विजयकुमार पाण्डे ।
वास्तविक जीवनमा, मान्छे आफू जेजस्तो भए पनि– समाज, मिडिया र सोसियल मिडियामा चाहिँ पवित्र, गुणकारी र न्यायिक भएको फोटो छपाउन चाहन्छ । फोटो उपलब्ध नभए; फोटोकपीले काम चलाउँछ । यसै प्रसंगमा, अङ्ग्रेजीको एउटा शब्दमा मेरो रूचि ह्वात्तै बढेको छ– ‘सेल्फ राइचियस।’ सेल्फ राइचियस को मोटामोटी अर्थ हुन्छ– आत्मतुष्ट, पाखण्डी, स्वयम्भू अदालत, स्वयम् घोषित न्यायाधीश, ‘मोरल पुलिस डिपार्टमेन्ट’ को आइजिपी… ।
अङ्ग्रेजी भाषा, शब्दको धनी छ । किनभने, आयातका दृष्टिले यो धेरै उदार छ । कुनै पनि भाषाबाट शब्द झिकाएर, त्यसलाई आफ्नो बगैंचामा सजाउन अङ्ग्रेजीले सङ्कोच मान्दैन । मन परे, जो कोहीसँग सम्भोगरत हुन सक्छ । कौमार्य पूजनमा अङ्ग्रेजीको कुनै विश्वास छैन । जस्तै, ‘पण्डित’ शब्दलाई यसले समाहित गरेको छ; क्रिकेट पण्डित, ल्याङ्ग्वेज पण्डित, पोलिटिकल पण्डित…
म ती पण्डितजीको मुहार सम्झिँदै छु । मेरै समकालीन थिए । मुखले भन्दैनथे, तर मनमनै नामी लेखक हुने महत्वाकांक्षाले भकभक उम्लिरहन्थे ।सकेनन् । आफूले खासै लेख्न नसकेपछि, दुनियाँलाई यसरी लेख्नुपर्छ भनेर ठाउँ, कुठाउँ सिकाउँदै हिँडे । उनका नजरमा भाषा एक स्थायी संरचना हो ।कहिल्यै नफेरिने, शब्द आयात गर्दै नगर्ने, अरु जातका कसैले छुनै नहुने… । यस्तै भ्रममा बाँचे । कुण्ठाले तिनको साथ छाडेन भनौं वा तिनले कुण्ठा त्याग्न सकेनन्; जीवन यत्तिकै बित्यो । यसो भनिरहँदा म अशुद्ध लेखनको वकालत गरिरहेको छैन । व्याकरणशास्त्रका प्रति सम्मान छ, मेरो मनमा । तर असफल लेखकले, आफ्ना अतृप्त मनोकाङ्क्षाको मुन्टो लुकाउन, व्याकरणको अविराम प्रवचन दिनुको खासै अर्थ छैन ।
हुन त संसारमा यस्तै अतृप्त आकाङ्क्षाहरुको प्रक्षेपण हो । मेरा अमेरिकी प्राध्यापक भन्थे, ‘ नढाँटी भन्दा, म पत्रकार बन्न चाहन्थें । सकिनँ ।त्यसैले नजिकैको ओत लागें; म पत्रकारिताको मास्टर बनें ।’ म आफैंलाई हेर्छु । आफूले जान्दै नजानेका विषय र गर्नै नसक्ने कामबारे, म प्रधानाध्यापक र न्यायाधीश किन बन्न खोज्छु ? सायद, म आफ्ना भत्केका सपना र महत्वाकांक्षाका असफलतालाई, यही सेल्फ राइचियस जलपले छोप्न खोज्छु । त्यसैका लागि, म अरुका खोट खोज्छु; मैले सकिनँ तके भो ? उसले पनि के पो नाप्यो र भन्न पाए, कुटिल आनन्दको सन्तोष पाउँछु । ईष्र्या र जलनको गीत गाउँछु । रमाउँछु ।
म भुलिरहेको हुन्छु, मआफैंलाई ठगिरहेछु । जलनको मसीले आजसम्म कसले सिर्जन गरेको छ र ! मलाई लाग्छ, कुनै युगमा सेल्फ राइचियस – सकारात्मक अर्थ दिने शब्द होला । पवित्र, आत्मसन्तुष्ट, स्वधर्मी… तर आजभोलि यसले दिने अर्थहुन्छ– पाखण्डी, स्वयम् घोषित नैतिक प्रहरी, विश्वनिन्दक, मिडियामा उपदेशक; जीवनमा फटाहा… आदि इत्यादि । म सानो छँदा ‘बबाल’ शब्दलेनेगेटिव अर्थ राख्थ्यो । नयाँ पुस्ताले अहिले, कुनै कुरा धेरै मन पर्यो भने ‘बबाल’ भन्छन्– क्या बबाल फिल्म छ, क्या बबाल किताब छ, क्या बबालफिगर छ… समयका बित्दै जाँदा, शब्द खुइलिँदै जान्छ । समयको कुनै खण्डमा, ‘राजनीति’ भन्नाले सबै नीतिहरुको राजा भन्ने बुझिन्थ्यो । हिजोआज, राजनीति भन्नाले सबै भन्दा तुच्छ नीति बुझिन्छ ।
कुनै इतिहासमा, सुन्दर फिगर भन्नाले खाइलाग्दो, मोटोघाटो जीउ बुझिन्थ्यो । आजकाल बजारमा, डाइटिङले सुकाएको शरीर बुझिन्छ ।
नयाँ पुस्तासँग म सेयर गर्न चाहन्छु, धेरै सेल्फ राइचियस नहुनू । आफैंलाई र पुरानो पुस्तालाई, नमागेको सल्लाह दिन चाहन्छु– सेल्फ राइचियसभएर धेरै नउफ्रिनू । जो काम तिमीले आफू गर्न सकेनौं, सक्दैनौं; अरुले सकेनन् भनेर किन उफ्रिनु हँ ! बोल्दै नबोल्नू भनेको होइन । विसङ्गति देखे, आवाज उठाउनुपर्छ । तर थुतुनो र किबोर्ड ठोक्दा, केही बेर घोत्लिनू भनेको मात्र हो । एउटा औंला, अरुतिर देखाउँदा चार औंला, आफैंतिर फर्किएका छन् कि ? क्षणभर बिचार्नू । सुरूमा त्यो अलि गाह्रो हुन्छ; सजिलोबाट कसरत थालौं है । चार औंला अर्कातिर देखाउने बेला, एउटो औंलो चाहिँ आफूतिर छ कि ? बिचारौं ।
छैन भने, धेरै राम्रो । म खराब छु भन्दैमा सबै हुनुपर्छ र ! अथवा, म जस्तो छु, सबै त्यस्तै हुनैपर्छ र ! कुनै अर्को मान्छेका बानी, तिमीले चाहे जस्ताछन् वा छैनन् भन्दैमा, ऊ असल वा खराब हुनैपर्छ र ! हतारोमा फास्ट ट्र्याक कोर्टको स्वयम्भू न्यायाधीश नबनेकै राम्रो ।
भइगो, तिमी विराजमान भइराख– भच्र्युएल दुनियाँको न्यायाधीश पदमा । शुभकामना छ । तर, तिमीलाई भच्र्युएल कोर्टको जज बन्ने फुर्सद छभन्दैमा म किन भइनँ भनेर मलाई नटोक । तिमी विश्वनिन्दक भयौ । बधाई छ । हामी सबै हुनैपर्छ र ! सबै तिमी जस्तै हुनुपर्छ र !
कहाँ, कति र कसरीअभिव्यक्त हुने भन्ने कुरा हर मान्छेको निजी निर्णय हो । यति जाबो कुरा पनि थाहा नभएको तिमी कस्तो न्यायाधीश हँ !
हैट ! म त बिर्सिरहेको । तिमी त भच्र्युएल कोर्टको न्यायाधीश पो हौ । आफ्नो विस्मृतिका लागि क्षमा माग्दै मैले भनेका सबै कुरा फिर्ता लिन्छु ।
तिमीले त मेस्सीलाई फुटबल, सन्दुक रूइतलाई आँखाको सर्जरी र भूपीलाई कविता सिकाउने हैसियत राख्छौ । मैले कस्तो बिर्सेको ! कस्तो यादनगरेको ! क्षमा गर है । तिम्रो जीवन, तिम्रै निर्णय हो ।
जीवन, नियति हो कि निर्णय हो ?
यो सवालले मलाई, धेरै वर्ष खलबल गर्यो । धेरै ठाउँमा लेख्ने कोसिस गरें; आज पनि ठ्याक्कै भन्न सक्दिनँ । तर मोटामोटी लाग्छ; जीवन नियति र निर्णयको समजोड हो । नियति, हाम्रो हातमा नहुन सक्छ । तर निर्णयमा, हामी सबैको धेरथोर हक लाग्छ । मेरो वा कसैको जीवन, आकाशमा बस्ने कुनै भगवानले; हाम्रो निधारमा कोरेको धर्सा मात्र हो भनेर स्विकार्न म सक्दिनँ । भाग्य भनेको, कस्तो परिस्थितिमा हामीले के निर्णय गर्यौं भन्ने फैसलाको अर्को नाम पनि हो । भाग्य, हाम्रो च्वाइस पनि हो । जस्तै मेरो भाग्य, विभिन्न कालखण्डमा मैले गरेका निर्णयहरुको अर्को नाम पनि हो । हो, पक्कै पनि मेरा निर्णय हमेसा सही साबित भएनन् । सो ह्वाट ?
त्यसले के फरक पर्छ र ? म त आफ्नो जीवन बाँच्न आएको हुँ । बाँच्ने भनेको, नियति मात्र होइन, निर्णय पनि हो । त्यसैले त कैयौं अर्बपतिको नियतिमा, धनी हुने लेखिएको भए पनि, तिनले भिखारीको जीवन बिताउँछन् । गरिब भनिएका कैयौंहरु पनि, क्या वैभवसाथ बाँचिरहेका हुन्छन् । त्यसैले बारम्बार दोहोर्याउँछु; सवाल नियतिको मात्र होइन, निर्णयको पनि हो । हामी आफ्नै जीवनकालमा कैयौं पटक गलत साबित हुन्छौं ।
कोन्डी राइस भन्छिन्– ‘आजका हेडलाइन र इतिहासका निर्णय बिरलै मात्र एउटै प्रमाणित भएका छन् ।’
उनले भनेको कुरा अस्तित्वगत सत्य हो । पत्रकार मात्र होइन, हर कोही, कुनै न कुनै रुपमा यही विडम्बनाबाट गुज्रिन्छ । जस्तै, प्रेमी, प्रेमिकाकोबारेमा । प्रेमिका, प्रेमीको बारेमा । मालिक कारिन्दाको बारेमा, कारिन्दा मालिकको बारेमा । भोटर नेताको बारेमा, नेता भोटरको बारेमा… लामो सूचीबन्छ । के हामी अरुका निम्ति त्यत्तिकै महत्त्वपूर्ण हुन्छौं, जति हामी सोच्छौं ? हुँदैनौं । जवान छँदा प्रेमीप्रेमिकाले, एकअर्काको हात समातेर हिँड्दा लाग्छ; जीवन सधैं यस्तै होला । बिस्तारै अनुभव हुन्छ; हाम्रो जीवनका सत्य पटकपटक बदलिरहन्छन् ।
मेरो जीवनका सत्य, कैयौं पटक बदलिए । त्यसैले आजकाल, म सेल्फ राइचियस हुन हतारिन्नँ । म सानो छँदा सोच्थें, पृथ्वी चेप्टो छ । कक्षामा गुरूले भने– गोलो छ । उनले जति भने पनि मैले गोलो मानिनँ । मलाई कक्षामा घोकाइएको भन्दा, आफ्नो आँखाले देखेकोमा बढी विश्वास थियो ।आँखाले हेर्दा त, पृथ्वी चेप्टै थिइन् ।
म नाथेको के कुरा भो र ! ग्यालिलियोभन्दा अघि सारा दुनियाँले पनि यही भन्थ्यो– चेप्टो छ पृथ्वी । दुनियाँ त यो पनि भन्थ्यो– सूर्यले पृथ्वीको परिक्रमा गर्छ । आज सुन्दा हाँसो उठ्छ । तर हजारौं वर्ष, यही विश्वासमा मानव जाति बाँच्यो; पृथ्वी नै सौर्यमण्डलको केन्द्र हो ।
जुन कुरा, मान्छेले हजारौं वर्ष पत्याए, हिजोआज बच्चाले पनि एक सेकेन्डमा भनिदिन्छ– गलत । विजय मेमोरियल स्कुल पढ्दा मलाई लाग्थ्यो, कक्षाकी त्यो सहपाठीबिना म बाँच्नै सक्दिनँ । पुल्चोक क्याम्पस पुग्दा म गलत साबित भएँ । मलाई लाग्न थाल्यो, स्कुलको त्यो केटी होइन, कलेजको यो केटीबिना चाहिँ, बाँच्नै सकिन्न । एवम् क्रमले मेरो जीवनमा, सत्य पटकपटक फेरिए ।
देशमा एक मात्र टेलिभिजन छँदा मलाई लाग्थ्यो, त्यो सरकारी टेलिभिजन नै मेरो जीवनको सार हो । नभए, म बाँच्नै सक्दिनँ । हिजोआज, आफ्नो त्यो सोच सम्झिँदा पनि हाँसो उठ्छ । पञ्चायत छँदा लाग्थ्यो, यो व्यवस्था गएपछि रामराज्य आउँछ । तर पञ्चायत ढलेको वर्षौ पछि पनि रामराज्य आएन । त्यसपछि लाग्न थाल्यो, गणतन्त्र आएपछि चाहिँ पक्कै रामराज्य आउँछ । गणतन्त्र पनि आयो । एक राजाको ठाउँमा, धेरै राजा आए । तर रामराज्य आएन । म जीवनमा कैयौंपटक गलत साबित भएँ । मेरा जीवनका सत्य धेरै पटक बदलिए ।
मलाई एउटै मान्छे कहिले राम जस्तो, कहिले रावण जस्तो र कहिले नारद जस्तो लाग्यो । मेरो जीवनका सत्य पटक पटक बदलिए ।
पाण्डेको दोस्रो कृति सम्बन्धहरु ( पृ १४२ – १४६ ) बाट


