No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै प्रभाव र दबाब पर्दैनः प्रधानमन्त्री

0

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार राष्ट्रिय प्रजातन्त्र पार्टीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले दोषीले छुट नपाओस् र निर्दोष नपरोस् भन्नेमा सरकार स्पष्ट रहेको बताए । प्रधानमन्त्री दाहालले यस प्रकरणमा भइरहेको छानविनमा कुनै प्रभाव र दबाब पर्न नदिने प्रतिबद्धता पनि जनाएका छन् ।

उनले वर्तमान सरकार सुशासन, समृद्धि र संविधानको कार्यान्वयनमा पूर्ण प्रतिबद्धताका साथ लागिपरेको उल्लेख गर्दै कुनै पनि प्रभाव र दबाबलाई स्वीकार नगर्ने र पछि पनि नहट्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २०४६ सालपछिका राजनीतिक नेतृत्व र कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग समेटिएको ज्ञापनपत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाएपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले नक्कली शरणार्थी प्रकरणमा निष्पक्ष छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको बताए ।

प्रधानमन्त्रीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि यो महत्वपूर्ण अवसर रहेको भन्दै कुनै पनि कमी कमजोरी हुन नदिने बताएको उनले जानकारी दिए ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार १०:३१

Leave a Reply