No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सवाल प्रभुसत्ताको रक्षाको हो, आफ्नै मुलुकमा विदेशी भनिने स्थिति नआओस् भन्ने हो !

0

केशवप्रसाद भट्टराई ।
१. सवाल राजा ज्ञानेन्द्र वा राजसँस्थाको हुँदै होइन, राजसंस्थाले मुलुकलाई धेरै माथि उठायो भन्ने पनि होइन । राजसंस्था प्रजातान्त्रिक पनि नभएकै हो । तर हाम्रो राष्ट्रिय स्वतन्त्रता र सार्वभौमसत्ताको प्रतीकको रूपमा राजसंस्था थियो । मुलुक स्वतन्त्र र सार्वभौम रहिरहे ल अव यो बाटो जाऔँ , यसो गरौँ भन्ने अधिकार हाम्रो हातमा हुन्थ्यो । कस्तो राजनीतिक , सामाजिक र आर्थिक व्यवस्था निर्माण गर्ने भन्ने कुराबारे हामी नै अन्तिम निर्णय गर्ने हैसियतमा हुन्छौँ भन्ने हो । विकास केही वर्ष ढिलो होला तर हामीसँग आफ्नो राष्ट्र त हुन्छ नी ।

२. सिक्किम भारतमा विलय भएको झन्डै ५० वर्ष पछि पनि त्यहाँका नेपालीलाई विदेशी मूलका भनेर त्यहाँको सर्वोच्च अदालतले टिप्पणी गरेछ नी त । सिक्किमे नेपालीले आन्दोलन गरे र पछि अदालतले त्यो सच्यायो तर विवाद त उठ्यो । सिक्किममै सिक्किमे नेपालीले हामी विदेशी मूलका होइनौ भनेर आन्दोलन नै गर्नुपर्यो । देश नरहेपछि हामी यही देशका हौँ भन्न पनि आन्दोलन नै गर्नु पर्ने !

३. राजा हुन्जेल नेपालको स्वतन्त्रता र प्रभुसत्ताको सुरक्षामा प्रश्न थिएन । आज आएर एक जना अमेरिकी उच्च कूटनीतिक अधिकारी नेपालमा आएर तिम्रो प्रभुसत्ताको रक्षा गर भन्ने स्थिति त आयो नी । विश्वको एउटा सर्वशक्तिमान राष्ट्रले त्यो भन्नुको अर्थ धेरै गम्भीर र जटील सवाल हो –यसलाई सामान्य अर्थमा लिनुहुन्न । स्मरण रहोस स्वतन्त्र भारतले नेपालको प्रभुसत्तालाई मान्यता दिनुअघि अमेरिकाले नेपालको प्रभुसत्तालाई मान्यता दिएर दौत्य सम्बन्ध स्थापना गरेको थियो । त्यतिखेर चीनमा कम्युनिष्ट शासन थिएन –अमेरिका समर्थित शासन थियो भारत स्वतन्त्र भैसकेको थिएन । त्यसकारण अमेरिकाको नेपालसँगको सम्बन्धमा भूराजनीतिको सवाल नै थिएन–नेपालको प्राचीनता र पहिलो र दोस्रो विश्व युद्धमा नेपाली सेनाको वीरता र बहादुरीका कारण अमेरिकाको नेपालप्रति सद्भाव र मित्रताको भावना बढेको थियो ।

४. तर सवाल के पनि हो भने नेपालको प्रभुसत्ता कमजोर भएकै कारण नेपालबाट राजसंस्था हट्यो । राज्यको निर्णय क्षमता कमजोर र जीर्ण भएको अवस्थामा मुलुकमा सङ्घीयता र धर्म निरपेक्षता आयो । आखिर हामीले आफैं खुला मनले संसद भित्र र बाहिर छलफल र बहस गरेर गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षताको पक्षमा निर्णय गरेका त होइनौ । आफ्नो मुलुक भित्रको निर्णयमा राज्यको स्वामित्व हराएको बेलामा नै हामीले ती मूल्य, प्रणाली अँगालेका हौँ । अहिले आएर नेपालको प्रभुसत्ता राजा हटेको बेलाको भन्दा धेरै जीर्ण भैसक्यो, अब नेपाल आफैंले राजसंस्थालाई पुनर्स्थापना गर्ने सामर्थ्य राख्दैन न सङ्घीयतालाई नै बदर गर्न सक्दछ । हिन्दू राष्ट्रको सवाल पनि कम जटील छैन ।

५. त्यसकारण राष्ट्रिय सहमति कसलाई राष्ट्रपति बनाउने भन्ने सवालमा होइन, राष्ट्रपति जो भए पनि हुन्छ । त्यत्रा त्यत्रा सवालमा राष्ट्रिय सहमति नचाहिने पाँच वर्षे कार्यकालको सीमित संवैधानिक दायित्वको पदको निर्वाचनमा के को राष्ट्रिय सहमति, चुनावमा जो जित्छ जित्छ । सवाल प्रभुसत्ताको रक्षाको हो । प्रभुसत्ताको विस्तारको हो । आफ्नै मुलुकमा विदेशी भनिने स्थिति नआओस् भन्ने हो । त्यसमा खोज्नु पर्दछ राष्ट्रिय सहमति ।

 

प्रकाशित: २६ माघ २०७९, बिहीबार ०६:२८

Leave a Reply