+

वीपी प्रतिष्ठानका कम्प्युटर इन्जिनियरको नक्कली प्रमाणपत्र, मुद्धा दायर

१५ श्रावण २०८३, शुक्रबार १७:४५

काठमाडौं । वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कम्प्युटर इन्जिनियरका रूपमा कार्यरत राकेशकुमार दासविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सरकारी जागिर लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

अनुसन्धानका क्रममा दासले प्रतिष्ठानमा कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिने क्रममा भारतको बिहार विद्यालय परीक्षा बोर्ड, पटना बाट जारी गरिएको माध्यमिक तहपछिको अध्ययनको तथा श्री वेंकटेश्वर विश्वविद्यालय, तिरुपति बाट जारी गरिएको कम्प्युटर इन्जिनियरिङ स्नातक तहको झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेको खुलेको अख्तियारले जनाएको छ।

ती नक्कली प्रमाणपत्रका आधारमा उनले कम्प्युटर इन्जिनियर पदमा नियुक्ति लिई पद, तलबभत्ता तथा अन्य सुविधा समेत लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

यसरी झुट्टा शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको पुष्टि भएपछि राकेशकुमार दासविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद तथा जरिवानाको माग गर्दै शुक्रबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।