No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बाँके–१ मा खेलकुदमन्त्री गहतराजलाई एमालेका ढकालको चुनौती

0

नेपालगंज । बाँके निर्वाचन क्षेत्र नम्बर १ मा युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजसँग नयाँ उम्मेदवार प्रतिस्पर्धामा छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका मन्त्री गहतराजसँग नेकपा एमालेका उम्मेदवार युवानेता सूर्य ढकाल चुनावी प्रतिस्पर्धामा छन् ।

यसअघि विसं २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौती दिए ।

बाँके क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार गहतराज दोस्रोपटक यस क्षेत्रमा प्रतिस्पर्धा गर्दैछन् भने एमाले नेता ढकालले पहिलोपटक जनताको माझ मत माग्दै छन् । ढकाललाई राप्रपासहितका गठबन्धनको समर्थन छ ।

बाँके क्षेत्र नम्बर १ का जनताले परिवर्तन चाहेकाले यसपटक आफू जितको नजिक रहेको उम्मेदवार ढकालको दाबी छ ।

“कोहलपुर, राप्तीसोनारी र नरैनापुरमा मैले राजनीतिको धेरै समय र पसिना बगाएको छु, प्रत्येक टोल, बस्ती र घर–घरमा पुगेको छु, त्यसैले म बलियो र विजय नजिक छु”, उनले भने ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका युवा तथा खेलकुदमन्त्री गहतराज भने विगतमा गरेको कामका आधारमा यस क्षेत्रका जनताले पुनः आफूलाई नै निर्वाचित गर्ने दाबी गर्छन् । गठबन्धन दलको साझा उम्मेदवार भएकाले पनि आफू विजयी हुने उनको भनाइ छ ।

यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । यी दुई स्थानीय तहका नौ वडामा एमालेले जित हासिल गरेको छ ।

नागरिकले व्यक्तिमात्रै होइन, पटक–पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार बताउँछन् ।

यो क्षेत्रमा विगतमा विसं २०४८ मा कांग्रेसबाट सैयदमेराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा कांग्रेसबाट ज्ञानु केसी, विसं २०६४ मा नेकपा माओवादीबाट तिलक परियार, २०७० मा एमालेबाट देवराज भार र २०७४ मा एमाले–नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भइसकेका छन् ।

यसैगरी बाँके निर्वाचन क्षेत्र नम्बर १ (१) प्रदेशमा सत्ता गठबन्धनकी उम्मेदवार कृष्णा केसी नमूनासँगै राप्रपाका नरेन्द्र पौडेल र जनता समाजवादी पार्टीका अमर खड्का प्रतिस्पर्धामा छन् । तीनै जना उम्मेदवारले आफूले निर्वाचन जित्ने दाबीका साथ मतदाताको घरदैलोमा पुगेका छन् ।

प्रदेशसभा (२) मा सत्ता गठबन्धनबाट कांग्रेसका फुलाराम थारू र एमालेका दुर्गा थारूबीच चुनावी प्रतिस्पर्धा रहेको छ । उनीहरू दुवै जना पहिलोपटक निर्वाचनमा उम्मेदवार बनेका छन् ।

प्रकाशित: २६ कार्तिक २०७९, शनिबार ०३:३४

Leave a Reply