No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नुवाकोट-१ मा हितबहादुर तामाङ र बद्री मैनालीबीच टक्कर

0

नुवाकोट । मङ्सिर ४ गते हुने आमनिर्वाचनमा नुवाकोट क्षेत्र नम्बर १ मा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । गत आमनिर्वाचनमा सहयात्री भएका उम्मेदवार अहिले प्रतिस्पर्धी भएका छन् भने प्रतिस्पर्धी भएका अहिले सहयात्री भएका छन् ।

क्षेत्र नम्बर १ मा सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ चुनावी मैदानमा छन् । नेकपा एमालेको तर्फबाट बद्री मैनाली उम्मेदवार छन् ।

तामाङ र मैनाली अघिल्लो निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादीबीच चुनावी तालमेलको कारण सहकार्यमा थिए । सोही सहकार्यले २०७४ मा तामाङ प्रतिनिधिसभा र मैनाली प्रदेशसभामा निर्वाचित भएका थिए । मुलुकको राजनीतिक परिदृश्यमा आएको बदलाबसँगै मैनाली र तामाङ फरक कित्तामा छन् ।

र अहिलेको निर्वाचनमा आमनेसामने छन् । यो क्षेत्रमा मैनाली र तामाङबीच मुख्य प्रतिस्प्रर्धा हुने देखिएको छ । एमाले उम्मेदवार मैनालीले टोखा–छहरे सुरुङ मार्गको काम अघि बढाउने विषयलाई चुनावी एजेण्डाको प्राथमिकतामा राखेका छन् ।

उम्मेदवार मैनालीले भने, “पासाङल्हामु मार्ग जीर्ण अवस्थामा छ, यसलाई पूरा गराउने छौँं । क्षेत्र नम्बर १ का ४५ कृषि सडक जीर्ण छन् । तिनको स्तरोन्नति गरी पालिकासम्म पुग्ने बाटोलाई सहज बनाउने छौँ । दुप्चेश्वर, बाघमारामा केवलकार निर्माणको लागि पहल गर्नेछौँ ।” उनले आफ्ना क्षेत्रमा विगतमा सुरु भएका राम्रा कामलाई पूर्णता दिन लागिपर्ने समेत बताए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार तामाङले पनि विकासको विषयलाई चुनावी एजेण्डा बनाएका छन् । तामाङले नुवाकोटको लाइफलाइन छहरे–टोखा सडक बाह्रैमहिना सञ्चालन हुने बनाउने, हरेक पालिकामा सडक कालोपत्र गर्ने, कृषि उपजको उत्पादन र बजारीकरण लगायत र विगत्मा थालिएका योजनालाई सम्पन्न गराउने चुनावी एजेण्डा प्रस्तुत गरेका छन् ।

यो क्षेत्रमा गत स्थानीय तह निर्वाचनमा एमालेले पालिका अध्यक्ष/उपाध्यक्षमा एउटा पनि हात पार्न सकेन । ७ वटा स्थानीय तह रहेको यो क्षेत्रमा गत स्थानीय निर्वाचनमा तीन वटा पालिकामा अध्यक्ष÷उपाध्यक्ष नै र एउटामा उपाध्यक्ष नेकपा माओवादी केन्द्रले जित्न सफल भएको छ भने बाँकी नेपाली कांग्रेसले जितेको छ ।

कांग्रेस र माओवादी चुनावी गठबन्धन नभएको निर्वाचनमा माओवादी र कांग्रेसले नै स्थानीय तह जितेको थियो । अहिले कांग्रेस–माओवादीसहितको गठबन्धन चुनावी प्रतिस्पर्धामा छ ।

गठबन्धन र एमाले उम्मेदवारसँग टक्कर लिन साना तथा नयाँ दल र स्वतन्त्रका उम्मेदवारको लर्को लामै रहेको छ ।

क्षेत्र नं १ मा १६ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसका नेता डा रामशरण महतले २०५१ सालदेखि लगातार जित्दै आएको यो क्षेत्रमा २०७४ मा नेकपा एमाले माओवादी गठबन्धनबाट हितबहादुर तामाङ निर्वाचित भएका थिए ।

क्षेत्र नम्बर १ मा एक लाख २० हजार सात सय ५२ मतदाता रहेका छन् । प्रदेश क्षेत्र नम्बर १ मा ५९ हजार चार सय ५९ र प्रदेश २ मा ६१ हजार दुई सय ९३ मतदाता छन् ।

प्रदेश क्षेत्र नम्बर १ मा माओवादीका राधिका तामाङ र एमालेका सुशीलकुमार खड्का र प्रदेश क्षेत्र नम्बर २ मा कांग्रेसका रमेशकुमार महत र एमालेका पूर्णलाल श्रेष्ठबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

प्रदेश १ मा तामाङ र खड्कासहित सातजना र प्रदेश २ मा महत र श्रेष्ठसहित नौजना उम्मेदवार चुनावी मैदानमा छन् ।

प्रकाशित: ३० कार्तिक २०७९, बुधबार ०९:२८

Leave a Reply