No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

दुई परियोजनाका लागि दक्षिण कोरियाले नेपाललाई दुई अर्ब अनुदान दिने

0

काठमाडौं । दक्षिण कोरियाले आप्रवासी कामदारहरूको पुनःएकीकरणका लागि र साइबर ब्यूरो स्थापना गर्न अनुदान उपलब्ध गराउने भएको छ । कोरियाबाट नेपाल फर्कने आप्रवासी कामदारहरूको स्थिर पुनःएकीकरणका लागि चरणबद्ध सहयोग प्रणाली सुदृढ गर्ने र नेपाल प्रहरीको क्षमता अभिवृद्धि सहितको साइबर ब्यूरोको स्थापना गर्न उक्त अनुदान प्रयोग हुने अर्थमन्त्रालयले जनाएको छ ।

दुईवटै आयोजना कार्यान्वयनसम्बन्धी समझदारी पत्रमा शुक्रबार अर्थ सचिव कृष्णहरि पुष्कर र नेपालका लागि गणतन्त्र कोरियाका राजदूत चोङ–सुक पार्कले हस्ताक्षर गरे । दुवै आयोजनाका लागि ८० लाख अमेरिकी डलरका दरले कोरिया सरकारले नेपाललाई कुल १ करोड ६० लाख अमेरिकी डलर(दुई अर्ब) अनुदान सहायता उपलब्ध गराउनेछ ।

कोरिया अन्तर्राष्ट्रिय सहयोग संस्थाले सम्बन्धित मन्त्रालय र अन्य सरकारी निकायहरूसँगको सहकार्य र समन्वयमा आयोजनाहरू कार्यान्वयन गर्ने जनाइएको छ । कोरियाबाट फर्कने आप्रवासीलाई सहयोग गर्ने उक्त आयोजनाले नेपालको सामाजिक–आर्थिक विकासमा योगदान पुर्याउने र कोरियाबाट फर्केका आप्रवासीहरूको स्थिर पुनःएकीकरण र उनीहरूको उद्यमशीलता क्षमता अभिवृद्धि गरी रोजगारी वृद्धि गर्ने लक्ष्य राखेको छ ।

आयोजनाले नेपालमा कोरियाबाट फर्केका आप्रवासीहरूको सूचनाको पहुँचमा वृद्धि गर्न र कृषि विकास बैंक लिमिटेड मार्फत आर्थिक सहयोगमा पहुँच बढाउनका लागि एक सकारात्मक चक्र र सहयोग प्रणाली पनि सिर्जना गर्नेछ।

 

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०९:४३

Leave a Reply