रोश्नी रावल ।
चिरविर चिरविर चरिको आवाज र झ्यालबाट निस्केको मन्द उज्यालो छर्दै गरेको विहानसँगै म पनि प्युपाबाट निस्किन लागेको पुतली जस्तै तातो ओछ्यानबाट ओड्नेलाई पन्छ्याउँदै उठ्छु । पुसको महिना छ । पानीबाट जमेको बरफ जस्तै चिसो मौसम छ । उदाउँन लागेको सुर्यलाई चारैतिरबाट कालो बादलको मुस्लोले घेरिराखेको छ । भर्खर १४ टेकेकी हजुरआमाकी प्यारी म हजुरआमाले बनाउनु भएको तातो चियाको सुर्को तान्नलाई भान्छातिर लाग्छु ।
चियाको मिठास जिब्रोमा दौडिईरहंदा मेरा कानमा कसैको आवाज घुस्रिन पुग्छ । हजुरआमाले चुलोतिर आगोको एक अगुल्टो ठोस्दै भन्नुहुन्छ “बाहिर गएर हेनर्, तँलाइ कसैले बोलाको होकि” । म चियाको गिलास हातमै बोकेर बाहिर निस्कीन्छु । बाहिर कसैलाई देख्दीन । त्यसपछि त्यो आवाजको उत्तर आवाजले नै दिन्छु । “को हो मलाई बोलाउने ……?”
रुजा दिदी मेरो अगाडि तुरुन्तै हाजीर हुनुभयो । “म सँग जङ्गलमा बाख्रा चराउन जाने हो” दिदीको यो प्रश्नले एक अन्जुली मनपर्ने चकलेट टक्र्याएको जस्तै महसुस हुन्छ । मैले पनि मुसुक्कै हाँसेर भने, हुन्छ नि म जान्छु है । एक पटक हजुरआमालाई सोधीहाल्छु है त । दिदीलाई जहांको त्यहि छोडेर म हजुरआमाको अनुमति लिन भित्र जान्छु । बाख्रा गोठालो मेरो लागि मेला हेर्न गए जस्तै रमाईलो ठाउँ हो ।
हामी केहि समय हिँडेर खोला पारीको जङ्गलमा पुग्छौँ । दिनभरि गफ गर्दै बस्छौँ । दिदीसँग हिंडेपछि समय वितेको पतो पनि हुंदैन । यसरी गफमा रमाएर मस्त भएको बेला मलाई कता कता शरिरको तल्लो भागतिर केहि टाँसिएको र चिसोपनको महसुस थाल्छ । मन पनि एकैछिनमा चिसो हुन थाल्छ । कतै महिनावारी त भईंन भन्ने डरले मन भित्र भित्रै छट्पटाउन थाल्छ । दिदीलाई भन्ने आंट पनि गर्न सक्दिन । दिदीलाई केही नभनी हतारहतार पानी भएको ठाउँमा पुग्छु । रातो रगत सुरुवाल भरि टाँसिइसकेको रहेछ । डर, लाज र छट्पटाईले सुरुवालको रगत भन्दा बढि मेरो अनुहार रातो भईसकेको छ । दिदीलाई कामको बाहाना बनाएर म हतार हतार घर आउँछु र म मुसाको चाल झैं सुटुक्क महिनावारी हुँदा बस्ने छाउगोठमा लुक्छु । पुस महिनाको चिसोले गर्दा छाउगोठका भित्ताहरु पसिनाले भिजेको शरिर जस्तै ओसिएका छन् । ओड्ने र ओछ्यान बिनाको खाली भूइमा म लाजले भरिएको अनुहार लिएर घोप्टीइरहन्छु । यतिखेर म आफुलाइ एकदमै ठुलो गल्ती गरेर सजाय भोग्न सुरु गरेकि कैदी जस्तै महसुस गर्दैछु । एकछिनपछि आमा र हजुरआमा खोज्दै आउनुहुन्छ “कतै रोश्नी छाउ (महिनावारी) त भइन..?” हजुरआमाले बिस्तारै आमालाई सोध्नुहुन्छ । केहीबेरपछि आमा प्याट प्याट चप्पलको आवाज सँगै म बसेको छाउगोठको छेउमा आइपुग्नुहुन्छ र छाउगोठको झ्याल हातले घचेट्न थान्लुहुन्छ । मलाई लाजले उहाँहरुको अनुहार हेर्ने आँट नआएर झ्याल भित्रबाट कसेर धकेल्छु । अन्त्यमा उहाँहरुको आगाडि केही नलागेपछि झ्याल खोलिदिएर भित्तापटी फर्किएर बस्छु ।
साँझमा म छाउ भएको खवर सुनेर केहीबेर मेरा साथीहरु आउँछन् । उनीहरु मलाई जिस्काउँदै अलि हाँस्दै एकपछि अर्र्काे भित्र पस्दै मेरो छेउमा बस्छन् । हामीले एकअर्कालाई राम्रोसँग देखिराखेका छैनौँ । हामी चारैतिरबाट कालो पर्दाले ढाकेजस्तै अँध्यारो गोठभित्र छौं । न त उज्यालो बाल्ने साधन छ न त भूइँमा ओछ्यान नै…। एकैछिनमा बैहिनीले एउटा पातलो अलि फोहोर देखिने ओढ्ने र उस्तै देखिने एउटा ओछ्यान लिएर आउँछे । यत्तिकैमा माथिको तलाबाट हजुरआमाले आवाज लगाउनु हुन्छ “अँध्यारो होला झरा (सल्लाको भित्रि भागको मैनबत्ती जस्तै बल्ने भाग) बालेर लैजाउ है……। हजुरआमाको आवाज सुनेपछि एकजना दिदी जुरुक्क उठेर रातो झरामा आगो बालेर म बसेको गोठमा टाउको निहुराउँदै भित्र पस्नुहुन्छ । मैले अलि लजाउँदै भन्छु “टाउको ठोकिएला है । ढोका सानो छ ।” अरु दिदीहरु हाँस्दैहुनुहुन्छ ।
सँधै परिवारसँग गफ गर्दै उज्यालो कोठामा बस्न बानी परेकी मलाई त्यो गोठ कुनै गुफा भन्दा कम लागेको छैन । घरको माथिल्लो तलामा सबैजना बसेर गफ गर्दै खितित्त हाँसेको तल म बसिरहेको गोठमा सुनिइरहेको छ । घरको बार्दलीमा बलिरहेको उज्यालो बत्तीको केही किरणहरु म बसिरहेको गोठको नजिक नजिकसम्म पुगिरहेका छन् । रात बित्दै छ तर आँखामा अलिकति पनि निन्द्राले छोएको छैन ।
एउटा पातलो ब्ल्याङ्केटमा लटपटिरहेकी छु । पुसको चिसो सिरेटोले खुट्टादेखि शिरसम्म प्रवेश गरिरहेको छ । म भने थरथर कापरिहेकी छु । ब्ल्याङ्केटलाई शिरदेखि पाउसम्म गुटुमुटु च्यापेकी छु । दुई वटा हातहरुलाई दुई वटा खुट्टाको बिचमा च्यापेर शरिरलाई तातो बनाउने प्रयास गरिरहेकी छु । अनि मनमा अनेकथरिका कुराहरु सोच्दै छु । राति एक्कासी पिसाव लागिहाल्यो भने कता जाने होला ..? चर्पी जाँदा कोही थाहा पाउँछन् कि, हैन यस्तो पानी अनि हिलोमा भोलि बिहानै ऊ परसम्मको खोलामा कसरी नुहाउन जाने होला …? सात –सात रात कसरी कटाउने होला ह्या ! कस्तो मोही खाने तिर्खा पो लाग्यो हौ के गर्ने होला…., यसको लागि पनि सात दिन नै कुर्नुपर्छ । ऊ त्यो भित्रको मेरो आफ्नै कोठामा बाक्लो सिरक ओडेर आनन्दले सुत्न पाए त हुने नि……………………………। मनमा यस्ता हजारौं प्रश्नहरु आइरहँदा किन छोरी भएर जन्मेकी होला ? जस्तो महसुस हुन थाल्यो । आफूलाई छोरी भएकोमा आफैंसँग घृणाको महशुस हुन थाल्यो । पहिलोपटक महिनावारी हुँदा र छाउघरमा बस्दाको तितो अनुभवले गर्दा त्यसपछिका दिनहरु मैले आफूलाई घृणा गरेर नै बिताउन थालें । आफू छोरी भएकोमा पछुतो मात्र लाग्ने, म किन छोरा भएर जन्मिन सकिन जस्तो लाग्ने अनि महिनावारी हुँदा त झनै आफूप्रतिको घृणा बढ्न थाल्यो ।
छोरी भएरै जन्मेको कारणले बढ्दै गएको यो स्वघृणालाई छोरीसंस्थाले धनगढीमा संचालन गरेको ७ दिने किशोरी रुपान्तरण तालिमले पूर्ण रुपमा परिवर्तन गरिदियो । त्यतिमात्र नभएर यस तालिमले छोरी भएर गर्व गर्न समेत सिकायो । कस्तो संजोग, त्यो तालिम किशोरीहरुको महिनावारीसँगै सम्बन्धि थियो । एउटी किशोरीको महिनावारी सुरु भएपछि प्रत्येक महिनाभरी अर्थात् २८ दिनसम्म हुने शारीरिक, मानसिक र संवेगात्मक परिवर्तनको बारेमा जान्ने मात्र नभई स्वयं अनुभव गर्ने अवसर समेत प्राप्त भयो । यि २८ दिनमध्ये हाम्रो दिमाग कुन बेलामा सवैभन्दा तेज हुन्छ ताकि हामी हाम्रो बढि भन्दा बढि समय पढाईमा खर्च गर्न सक्छौं, कुन समय हामी शारीरीक तथा मानसिक रुपमा सृजनात्मक हुन्छौं ताकि हाम्रो बढी समय नयाँ कामको सिर्जना गर्न सक्छौं । हाम्रो लागि सात सात दिनमा परिवर्तन हुने चक्रहरु प्रि ओभ्युलेसन, ओभ्युलेसन, प्रि मेन्सुरेसन र मेन्सुरेसनले प्रत्येक ७ दिनमा कसरी फरक भूमिका खेल्ने रहेछन् । फरक फरक तरिकाबाट हामीलाई अझै दिमागी रुपमा तेज बनाउन, शारीरीक रुपमा उर्जावान र भावनात्मक रुपमा आफ्नो र अरुको स्याहार गर्न सक्ने क्षमताको विकास गर्दै लैजाने रहेछ । हामीले प्रत्येक महिना पाउने यस शक्ति सँगै महिनावारीको समयमा हामीले कसरी आफूले आफूलाई ध्यान दिनु जरुरी छ ताकि हामी बाँकी दिनहरुमा उर्जावान, शक्तिले भरीपूर्ण र पूर्ण जाँगरका साथ बिताउन सक्ने रहेछौं भनेर पनि उत्तिकै मौका मिल्यो। यसरी त्यस तालिमले मलाई मेरा आफ्ना शरीरका गुणहरु, मेरा क्षमताहरु पहिचान गर्न बाटाहरु देखाईदियो । त्यसपछि छोरी भएर जन्मनु कुनै श्राप भन्दा पनि बरदान जस्तो लाग्न थाल्यो । उक्त तालिम लिईसकेपछि मैले के महसुस गरेँ भने महिनावारी हुनु त दोस हैन रहेछ । यो त मात्र एउटा प्राकृतिक पकृया रहेछ । यो त एउटा महिला वा किशोरीलाई आराम गर्नुपर्छ भनेर छुट्याइएको दिनहरु रहेछ । मेरो परिवार र समाजले कसरी हामीलाई अज्ञानताको जकडीमा परेर यस्तो रुढिवादी परम्परालाई निरन्तरता दिन बाध्य पारेका रहेछन भन्ने राम्ररी बुझ्न सकें । मैले विस्तारै आफुलाई परिवर्तन गर्न थालेँ । महिनावारीका सुरुका दुई वर्ष गोठमा नै अध्यांरा र असुरक्षित दिनहरु बिताएकी म अहिले महिनावारीको समयमा पनि अन्य दिनहरु जस्तै सामान्य दिन बिताउन थालिसकेको छु ।
त्यति मात्र नभएर म महिनावारी भएको बेला छुँदामात्रपनि बिरामी पर्ने मेरी आमा अहिले काठमाडौं आउँदा एउटै कोठामा मसंगै बसेर खुसीका साथ मैले महिनावारी हुँदा पकाएको खाना खाएर बस्छौं । महिनावारी भएको पाँचौ दिनमा समेत नुहाएर आमाको कोठामा जाँदा पनि उहांको कपडा छुन नदिने मेरी आमा अहिले मेरो महिनावारीको अवस्थामा हामी एउटै ओछ्यानमा संगै सुत्ने गर्छौ । त्यस्तै अहिले मेरा गाँउघरमा पनि पहिलेका दिनहरुभन्दा निकै परिवर्तन भैरहेको छ । तालिमपछि मैले त्यहाँका किशोरी तथा महिलाहरुलाई भेटेर महिनावारीको बारेमा सकारात्मक कुराहरु सुनाउदै जाँदा उहाँहरुलाई मेरो कुरामा विश्वास लाग्न थालेको छ र विस्तारै वहाँहरुपनि म जस्तै परिवर्तन भइरहनु भएको छ ।
जसरी म एउटा गोठको यात्रा हुदै आफैंले बनाएको खाना परिवारलाई खुवाउनसम्म पुगें त्यो नै मेरो छाउपडी प्रथासँगको सघर्षमा एउटा सफलता हो ।एकैचोटी सबैकुरा सम्भव हुन्छ र अरुको सोच परिवर्तन गर्न सकिन्छ त म पनि भन्न सक्दिन तर बिस्तारै आफू स्वंयमा विश्वास राखेर आफ्नै घरबाट आफैले परिवर्तन गर्न थालियो भने यो कुरा असम्भव पनि छैन भन्ने कुरामा म विश्वस्त छु ।
आज ऋषि पन्चमीको दिनमा सवै किशोरी तथा महिलाहरुलाई के सन्देश दिन चाहान्छु भने महिनावारी हुनु भनेको कुनै पाप हैन र पाप गरियो कि भनेर डराएर नबसौं । पाप पखाल्नुपर्छ भनेर भ्रममा नपरौं । तपाईं अन्य मानीसहरु जस्तै एक स्वतन्त्रपुर्वक जीवन बाँच्ने हैसियत राख्नुहुन्छ । त्यसैले महिनावारीको समयलाई एक सामान्य शारिरीक प्रकृया मानेर स्वीकार गर्नुस् । आफ्ना जीवन खुसीले र ढुक्कले बाँच्नुस् ।


