No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारी अस्पतालका दुई हजार २८ शय्या निःशुल्क

0

 

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिहीबारदेखि सरकारी अस्पतालमा विपन्न, असहाय र बेवारिसे बिरामीको उपचारका लागि  दुई हजार २८ शय्या निःशुल्क गरिने बताएका छन् ।

बिहीबारदेखि उपत्यकाका गङ्गालाल हृदयरोग केन्द्र, प्रसूति गृह, कान्तिबाल र शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालले विपन्नका लागि निःशुल्क शय्या उपलब्ध गराउने उनले जानकारी दिए ।

“कान्तिबाल अस्पतालले ६० शय्या, परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले चार सय ५० शय्या, ट्रमा सेन्टरले एक सय ५० शय्या र शहीद गङ्गालाल हृदयरोग केन्द्रले ९० शय्या निःशुल्क गर्ने निर्णय गरेका छन्”, मन्त्री बस्नेतले  भने । उनका अनुसार अहिलेसम्म विपन्नका लागि निःशुल्क घोषणा गरिएका शय्याको सङ्ख्या दुई हजार २८ पुगेको छ ।

“वीर अस्पतालले सात सय शय्या र कोशी अस्पतालले तीन सय ३० शय्या निःशुल्क उपलब्ध गराउने यसअघि नै घोषणा गरिसकेका छन्”, मन्त्री बस्नेतले भने । उनले विस्तारै देशभरिका केन्द्रीय अस्पतालमा विपन्नका लागि निःशुल्क शय्या थप्दै जाने र ती शय्यामा उपचार पनि निःशुल्क हुने जानकारी दिए ।

शय्या निःशुल्क गरेपछि अस्पतालमाथि पर्ने आर्थिक भार कम गर्नका लागि केही बजेट सम्बन्धित अस्पतालले व्यवस्थापन गर्ने र अपुग रकम स्वास्थ्य मन्त्रालयले बेहोर्ने गरी काम भइरहेको मन्त्री बस्नेतले बताए । स्वास्थ्य उपचार पाउनु जनताको संवैधानिक अधिकार भएकाले उक्त निर्णय सबै अस्पतालले कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो  ।

निजी अस्पताल पनि जिम्मेवार भई नियम अनुसार कूल शय्याको १० प्रतिशत  विपन्नका लागि निःशुल्क छुट्याउनुपर्ने भन्दै मन्त्री बस्नेतले १० प्रतिशत शय्या निःशुल्क गर्ने नियम कडाइका साथ कार्यान्वयन गराइरहेको बताए ।

प्रकाशित: १३ असार २०८०, बुधबार १०:३२

Leave a Reply