No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एएफसी कपमा नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

0

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी) को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा मंगलबार साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो । लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो ।

यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो । पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए ।

उनले मछिन्द्र क्लबमा राष्ट्रिय खेलाडीसमेत समावेश रहेकाले आफूहरूले मछिन्द्र क्लबलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको बताए । मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने मौका पाउनेछ ।

उक्त खेल यही साउन ३१ गते हुनेछ । मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । उक्त खेलमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लू स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार १४:३०

Leave a Reply