No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न कांग्रेसको सुझाव

0

गण्डकी । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेको छ ।

शनिबार कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले पत्रकार सम्मेलन गरी माओवादी बाहिरिएसँगै सरकार अल्पमतमा परेको र विश्वासको मत पाउने सम्भावना नभएको भन्दै मुख्यमन्त्री अधिकारीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

उनले भने, ‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ ।’ कामचलाउ सरकार भएकाले आर्थिक दायित्व थुपार्ने, सरुवा–बढुवाका काम नगर्न मुख्यमन्त्री अधिकारीलाई पाण्डेले आग्रह गरे ।

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ ।

तर एमाले र राप्रपाका गरेर अहिले मुख्यमन्त्रीलाई २४ जनाको साथ छ । माओवादीले गत २५ पुसमा सरकार गठन गर्दा र २९ पुसमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा साथ दिएको थियो । राष्ट्रपति निर्वाचनमा केन्द्रमा समीकरण फेरिएसँगै एमाले नेताले नेतृत्व गरेको प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।

सरकारमा संलग्न माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री अधिकारीसमक्ष शुक्रबार साँझ राजीनामा बुझाएका छन् । माओवादी दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार राजीनामा दिएका हुन् ।

माओवादी केन्द्र सरकारबाट बाहिरिएसँगै गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । शुक्रबार माओवादीले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।

मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे स्वतः मुख्यमन्त्री बन्ने छन् ।

प्रकाशित: ११ चैत्र २०७९, शनिबार १२:४०

Leave a Reply