No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कोशी प्रदेशका १२ जिल्ला डेङ्गु प्रभावित, ९ जनाको मृत्यु

0

धनकुटा । लामखुट्टेबाट सर्ने डेङ्गु रोगबाट कोशी प्रदेशका १४ मध्ये १२ जिल्ला प्रभावित भएका छन् । एक महिनाको अन्तरालमा डेङ्गुबाट नौ जनाको मृत्यु भएको र सोलुखुम्बु र ओखलढुङ्गा जिल्लामा भने हालसम्म रोग देखा नपरेको कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाले जानकारी दिएको छ ।

सबै मृतक सुनसरी जिल्लाका रहेको कार्यालयका जनस्वास्थ्य अधिकृत विवेचना गौतमले जानकारी दिए । चालु आर्थिक वर्ष २०८०/८१ को साउन महिनाको २१ दिनमा मात्र ती जिल्लामा सात हजार एक सय तीन जनालाई डेङ्गु लागेको छ । सबैभन्दा धेरै तराईका जिल्लाहरू प्रभावित भएका छन् जसमा सुनसरी र मोरङ जिल्ला प्रभावित रहेका छन् ।

सुनसरीमा हालसम्म नौ जनाको मृत्युसहित चार हजार सात सय ४१ जना डेङ्गु सङ्क्रमित भएका छन् । त्यस्तै मोरङमा एक हजार एक सय ७१ जना सङ्क्रमित भएका छन् । दुई जनाको मृत्यु भएको भनिए पनि आधिकारिक पुष्टि हुन बाँकी रहेको अधिकृत गौतमले जानकारी दिए । दुई जिल्लापछि झापामा पाँच सय २८ जना सङ्क्रमित रहेका छन् ।

तराईसँग जोडिएका जिल्लाहरूमा उदयपुर र धनकुटा सबैभन्दा बढी प्रभावित रहेका छन् । उदयपुरमा एक सय ८३ र धनकुटामा एक सय ३७ जनालाई डेङ्गु लागेको छ । त्यसपछि भोजपुरमा ९०, सङ्खुवासभा ८९, तेह्रथुममा ६७, इलाम ३५, पाँचथर १६, ताप्लेजुङ १२ र खोटाङमा चारजना डेङ्गु सङ्क्रमित रहेको कार्यालयले जानकारी दिएको छ ।

बढ्दो सङ्क्रमणलाई ध्यानमा राखेर कोशी प्रदेश स्वास्थ्य मन्त्रालयले कोशी प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटालाई रोगसँग लड्न तयारी अवस्थामा रहन निर्देशन जारी गरेको छ ।

प्रकाशित: २२ श्रावण २०८०, सोमबार १६:४४

Leave a Reply