महत्वपूर्ण खेलमा हौसला बढोस् भनेर प्रधानमन्त्री पुग्दा ‘प्रोफेशनल’ भनिने वर्गबाट क्षुद्र टिप्पणी किन ?
नारायण गाउँले ।
अन्तिम र निर्णायक म्याचमा प्रधानमन्त्री उपस्थित भएछन् । खेल हो, जीत हार त हुन्छ नै ।
आमसर्वसाधारणको प्रतिक्रिया त अलग हो, तर मैले चिनेका र सम्मान गर्ने धेरै पत्रकार, राजनीतिकर्मी र बुद्धिजीवीहरूले समेत खेल आधा पनि नहुँदै नतिजा आइसकेर नेपाल पराजित भइसकेको जस्तो भाषामा ‘पनौती, अलच्छिना र कुसाइत’ जस्ता शब्द प्रयोग गर्दै सार्वजनिक टिप्पणी गरेको देख्दा अलि नमज्जा लाग्ने रहेछ । खेलमा त खेल भावना छैन भने पत्रकारितामा व्यावसायिकता कसरी कायम गर्नुहोला तपाईंहरूले ?
राजनीतिक मुद्दामा प्रचण्डसँगका असहमति, विरोध या आरोप–प्रत्यारोप स्वाभाविक र सामान्य हुन् । हामी विश्वकै अग्ला टावरदेखि उच्चतम पूर्वाधार भएको युएईसँग पानी पर्दा ओत लाग्ने सुविधासम्म नभएको मैदानमा खेल्न बाध्य छौँ र यसको मुख्य जिम्मा पार्टीहरूकै हो । पार्टीहरूप्रति, नेताहरूप्रति आमजनताको रोष, आक्रोश र असन्तुष्टि सबै जायज हुन् । तर, कुनै महत्वपूर्ण खेलमा हौसला बढ़ोस् भनेर प्रधानमन्त्री पुग्दा ‘प्रोफेशनल’ भनिने वर्गबाट गरिने क्षुद्र टिप्पणी उस्तै होइन ।
त्यसै पनि हाम्रा अधिकांश नेतामा खेलकुद क्षेत्रप्रति लगाव छैन । केपी ओली, गगन थापा, कमल थापा, बालेन जस्ता एकाध नाम बिर्सिने हो भने देउवा, माधव नेपाल, सुवास नेम्वाङ उपेन्द्र यादवजस्ता शीर्ष नेताहरूबाट बिरलै खेलकुद क्षेत्रबारे ‘इनपुट’ भेट्नुहुन्छ । प्रचण्ड त्यहाँ पुग्नु राम्रै हो ।
खेलकुद क्षेत्र बिग्रिने भनेको राजनीति बिग्रेर होइन, बिग्रेको राजनीति खेलकुदमा छिरेर हो । निरन्तर युद्ध र अस्थिर राजनीतिकै बीचमा पूर्वाधारबिना उठेर अफगानिस्तान खेलिरहेकै छ ।
हाम्रोमा पनि राजनीति अलग रहोस्, अहिलेलाई त्यत्ति भए पनि पुग्छ । जीतभन्दा ठूलो जित्न सकिन्छ भन्ने आत्मविश्वास हो, जुन पछिल्लो नेपाली क्रिकेटले देखाएको छ । यो ऊर्जा कायम रहोस् ! हार्दिक बधाई !