरी नियन्त्रण गर्न विद्युतीय संयन्त्र प्रयोग गर्न थालिएको, वैज्ञानिक अनुसन्धान र नीतिगत अनुसन्धानमा बजेट वृद्धि गरिएको, आर्थिक अनुशासन कायम गरी बेरुजु न्यूनीकरण गर्ने अभियान थालिएको, विश्वविद्यालयको पुनः संरचना गर्न विशेष कार्यदल गठन गरी काम अघि बढाइएको बताए ।

उनले विसं २०७२ को भूकम्पले जीर्ण भएको भौतिक संरचनाको पुनःनिर्माण हुन नसकेको, नेपाल सरकारले त्रिभुवन विश्वविद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उत्पादन तथा निवृत्तिभरणको दायित्व नलिएकोले निवृत्तिभरण व्यवस्थापनमा चुनौती थपिएको उल्लेख गरेका थिए ।

सरकारले वर्षेनी दिइँदै आएको एकमुष्ट अनुदान कटौति गर्दै जाने र बढेको तलब तथा सुविधाको दायित्व नलिने प्रणालीले विश्वविद्यालय सञ्चालनमा थप कठिनाइ सिर्जना भइरहेको बताउँदै त्रिविलाई अनुसन्धानमुखी, नवप्रवर्तनात्मक, प्रविधिमैत्री र सिर्जनशील ज्ञानको केन्द्रको रुपमा विकसित गर्न सहयोग गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।

वार्षिक बजेट २४ अर्ब

बैठकले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित गरिएको २४ अर्ब ८७ करोड ५७ लाख १४ हजार रुपैयाँको बजेट पारित गरेको छ । सभाले त्रिवि आर्थिक व्यवस्थापन तथा खरिदसम्बन्धी नियम–२०५० मा सार्वजनिक खरिद ऐन–२०६३ एवं सार्वजनिक खरिद नियमावली–२०६४ को प्रावधानअनुसार हुने गरी संशोधन गर्नुका साथै त्रिवि सभाका सभासदलाई दिइँदै आइरहेको बैठक भत्ता एक हजार ६०० लाई संशोधन गरी ४ हजार पुर्याएको छ भने कार्यकारी परिषद्को बैठक भत्ता ८ सयबाट २ हजार पुर्याएको छ ।

विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पेशल दाहालले आर्थिक वर्ष २०७९/८० को बजेट पेश गरेका थिए । आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित बजेट २४ अर्ब ८७ करोड ५७ लाख १४ हजारमा नेपाल सरकारसँग आर्थिक वर्ष २०७९/८० को बजेट बक्तव्यमार्फत शिक्षक/कर्मचारीको तलबमानमा गरेको १५ प्रतिशत वृद्धिसहित १४ अर्ब ३९ करोड सात लाख ३० हजार प्रस्ताव गरेका छन् भने आन्तरिकतर्फ सञ्चालन तथा पुँजीगत खर्च गरी नौ अर्ब ५९ करोड ४९ लाख ४२ हजार र विकास कार्यक्रमतर्फ ८९ करोड ४२ हजार रकम प्रस्ताव गरेका छन् ।

यसैगरी आगामी वर्षको लागि नियमित कार्यक्रममा हुने खर्च १४ अर्ब ३९ करोड सात लाख ३० हजारमध्ये केन्द्रीय आन्तरिक आम्दानीबाट एक अर्ब ४० करोड ९७ लाख ९१ हजार बेहोर्ने र बाँकी १२ अर्ब ९८ करोड नौ लाख ३९ हजार विश्वविद्यालय अनुदान आयोगमार्फत नेपाल सरकारसँग अनुदान माग गर्ने प्रस्ताव राखेका छन् ।

हुवासिन सिमेन्टको परीक्षण उत्पादन सुरु

काठमाडौं । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले शनिबारदेखि परीक्षण उत्पादनको कार्यक्रम सम्पन्न गरेको छ । परीक्षण उत्पादनका लागि हुवासिन सिमेन्टका चिनियाँ प्रतिनिधिसहित यहाँस्थित चिनियाँ दूतावास तथा प्रतिनिधिको सहभागिता थियो ।

उद्योगस्थल धादिङको बेनीघाट रोराङ गाउँपालिकाको ताल्तीमा आयोजित एक कार्यक्रममा विशेष समारोहको आयोजना गरी परीक्षण उत्पादनको प्रारम्भ गरिएको हो । हुवासिनका उच्च अधिकारी भने भिडियो लिङ्कमार्फत जोडिएका थिए । हुवासिन सिमेन्ट उद्योगका उपमहाप्रबन्धक डिल्लीराज पोखरेलका अनुसार उद्योगमा शनिबार विशेष समारोहको आयोजना गरिएको हो । उनका अनुसार पूर्णरूपमा व्यावसायिक उत्पादनका लागि भने थप दुई महिना लाग्नेछ ।

डिसेम्बरभित्रै परीक्षण उत्पादन थाल्ने भनिए पनि प्राविधिक तयारी बाँकी रहेकाले केही दिन ढिला भएको हो । नेपाली र चिनियाँ व्यवसायीको संयुक्त लगानी रहेको सो उद्योगमा गत कात्तिकको अन्तिम सातादेखि विद्युत उपलब्ध भएको थियो । उद्योगले प्रदूषण नियन्त्रणका लागि ध्यान दिएको जनाएको छ । ड्राइ प्रोसेस प्रविधिबाट उत्पादन हुने र विश्वमा हाल अत्यन्त प्रचलित फिल्टरलगायत इलेक्ट्रो स्ट्याटिक प्रिसिपिटेटर (इएसपी) जडान गरिएको छ।

आफ्नै गुणस्तरीय खानीबाट उत्पादित चुनढुङ्गाबाट क्लिन्कर र सिमेन्ट उत्पादन गर्ने उद्योगको दाबी छ । प्लान्टलाई प्रविधिमैत्री बनाइएको छ । अत्याधुनिक कम्प्युटर प्रविधि (सिसिआर)बाट उत्पादन प्रक्रियाको निरन्तर निगरानी गर्न सकिन्छ । अत्याधुनिक प्रयोगशालाबाट निरन्तर क्लिन्कर र सिमेन्टको गुणस्तर परीक्षण भइरहने एवं भर्टिकल रोलर मिल (भिआरएम) प्लान्टबाट सिमेन्ट उत्पादन हुने भएकाले गुणस्तर अधिक हुने बताइएको छ । भिआरएम अत्याधुनिक प्रविधि हो ।

यो हुवासिनको आफ्नै उत्पादन हो । उद्योगले दैनिक तीन हजार टन सिमेन्ट र क्लिन्कर उत्पादन गर्छ । अत्याधुनिक प्याकेजिङ प्लान्टबाट सिमेन्ट बोरा प्याकिङ हुने भएकाले लिकेज र ओस नलाग्ने उद्योगले जनाएको छ । वेस्ट हिट रिकभरीबाट करिब पाँच मेगावाट विद्युत् उत्पादन हुने उपमहाप्रबन्धक पोखरेलले जानकारी दिए ।

मस्र्याङ्दी–काठमाडौँ १३२ केभी प्रसारण लाइनबाट उद्योग परिसरसम्म बिजुली उपलब्ध गराइएको हो । नेपाल विद्युत् प्राधिकरणले सबै उद्योगमा क्षमताअनुसारको थप बिजुली माग गर्न र थप लोड स्वीकृतिका लागि अनुरोध गरिरहेको बेला सो उद्योगमा समेत लाइन जोडिइ सञ्चालनमा आएको छ । प्रसारण लाइनको निर्माण उद्योग आफैँले गरेको हो ।

त्यसका लागि मात्रै करिब रु एक अर्ब बराबरको खर्च भएको छ । निजी क्षेत्रले कोभिड–१९ कै बेला एक वर्षमै सबस्टेसन र १४ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नु आफैँमा महत्वपूर्ण रहेको पोखरेलको भनाइ छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योग परिससम्म प्रसारण लाइन बनाउने नीति लिए पनि समयमा काम नहुने भएपछि हुवासिनले आफैँ सो संरचना तयार पारेको हो ।

कोरोना कहर, प्राकृतिक विपत्तिलगायत कारणले उद्योगको लागत बढ्न गएको छ । लगानी बोर्डसँग सुरुवाती सम्झौता गर्दा करिब १४ अर्ब ४० करोड बराबरको लागत रहने भनिए पनि विभिन्न कारणले लागत बढ्न गएको बताइएको छ । नेपालमा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्यका साथ बोर्डले प्रख्यात चिनियाँ कम्पनी हुवासिनसँग सम्झौता गरी काम अगाडि बढाएको थियो ।

अर्को चिनियाँ लगानीको सिमेन्ट उद्योग होङ्सीले पछिल्लो तीन वर्षदेखि नियमितरुपमा उत्पादन गरिरहेको छ । केही समयअघि सो उद्योगले नियमितरूपमा ३० मेगावाट बिजुली पाएको छ । त्यसबाट सस्तो मूल्यमा नेपाली बजारमा सिमेन्ट उपलब्ध हुनेछ ।

उद्योग सञ्चालनमा आएपछि नेपाली बजारमा अर्को गुणस्तरीय सिमेन्ट उपलब्ध हुनेछ । आर्थिक विकासको गतिमा अगाडि बढिरहेको मुलुकका लागि गुणस्तरीय सिमेन्ट उपलब्ध गराउनु नै आफूहरूको प्रमुख कर्तव्य रहेको पोखरेलको भनाइ छ ।

बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र हुवासिन सिमेन्टका तर्फबाट उपाध्यक्ष सू गाङबीच २०७५ असार ६ गते उद्योग स्थापनाका लागि सम्झौतापत्रमा चीनको राजधानी बेइजिङमा हस्ताक्षर भएको थियो ।

सम्झौतामा एक वर्षभित्र कारखाना स्थापना गर्ने भनिए पनि विविध कारणले समय समय लागेको हो । उद्योगमा ३५० जनाले प्रत्यक्ष र एक हजारले अप्रत्यक्षरुपमा रोजगारी पाउने बोर्डको अनुमान छ । विसं २०७४ मङ्सिर १२ मा हुवासिनलाई खानी विभागले धादिङको पानीखर्कमा खानी उत्खनन गर्न अनुमति दिएको थियो ।

खानीका लागि चिनियाँ प्रवद्र्धकले ६० करोड बराबरको लगानी गरेको थियो । खानीका लागि हालसम्मकै बढी खर्च गरिएको छ । खानी विभागले बोलपत्रका आधारमा बढी मूल्य भुक्तानी गर्ने कम्पनीलाई उक्त खानी दिएको हो । बोर्डका अनुसार २०७२ पुस ५ गते वैदेशिक लगानी भित्राउनका लागि सरकारले स्वीकृति दिएको थियो ।

नेपालमा हाल झण्डै ३५ लाख मेट्रिक टन सिमेन्टको माग छ । नेपालमा स्थापना भएका सिमेन्ट उद्योगको कूल जडित क्षमता ५५ लाख मेट्रिक टन पुगिसकेको भए पनि क्लिन्कर भने आयात गर्नुपर्ने अवस्था छ । विकास निर्माणका काममा बढोत्तरी हुँदै गएको तथा भौतिक पूर्वाधारमा लगानी बढिरहेको सन्दर्भमा आगामी दिनमा थप सिमेन्ट उद्योग स्थापना हुने देखिन्छ ।