No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि दङ्ग किन नपरौं ?

0

विष्णु रिमाल ।

भदौ १३ गते सिराहाको सर्रे अम्बासमा मलाई देख्नासाथ धनकुटाका पाका कमरेड गोपाल गुरागाईँले सोध्नु भयो– त्यसबेला सबैभन्दा पछि आउने फुच्चे–फुच्चे महाधिवेशन प्रतिनिधि तपाईँ नै हो नि हैन ? जवाफमा म हाँसें मात्र । मेरो हाँसोबाटै उहाँले उत्तर पाउनु भयो सायद । उहाँ पनि मैन रहनु भयो । मेरो मनमा भने ३४ वर्ष अघिको स्मरण पत्र पत्र भएर आए । ३४ वर्ष अघि तत्कालीन नेकपा (माले)को चौथो महाधिवेशनमा सुरुमै महाधिवेशनस्थल पुग्ने, तर महाधिवशेन सुरु हुँदाचाहिँ सबैभन्दा ढिलो देखा पर्ने ‘केटो’ म नै थिएँ ।

नेकपाको चौथो महाधिवेशन स्थल सर्रे अम्बासमा मेरो जिम्मेवारीको प्राबिधिक पक्ष त्यति उत्पात केही पनि थिएन । हलको आन्तरिक साजसज्जा गर्ने र साउण्ड सिस्टमको व्यवस्था गर्ने । त्यतिबेलाको चलन अनुसार साजसज्जा गर्नु भनेको सहिद र अन्तर्राष्ट्रिय ‘प्राधिकार’हरुको फोटो भित्तामा टाङ्ने, आकर्षक अक्षरमा लेखिएका मोटिभेसनल नारा लेखिएका राता तुलहरु र उद्घाटनको ब्यानर तयार पार्ने र उपयुक्त ढङ्गले भित्तामा टाङ्ने । वस् यत्ति भएपछि मेरो काम पुग्यो । साउण्ड सिस्टम मिलाउन चाहिँ चुनौतिपूर्ण थियो । बाहिर आवाज पुग्न नहुने, तर हलभित्र प्रष्टै सुनिने बनाउनु पर्थ्यो । मलाई यी काममाथि पार्टी हेडक्वार्टरले अर्को काम पनि थपेको थियो– महाधिवेशनको डकुमेन्ट प्रडक्सन गर्नु पर्ने । त्यतिखेर कम्प्युटर टाइप प्रयोगमा आइसकेको थिएन । थोरै कागजमा, लामा विश्लेषण गरिएका डकुमेन्ट तयार गर्नुपर्ने चुनौति थिए ।

यसअघि सबै तयारी पूरा भएपछि सूचना लिक भएको आशंकामा सिराहाकै मेथियाई गाऊँमा तय गरिएको महाधिवेशन रद्द गरिएको थियो । त्यसको करिब अढाइ महिनापछि म फेरि त्यही काम गर्न हप्तादिन अघि सर्रे अम्बास जाँदै थिएँ । महाधिवेशनस्थलको सुरक्षालाई ध्यानमा राखी नेता, प्रतिनिधि तथा स्वयंसेवकहरुलाई विभिन्न गौंडाबाट त्यहाँ लगिएको थियो । म अन्तिम स्पटबाट महाधिवेशनस्थलतिर जाँदैगर्दा भने म हुनेवाला महासचिव मदन भण्डारीसँगै थिएँ ।

अहिले ३४ वर्षपछि पनि सर्रे अम्बास पुग्न राइनी खोलाले तीन/तीन ठाँउमा रोक्छ । त्यतिबेला पैदल हिंड्न समेत खोलाले छेक्थ्यो । अहिले बाइकमा र पैदल यात्रा गर्नेहरु झोलुङ्गे पुल हुँदै तर्दा रहेछन् । तर भेल बढेको बेला गाडी सहित तर्न नसकिने रहेछ । सञ्चार सुबिधाबाट त्यो ठाउँ अझै पर रहेछ ।

त्यसबेला हामी दुबैले महाधिवेशनका दस्तावेज र मेरो प्राबिधिक कामका लागि आवश्यक पर्ने सामग्रीका गह्रौँ झोला बोकेका थियौं । तर हाम्रा उद्देश्यका अगाडि पिठ्युँमा बोकेका झोला हलुंङ्गा लाग्थे । मनमा भारी बोकेर हिंड्नु र पिठ्युँमा भारी बोकेर हिंड्नुको भिन्नता मैले त्यसबेला अनुभूत गरेको थिएँ । रातीको यस्तै १२/१ बजेको हुँदो हो । पूर्णिमा आसपास भएकाले जूनको उज्यालेले हामीलाई बाटो देखाएको थियो । चन्द्रमालाई बादलले छेकेको बेला हामी पैतालाले जमिन छामेर हिंड्थ्यौं । तेस्रो घुम्तिमा खोला तर्नुअघि कमरेड मदनले भन्नुभयो– ‘कुन बेला कहाँ कसले प्याक्क हानेर सिध्याउँछ, के मरिहत्ते गर्नु ? आउनुस् एकछिन थकाइ मारौं ।’ हामी दुबै आकाश हेर्दै चौरमा केहीबेर निस्फिक्री पल्टियौं । खुला चौरमा पल्टेर थकाइ मार्दा मदनका मनमा के खेलिरहेको थियो कुन्नी । उहाँले नै फेरि सोध्नुभयो– ‘यी डकुमेन्टहरु तपाईंले पहिले पनि ल्याएर छोड्नु भएको थियो हैन र ?’

मैले छोटो उत्तर दिएँ– ‘हो ।’

उहाँले तत्काल पिठ्युँको भारी हलुका बनाउने उपाय निकाल्नु भयो– ‘त्यसो भए यी भारी किन बोकी रहने त ?’

उहाँको यो प्रश्नसँगै हामीले यी दस्तावेज अनावश्यक रहेको ठान्यौं । मैले झोलाबाट डकुमेन्ट निकालें र मदनले पाइन्टको खल्तीबाट सलाई निकालेर कोर्नु भयो । हामीले सबै डकुमेन्टमा आगो लगायौं । थकाइ मार्दामार्दै डकुमेन्ट छिन्भरमा जलेर खरानी भए । हामी हल्का झोला बोकेर महाधिवशेनस्थल पुग्यौं ।

भदौ ७ गते । त्यतिखेर म ‘टु–इन–वान’ भनिने नेशनल पानासोनिक कम्पनीको टेपरेकर्डरको माइक्रोफोनमा लठ्ठीहरु बाँधेर बनाइएको ‘माइक स्ट्याण्ड’मा जोड्दै थिएँ । एक्कासी मदन कमरेड अलि आत्तिए झैं म भए ठाउँमा आउनु भयो । सायद त्यसबेला उहाँहरु पोलिटव्युरो बैठक बसिरहनु भएको थियो । हतासिएको आवाजमा उहाँले सोध्नु भयो– ‘पहिले ल्याएको डकुमेन्ट कहाँ छ ?’

मैले सहजै उत्तर दिएँ– ‘कमरेड आर (माधव नेपाल)लाई थाहा छ, उहाँलाई दिएको हो ।’

पश्चाताप भावमा मदनले मसिनो स्वरमा भन्नु भयो– ‘गल्ति भयो जस्तो छ कमरेड ! राजनीतिक प्रतिवेदनमा संशोधन भएकोले तपाईँलाई रि–प्रडक्सन गर्न भनिएको हो । पहिलेको त्यो त काम लाग्दैन नि !’

उहाँको कुराले गौंथलीले महिनौं लगाएर बनाएको गुँड भत्कैजस्तै म पनि खङ्ग्रङ्ग भएँ ।

त्यतिबेला म काठमाडौं मजदुर विशेष जिल्ला संगठन कमिटीको प्रमुख (सचिव) थिएँ । मैले भनें– ‘केन्द्रले गरेको करेक्सन त मैले कसरी जान्नु र कमरेड !’

मदन फर्किनु भयो । उहाँ फर्किएको मिनेट भरमै ‘आग–बबुला’ हुँदै माधव नेपाल आउनु भयो । उहाँले चोर औंला नचाउँदै भन्नुभयो– ‘डकुमेन्ट खै ? ल्याउनुस् …!’

मैले भनें– ‘पहिलेको तपाईंलाई नै छोडेको हो, अहिलेको त डढाईयो कमरेड !’

माधव अझै पड्किनु भयो– ‘तपाईँ गैर जिम्मेवार … ।’

मसँग चर्केर बोल्दा माधव नेपालको अनुहार पनि चर्केको थियो । उहाँ भित्रैदेखि रिसाउनु भएको प्रष्ट देखिन्थ्यो । उहाँले मलाई अझ कडा आलोचना गर्दै चेतावनीयुक्त सजायँ सुनाउनु भयो– ‘पर्सि (भदौ ९ गते) महाधिवेशन सुरु हुँदा मलाई सबै डकुमेन्ट जस्ताकोतस्तै चाहिन्छ, म अरु कुरा जान्दिनँ ।’

मेरो गल्ती नभएको कुरा मैले पनि उहाँलाई बुझाउन खोजें र भनें– ‘पुरानो डकुमेन्टमा परिवर्तन भएको कुरा कमरेडहरुले पनि भन्नु भएन, मैले सोध्न मिलेन ।’

मेरो गल्ती नभए पनि स्पष्टिकरणले माधवलाई चित्त बुझेन । उहाँले डकुमेन्ट जसरी पनि मैले नै उपलब्ध गराउनु पर्ने आदेश सुनाउनु भयो ।

उपाय निकाल्दै मैले भनें– ‘ठीक छ कमरेड, मलाई ‘राजमार्ग’सम्म पुर्‍याउने व्यवस्था होस् । आज राति नै काठमाडौं पुग्छु । सामग्री सहित पर्सि बिहान राजमार्गमा नै हाजिर हुन्छु । त्यहाँबाट यता ल्याउने प्रबन्ध होस् ।’

गल्ती जसको भए पनि महाधिवेशनका लागि तयार भएका डकुमेन्ट त ल्याउनै पर्ने थियो । भयो पनि त्यस्तै । म डकुमेन्ट लिन काठमाडौं आउनु पर्ने भयो । म ७ गते राति भारी मनले काठमाडौं फर्किएँ । लगातारको हिंडाइले थकित भएको म राजमार्गबाट बस पक्रेर काठमाडौं आइपुगें ।

कुपण्डोलमा पार्टीका साथी कवीन्द्र अमात्यको घर छ । उहाँकै घरमा हामीले पार्टी केन्द्रको छपाइको काम गर्न हेभि–ड्युटीवाला फोटोकपी मेशिन राखेका थियौं । त्यहाँ पहिले फाटोकपी गरेका सबै दस्तावेजको मास्टर–कपी सुरक्षित थियो । सायद त्यतिखेर सयको हाराहारीमा महाधिवेशन प्रतिनिधि हुनुहुन्थ्यो । जलाइएका सबै दस्तावेजलाई मैले सबै प्रतिनिधिलाई पुग्नेगरि फोटोकपी गरें । सेन्टर स्टीच गरी कितावजस्तै बनाएँ र राति नै फर्किएँ ।

मलाई भनिएको थियो– ‘बसबाट ओर्लिएपछि चरा कराएको आवाज सुन्नू, जताबाट आवाज आउँछ, त्यतै जानू । जो व्यक्ति भेटिनुहुन्छ, उहाँकै पछि लाग्नू ।’

पूर्व जाँदा हामी त्यतिखेर लालीमा यातयाताको बस चढ्थ्यौं । लालीमा यातायातको बसले बिहान करिब ३/४ बजेतिर मलाई पुलिस पोस्टकै छेऊमा झारिदियो । अहिले ठ्याक्कै स्मरण छैन, त्यो कटारी वा मिर्चैया कतै हुनुपर्छ । झोलाभरि संवेदनशील दस्तावेज छन् । नजिकै प्रहरी स्टेशन छ । त्यहाँको केही पनि लोकशन नजान्ने म, अनेक जोखिमीहरुको भारी बोकेर उभिइरहेछु । चरा कराएको आवाज कतैबाट पनि आउँदै आएन । झण्डै ४५ मिनेट जति उभिएपछि चरा करायो । मैले चरा कराएको आवाजतिर आँखा दौडाएँ । खुट्टा खञ्च्याङ् खञ्च्याङ् खोच्याएर कमरेड लाल (रामऔतार पासवान) देखिनु भयो । मैले उहाँको कानैमा फुसफुसाउँदै सोधें– ‘किन ढिला कमरेड ? संवेदनशील ठाँउमा यति बेरसम्म कुर्न पर्‍यो, केही भएको भए कति ठूलो क्षति हुन्थ्यो होला !’

बाटोमा आउँदै गर्दा रामऔतार कमरेडको अर्को दु:खद् घटना भएछ । उहाँले घटना सुनाउनु भयो– ‘म समयमै आइपुग्थें, बाटोमा सर्पले टोक्यो । अब गोमनले डस्यो, मरिने भइयो भन्ने लाग्यो । बाँचि पो हालिन्छ कि भनेर स्वास्थ्य चौकी खोज्नतिर लागें । बाँचें भने त म तपार्इंलाई लिन आइहाल्थें । मरिने भयो भने के गर्ने ? तपाईँ के गर्नु होला ? कम्युनिस्ट मान्छे, मर्नैलाग्दा ‘राम–राम’ भन्नु भएन, के भन्ने होला ? आपत पर्‍यो । बाटाभरि माओत्से तुङ, माओत्से तुङ भन्दै हिँडें ।’

गोमनले डसेको पीडादायी कहानी पनि रामऔतारले हल्का मनोरञ्जनात्मक शैलीमा सुनाएपछि मैले पर्खनु पर्दाको कठीनाइ पनि भुलें ।

त्यो अप्ठ्यारो समयमा पनि लालका कुराले मलाई रोमाञ्चित गर्‍यो । सम्झें– हाम्रो पार्टी पङ्ति कसरी धार्मिक अन्धविश्वास र भौतिकवादको छिपछिपे ज्ञानबीच रुमल्लिइरहेको छ । बिडम्बना पनि कस्तो ! मृत्युको भयाक्रान्त शंसयमा पनि यी कमरेड (सायद) स्वर्ग जान जुन माओको नाम जप्दै थिए, आजबाटै सुरु हुने महाधिवेशनले त्यही माओको विचारधारा पार्टीले मार्गदर्शक सिद्धान्तबाट हटाउँदै थियो ।

लाल कमरेडसँग विष्णुपुरवा गाँउ पुग्दा झिसमिसे उज्यालो भयो । गाउँलेहरु हातमा लोटा लिएर बाटो छेउमा मलमुत्र त्याग्न लामबद्ध हुन थालिसकेका थिए । हामीलाई उज्यालोमा हिंड्ने अनुमति थिएन । उता ९ गते महाधिवेशन सुरु हुनुअघि दस्तावेज पुग्नै पर्ने । कमरेड लालले मलाई एउटा सेल्टरमा राख्नु भयो । मैले पार्टीलाई आफू आइपुगेको र महाधिवेशनस्थलमा आउने अनुमतिको लागि पत्र लेखें । मलाई त्यो सेल्टरबाट सर्रे अम्बास कति पर छ, त्यो पनि थाहा थिएन । दिउँसो त्यस्तै ४ बजेतिर होला म महाधिवेशनस्थल पुगें । त्यतिखेर महाधिवेशन सुरु भइसकेको रहेछ । जीवराज आश्रित मैले लौरो बाँधेर बनाएको माइक स्ट्याण्डअघि उभिएर उद्घोषण गर्दै हुनुहुँदो रहेछ । मलाई देख्नासाथ ‘कमरेड.. काठमाडौंबाट भर्खर आइपुग्नु भयो’ भन्नुभयो । त्यो जीवन्त र ऐतिहासिक महत्वको महाधिवेशनमा अन्तत म पनि सहभागि हुन सकें ।

अस्ति गोपाल गुरागाईँ कमरेडले त्यही सन्दर्भलाई स्मरण गर्दा मलाई एकैछिन् महाधिवेशनको त्यस क्षणको नियास्रो लाग्यो । ‘यदि आज मदन जीवित हुनभएको भए …!’ पार गरेको समयको दुरीसँगै मानिसको मनमा यस्तो भावना आउँदो रहेछ । ‘यदि चौथौ महाधिवेशनले कोर्स करेक्सन नगरेको भए …’ सँगसँगै यो पनि आइहाल्दो रहेछ । भावना र समय दुबै अदृश्य छन्, तर तिनका परिणामहरु दृश्यमै छन् । ती कहिल्यै नमेटिने हुँदा रहेछन् ।

अहिले सम्झन्छु– ‘२०४६ सालको चौथो महाधिवेशनदेखि २०७८ सालको दशौं महाधिवेशनसम्म पार्टी भित्र ‘व्यवस्थापन’ भन्ने विषयले मलाई छोडेको छैन, भलै भूमिका फरक फरक किन नहोस् ! सर्रे अम्बासमा नेकपा स्थापनाको हिरक स्तम्भ निर्माणको शिलान्यास भदौ १३ गते भयो । त्यस स्मारक निर्माण समन्वयको अहिले पनि मेरो जिम्मामा परेको छ । पार्टीमा लाग्दा जिम्मा पाउँदा जो पनि दङ्ग पर्छन् । ऐतिहासिक महत्वको जिम्मा पाउँदा म पनि दङ्ग किन नपरौं ?

bishnurimal.com.np बाट सभार

प्रकाशित: १६ भाद्र २०८०, शनिबार ०९:५८

Leave a Reply