No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

माधव नेपाल भन्छन्-सरकार कुनैपनि बेला अप्ठ्यारोमा पर्नसक्छ

0

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेको बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी)को भ्रातृ संस्था युवा सङ्घ नेपाल काठमाडौँ जिल्ला समितिले शुक्रबार आयोजना गरेको ‘नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन’ कार्यक्रममा अध्यक्ष नेपालले समाज परिवर्तन गर्ने अभियानमा आफ्नो पार्टी जुटेकाले निराश हुनुपर्ने कुनै कारण नरहेको बताए ।

“देश र जनताका लागि काम गरेर देखाउने बेला आएको छ, कुनै पनि पार्टी फुट्नु र जुट्नु सामान्य कुरा हो, कम्युनिष्ट पार्टीप्रतिको विश्वास बढाउन युवाहरु अगाडि बढ्नुपर्छ, जनतालाई विश्वास जगाउन जरुरी छ, जनताको पीडाको साथी बन्नुपर्छ, गाउँघरमा पुगेर जनताको समस्या बुझ्नुहोस् र समस्या समाधानमा लाग्नुहोस्”, उनले भने ।

अध्यक्ष नेपालले नेपाली समाजलाई परिवर्तन गर्ने क्षमता कम्युनिष्ट पार्टीबाहेक अन्य कुनै पार्टीसँग नभएको उल्लेख गरे । उनले शक्तिमा रहँदा मात्तिएका कारण नेपालको कम्युनिष्ट आन्दोलनले ठूलो क्षति बेहोर्नुपरेको बताए । “समय र शक्तिको सदुपयोग हुन नसक्नु र व्यक्तिमा घमण्ड उत्पन्न हुँदा पार्टी विभाजन भयो”, अध्यक्ष नेपालले भने ।

उनले इमान्दार, निष्ठा र केही गरौँ भन्ने भावना भएमात्र पार्टी अगाडि बढ्ने बताए । पार्टी एकातिर, जनवर्गीय सङ्गठन अर्कातिर हिँड्दा पार्टी अगाडि बढ्न नसक्ने उनको भनाइ छ । उनले आफू ४१ वर्षमा मन्त्री भएर युवाको जोस र जाँगर राष्ट्र निर्माणमा लगाएको स्मरण गर्दै अहिलेका युवालाई समेत नवीन जोस जाँगरका अगाडि बढ्न आग्रह गरे ।

अध्यक्ष नेपालले पार्टीको दशौँ महाधिवेशन सम्पन्न गर्नका लागि प्रतिवेदन, विधानलगायतका दस्तावेज लेखनको कार्यलाई पार्टीले तीव्र गतिमा अगाडि बढाउँदै आएको बताए ।

अहिले मुलुकलाई राजनीतिक स्थायित्व चाहिएको उनको भनाइ छ । सुशासन, सामाजिक न्याय र समानता तथा समृद्धि अहिलेको मुलुकको आवश्यकता भएको अध्यक्ष नेपालले बताए । उनले वर्तमान सरकार ६ पार्टीको समर्थनमा बनेकाले कुनै एक पार्टी सरकारबाट अलग हुँदा सरकारलाई अप्ठेरो पर्ने अवस्था भएको हुँदा सबैलाई मिलाएर अगाडि बढ्न आग्रह गरे ।

प्रकाशित: १४ बैशाख २०८१, शुक्रबार ११:१२

Leave a Reply