No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकामा एक व्यक्ति ३८ वर्ष जेल बसेपछि निर्दोष ठहर

0

करिब चार दशक जेलमा बसिसकेपछि अमेरिकामा एक व्यक्ति निर्दोष सावित भएका छन् । डीएनए परीक्षण गर्दा अर्कै व्यक्ति दोषी देखिएपछि उनलाई थुनामुक्त गरिएको हो । सन् १९८३मा भएको एक हत्या आरोपमा मोरिस हेस्टिङ्सले ३८ वर्ष राज्य कारागारमा बिताए । उनीमाथि क्यालिफोर्नियामा रोबेर्टा वाइडमायरको हत्या गरेको र अन्य दुई हत्या प्रयासमा संलग्न भएको आरोप थियो ।

तर डीएनए परीक्षणले हत्यामा अर्कै व्यक्तिको संलग्नता देखायो। संलग्न देखिएका व्यक्तिको सन् २०२० मा जेलमै मृत्यु भएको थियो । उनलाई दोषी ठहर गर्ने सन् १९८८ को अदालतको निर्णय खारेज भएपछि हाल ६९ वर्षका हेस्टिङ्स अक्टोबर २० मा जेलबाट छुटेका छन् । अमेरिकाको लस एन्जलस काउन्टीका सरकारी वकिल जर्ज गास्कोनले उनलाई दोषी ठहर गर्ने निर्णय भयानक अन्याय भएको बताए ।

“न्याय प्रणाली उत्कृष्ट छैन। जब हामीले दोषी ठहर गर्ने निर्णयमा निर्धक्क नहुने नयाँ प्रमाण भेट्छौँ त्यसमा तत्काल कदम चाल्नु हाम्रो दायित्व हो,“ एक वक्तव्यमा उनले भनेका छन्। रोबेर्टाको शव सन् १९८३ मा टाउकोमा एउटा गोलीको चोट सहित कारको पछिल्लो भागमा रहने डिकीमा भेटिएको थियो।

त्यसअघि उनीमाथि यौन हिंसा भएको थियो । लगत्तै हेस्टिङ्समाथि हत्या अभियोगमा मुद्दा चलाइएको थियो र वकिलहरूले उनलाई मृत्युदण्ड दिनुपर्ने माग गरेका थिए । पहिलो पटकको सुनुवाइमा उनलाई दोषी ठहर गर्ने विषयमा न्यायाधीशहरू एकमत हुन नसकेपछि दोस्रो सुनुवाइबाट उनलाई आजीवन कारावासको सजाय सुनाइएको थियो ।

उनलाई राम्रो आनीबानी भएका कैदीहरूलाई निश्चित समयपछि जेलबाट बाहिर जान दिइने अनुमति नहुने गरी राज्य कारागारमा राख्न आदेश दिइएको थियो । मृतकको शव परीक्षणका क्रममा शवबाट लिइएको नमुनामा पुरुषको वीर्य पाइएको थियो । घटनापछि पक्राउ परेका हेस्टिङ्सले आफू निर्दोष भएको दोहोर्याउँदै आएका थिए । सन् २००० मा उनले डीएनए परीक्षणका लागि गरेको आग्रह सरकारी वकिलले अस्वीकार गरेका थिए ।

अन्ततः उनले अदालतबाट भएका निर्णयको निष्पक्षता जाँच गर्ने एउटा निकायसमक्ष सन् २०२१ मा आफू निर्दोष भएको दाबी गर्न सफल भए। गत जुनमा गरिएको उनको डीएनए परीक्षणमा मृतकको शवमा भेटिएको वीर्य उनको नभएको पत्ता लाग्यो ।

बरु त्यो डीएनए नमुना शसस्त्र हतियार सहित अपहरणमा संलग्न भएको आरोपमा पक्राउ परेका अर्का व्यक्तिसँग मिल्यो । उनले पनि आफूले अपहरण गरेका व्यक्तिलाई कारको डिकीमा राखेका थिए । एक साताअघि अदालतको निर्णय आएपछि हेस्टिङ्सले पत्रकारहरूलाई आफूले कुनै नराम्रो अनुभव नगरेको र बाँकी जीवन आनन्दसाथ बिताउन चाहेको बताए ।
बीबीसीबाट

प्रकाशित: १३ कार्तिक २०७९, आईतवार १७:५४

Leave a Reply