No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

धनुषा-४ मा पुरानै उम्मेदवारबीच त्रिपक्षीय प्रतिस्पर्धा

0

धनुषा । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन अन्तर्गत धनुषा क्षेत्र नम्बर ४ मा २०७४ का उम्मेदवारबीच नै त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ । निर्वाचनमा २०७४ का मुख्य प्रतिस्पर्धी नेपाली काङ्ग्रेस, नेकपा एमाले र जनता समाजवादी (जसपा) का उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । अहिले पनि तीनवटै दलबाट २०७४ कै प्रतिस्पर्धी उम्मेदवार बनेका छन् ।

नेकपा एमालेबाट रघुवीर महासेठ र जनता समाजवादी पार्टी (जसपा) बाट महाजन यादव र सत्तागठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादव प्रतिस्पर्धी छन् ।
यस पटकको चुनावी माहोल केही फरक देखिएको छ । गत चुनावमा एमाले र माओवादी गठबन्धनबाट चुनाव जित्न सफल भएका महासेठलाई केन्द्रमा जस्तो एमाले र जसपाबीचको तालमेल यस क्षेत्रमा हुन सकेको छैन । यता सत्तागठबन्धनका तर्फबाट उम्मेदवार बनेका यादवलाई लोसपा, नेकपा समाजवादी र माओवादीको साथ रहेको छ ।

यस पटकको गणित फरक रहेकाले आफूहरुले जित्ने निश्चित रहेको जसपा जनकपुरधाम उपमहानगरपालिकाका अध्यक्ष विष्णुदेव साहको दाबी छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी कांग्रेसको गठबन्धनमा रहेका छन् । विस २०७४ को स्थानीय निर्वाचनमा एमालेले जितेका पालिकामा गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसले स्थानीय तहमा जित हासिल गरेको छ । त्यसकारण पनि एमालेका उम्मेदवार महासेठका लागि चुनौती देखिन्छ ।

स्थानीय मतदाताले कांग्रेसका महेन्द्र यादव र एमालेका महासेठबीच नै सोझो र मुख्य प्रतिस्पर्धा रहेको बताउँछन् । लक्ष्मीनियाँ गाउँपालिकाका नवलकिशोर यादवले चुनावमा जितको अहिले नै निष्कर्ष निकाल्न हतार हुने बताउँछन् । “क्षेत्र र प्रदेशका मतदाता परिवर्तनको पक्षमा रहेका छन्,” उनले भने “चुनावको परिणामपछि नयाँ अनुहार नेतृत्वमा देखिँदा आश्चर्य हुने छैन ।”

क्षेत्र नम्बर ४ को १ मा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ । जसपा प्रदेश कमिटीका उपाध्यक्ष शेषनारायण यादव कांग्रेसको टिकटमा प्रदेशसभाको चुनाव लडेका छन् । स्थानीय तहमा स्वतन्त्र उम्मेदवारलाई सघाएको आरोप लागेका ज्ञानेन्द्र यादवले जसपाको टिकट फेरि प्राप्त गरेका छन् । कांग्रेसमा धनुषाको सभापतिमा पराजित भएका सन्तोष यादव एमालेबाट प्रदेश चुनावमा प्रतिस्पर्धा गर्दैछन् ।
क्षेत्र नम्बर ४ को २ मा नेकपा एकीृकत समाजवादीबाट शत्रुधन महतो, नेकपा एमालेका हरिनारायण महतो मुख्य प्रतिस्पर्धा रहने अनुमान गरिएको छ ।
यस्तो छ चुनावी अङ्क गणित
प्रतिनिधिसभामा क्षेत्रमा एमालेका उम्मेदवार रघुवीर यस क्षेत्रका प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुन् । एमाले सचिवसमेत महासेठले २०७४ को निर्वाचनमा २२ हजार पाँच सय ३२ मत प्राप्त गरि जित हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी महेन्द्रले १९ हजार नौ सय ९१ र महाजनले १९ हजार ६ सय ६२ मत प्राप्त गरेका थिए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा यो क्षेत्र अन्तर्गत पर्ने पाँचवटा पालिकामध्ये मिथिला नगरपालिका, बटेश्वर गाउँपालिका, लक्ष्मीनिया गाउँपालिका र मिथिला विहारी नगरपालिका काँग्रेसले जितेको छ । क्षीरेश्वरनाथ नरपालिकाको उपमेयर सहित बहुसङ्ख्यक वडा पनि जितेको छ ।

एमालेले क्षीररेश्वरनाथ नगरपालिकाको प्रमुख तथा दुई वटा वडा र मिथिला नगरपालिकाको उपमेयरसहित बहुमत वडा जितेको छ ।
काङ्ग्रेस, समाजवादी, माओवादी र लोसपाको मत जोड्ने हो भने ४० हजार नौ सय ९२ मत सत्ता गठबन्धनसँग रहेको देखिन्छ । यस क्षेत्रमा कुलमतदाता ९८ हजार तीन सय ६० रहेको छ जसमध्ये धनुषा ४ (१) को कूल मतदाता ४७ हजार सात सय १८ र (२) को कूल मतदाता ५० हजार छ सय ४२ रहेको छ । एमाले र जसपाको अलग–अलग प्रतिस्पर्धाले चुनाव जित्न नेपाली काङ्गेसका उम्मेदवार यदवलाई सहज हुने विश्लेषण पनि हुने गरेको छ ।
उम्मेदवारहरुको आ–आफ्नै दाबी
सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार यादव स्थानीय तहमा काँग्रेसको पहिलो मत र त्यसमाथि गठबन्धन दलको साथलाई आफू जित्ने बलियो आधार रहेको बताउँछन् । “गठबन्धनको मत जोड्दा एमाले भन्दा करिब दोब्बर हुन्छ । यो नै मेरो जितको बलियो आधार हो,” उनले भने ।
रघुवीर महासेठ आफू मन्त्री हुँदा यस क्षेत्रमा विकास निर्माणका काम गरेको र जनताले फेरि पनि आफूलाई जिताउने दाबी गर्छन् । “पहिला यो क्षेत्र विकासमा निकै पछाडि थियो । तर म निर्वाचित भएपछि छोटो समयमै थुप्रै पुल र कालोपत्रे सडक निर्माण गरे । एउटा पनि मठमन्दिर, मस्जिद र गुम्बामा छैन जसमा मैले सहयोग गरेको छैन । त्यसैले मप्रति जनताको ठूलो विश्वास छ । यो नै मेरो जित्ने बलियो आधार छ” उनले भने ।
जसपाका उम्मेदवार महाजन यादवले स्थानीय चुनावी नतिजाले क्षेत्रीय चुनावमा खासै फरक नपार्ने बताउँछन् । उनले भने“म लामोसमयदेखि जनतामा भिजेको नेता हुँ । जनताको ठूलो विश्वास र भरोसा छ ।”

 

प्रकाशित: २९ कार्तिक २०७९, मंगलवार ०३:३६

Leave a Reply