No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

रायमाझीको बिरामी बिदाको निवेदन ल्याउनेको पहिचान गर्न सीसीटीभी फुटेज हेर्दै प्रहरी

0

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि फरार भएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी खोज्न संसद सचिवालयबाट सीसीटीभी फुटेज लगेको छ ।

प्रहरीले रायमाझीको बिरामी बिदाको निवेदन लिएर आउने व्यक्तिको पहिचान गर्न संसद सचिवालयको सीसीटीभी फुटेज लगेको हो । संसद् सचिवालयका सचिव रोजनाथ पाण्डेले प्रहरीले मंगलबार बिहान १० बजेदेखि ५ बजेसम्म संसद् सचिवालयका चार वटा सीसीटीभीको फुटेज लगेको जानकारी दिए । प्रहरीले वैशाख २० गते पक्राउ पुर्जी जारी गरेपछि रायमाझी फरार छन् ।

मंगलबार रायमाझीले आफू बिरामी रहेको भन्दै संसद् सचिवालयमा पत्र पठाएका थिए । यही प्रकरणमा संलग्न भएको आरोपमा रायमाझीका छोरा सन्दीप पक्राउ परिसकेका छन् ।

पक्राउ पुर्जी जारी भएका बेला गुल्मीमा रहेका उनी काठमाडौं आउने र अनुसन्धानमा सहयोग गर्ने बताएका थिए । तर त्यसपछि उनी सम्पर्कविहीन भएका छन् । शरणार्थी प्रकरणमा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित अहिलेसम्म १२ जनालाई पक्राउ गरिसकेको छ ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार १२:१८

Leave a Reply